धरानमा फस्टाउँदै सुकुटीको व्यापार , लाेभ लाग्दाे आम्दानी

धरान  । धरानको मुख्य बजार भानुचोकबाट पूर्वतर्फको निकेतन गल्लीमा लस्करै राँगाको सुकुटी बेच्न राखिएको हुन्छ । मासुका पारखी टाढाबाट यहाँ सुकुटी किन्न आइपुग्छन् । पछिल्लो समय यहाँको सुकुटीको व्यापार पनि फस्टाउँदै गएको व्यापारीको भनाइ छ ।

निकेतन गल्लीमा मात्रै सुकुटी बेच्ने पसल एक दर्जन हाराहारीमा छन् । घरमै बनाएर बेच्न सकिने सुकुटीबाट महिलाले जीविकोपार्जन गरिरहेका छन् । फुर्सदमा गफ गरेर बस्नुभन्दा सुकुटीको व्यापार गर्दा राम्रो आम्दानी गर्न सकिने धरान उपमहानगरपालिका-१५ की दिलकुमारी तामाङले बताउनुभयो । हरेक बिहानको ७ बजे उहाँ घरबाट निकेतन गल्ली आइसक्नुहुन्छ । सोही गल्लीमा सुकुटी बेच्दाबेच्दै दिन बित्छ । 

बिहानदेखि बेलुका ८ः३० बजेसम्म व्यापार गर्दा राम्रै आम्दानी हुने गरेको उहाँको भनाइ छ । तामाङले बजारबाट दैनिक १५ देखि २० किलो राँगाको मासु किनेर ल्याउनुहुन्छ अनि आफैँ सुकुटी बनाउनुहुन्छ । त्यसलाई सुकाएपछि बेच्नका लागि तयार हुन्छ । आफूले बनाएको सुकुटी धरानका विभिन्न होटल, रेस्टुरेन्टका साथै भारत, हङ्कङ, बेलायतसम्म पुग्ने गरेको उहाँले बताउनुभयो । निकेतन गल्लीमा सुकुटी बेच्दै भेटिनुभएका उहाँले भन्नुभयो, “अलिक मेहनत गर्ने हो भने सुकुटीबाट मनग्ये फाइदा लिन सकिन्छ । धरानको सुकुटी भनेपछि विदेश पठाउनेहरू पनि धेरै आउँछन् ।”

तामाङले यसरी सुकुटीको व्यापार गर्न थाल्नुभएको सात वर्ष बितिसक्यो । यही व्यापारबाट घरपरिवारको जीविकोपाजृन भइरहेको उहाँले बताउनुभयो । सुकुटीको व्यापार हेर्दा सजिलो देखिए पनि बनाउन धेरै समय र मेहनत लाग्ने उहाँको अनुभव छ । मासु सुकाएर सुकुटी बनाउन दाउराको आगो प्रयोग गर्ने गरेको तामाङले बताउनुभयो । पछिल्लो समय दाउरादेखि मासुको मूल्य पनि बढेकाले समस्या हुँदै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मेहनतअनुसार कमाइ पनि राम्रै हुन्छ । दुःख गरेको खेर जाँदैन ।”

ग्राहकले बजारबाट सुकुटी किनेर घरमा लगेपछि आफ्नो रुचिअनुसार अचार वा तरकारीका रूपमा बनाएर खान सकिने भएकाले मासु पारखीको रोजाइमा पर्ने गरेको तामाङले बताउनुभयो । उहाँका अनुसार कतिपय व्यापारीले भने सुकुटीको अचार नै बनाए पनि बिक्री गर्ने गरेका छन् । धरान-१५ की विनीता गिरी सुकुटीसँगै सुकुटीबाटै बनेको अचार पनि बिक्री गर्नुहुन्छ । उहाँका अनुसार बजारमा अहिले सुकुटीको मूल्य प्रतिकेजी एक हजार छ सयदेखि तीन हजारसम्म पर्दछ । सुकुटीको गुणस्तरअनुसार मूल्य पनि फरक हुने गरेको उहाँको भनाइ छ ।

सुकुटीको अचार प्रतिकेजी १२ सयदेखि १६ सयसम्ममा बिक्री हुने गरेको गिरीले जानकारी दिनुभयो । सुकुटीसँगै अचार बिक्री गरेर दैनिक २५ देखि ३५ हजारको कारोबार गर्दै आएको उहाँको भनाइ छ । सात वर्षदेखि सुकुटीको व्यापार गरिरहनुभएकी गिरीले भन्नुभयो, “मैले बनाएको सुकुटी धरान, झापा, काठमाडौँदेखि हङ्कङ, बेलायतसम्म पुगेको छ ।” धरानमा तामाङ र गिरी जस्तै सुकुटीको व्यापार गर्ने महिलाको सङ्ख्या बढिरहेको छ । पछिल्लो समय पुरुषको तुलनामा सुकुटीको व्यापार गर्ने अधिकांश महिला छन् । उनीहरूले राँगाको मासु किनेर घरमै सुकुटी बनाएर बेच्ने गरेका छन् । सुकुटीको व्यापारका लागि कतिले भानुचोक, निकेतन गल्लीमा पसल सञ्चालन गरेका छन् भने कतिपयले घरबाट पनि बिक्री गर्ने गरेका छन् । 

धरानमा सुकुटीको व्यापार गर्ने महिला कति छन् र उनीहरूको कारोबारको स्तर कस्तो छ भन्ने यकिन विवरण पाउन मुस्किल रहेको स्थानीय बताउँछन् । धेरैले व्यक्तिगतरुपमा घरबाटै व्यापार गरिरहेका छन् । बजारमा बिक्री गर्न बसेका सँगको कुराकानीमा दैनिक धरानमा सुकुटीको लाखौँको व्यापार हुने गरेको बताउँछन् । सुकुटीको व्यापार गर्ने दिलकुमारी तामाङले भन्नुभयो, “एउटै पसलबाट २५-३० हजारको व्यापार हुन्छ । सबैको हिसाब गर्दा त लाखौँ पुग्छ नि ।” विगतका वर्षहरूको तुलनामा कोरोना महामारीपछि सुकुटीको व्यापार अलि कम भएको व्यापारीको भनाइ छ । व्यापारी गिरीले भन्नुभयो, “बजारमा सुकुटीको माग अलि खस्किए पनि अरू व्यवसाय जस्तो धेरै घटेको छैन । व्यापार गर्ने बढिरहेकाले सुकुटीको व्यापार फस्टाएकै छ ।” 

प्रतिक्रिया

सम्बन्धित