प्रदेश १ को नाम किरात राख्न माग गर्दै मुख्यमन्त्री र प्रदेशसभा सचिवालय घेराउ (तस्विरहरु सहित)

विराटनगर । पहिचानका आधारमा प्रदेश १ को नामकरण गर्न माग गर्दै मुख्यमन्त्री र प्रदेश सभा सचिवालयमा पहिचानवादीहरुले घेराउ गरेका छन् ।पहिचानका आधारमा किरात प्रदेश नामकरण गर्न माग गर्दै किरात राई यायोख्या केन्द्रीय समितिले घेराउ गरेको हो । प्रदेश १ को प्रदेश सभाको दशौं तथा अन्तिम अधिवेशनबाट नाम टुङ्गो लगाउन दलहरुले छलफल सुरु गरेपनि सहमति जुटेको छैन । दलहरुबीच पहिचानका आधारमा अगाडि बढ्नेकी भूगोलका आधारमा बढ्ने भन्ने विवाद छ ।

सोमबार दिउँसो पहिचानका आधारमा किरात प्रदेश नाम राख्नु पर्ने माग गर्दै मुख्यमन्त्री कार्यालय पुगेकाहरुले ‘सोइ ढोले सोइ किरात प्रदेश खोई’ भन्दै प्रदर्शन गरे । एक घण्टा मुुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका पहिचानवादीहरुले प्रदेश १ को नाम पहिचानका आधारमा किरात प्रदेश राख्न माग गरे । किरात राई यायोख्या समितिले मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र पनि बुझाएका छन् । मुख्यमन्त्री राईले आफू पहिचानको पक्षमा रहेको बताए । मुख्यमन्त्री कार्यालय अगाडिको प्रदर्शन पछि किरात प्रदेश माग गर्दै प्रदर्शनकारीहरुले प्रदेश १ प्रदेशसभा सचिवालयमा अगाडि पनि प्रदर्शन गरेका छन् ।

नेकपा एमाले र नेपाली काङ्ग्रेस भूगोलका आधारमा अघि बढ्नुपर्ने पक्षमा छन् । एमालेले कोसी प्रदेश र नेपाली काङ्ग्रेसले सप्तकोसी प्रदेशमा सहमति खोज्न प्रस्ताव गरेका छन् । नेकपा एकिकृत समाजवादी र माओवादी केन्द्रले कोसी किरात प्रदेशमा सहमति खोज्नुपर्ने पक्षमा छन् । जसपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पहिचानका आधारमा अघि बढ्नुपर्ने बताइरहेका छन् । राप्रपाले भने भूगोलका आधारमा नाम राख्नुपर्ने प्रस्ताव गरेको छ । दलहरुबीच नामका विषयमा सहमति नभएपछि प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले सहमति खोज्नका लागि सर्वदलिय छलफल आह्वान गरेका छन् । साउन ८ गतेलाई प्रदेशसभाको बैठक बोलाएका उनले साउन ६ गतेका लागि सर्वदलिय छलफल बोलाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित