नयाँ वर्षमा धरानका शक्तिपिठमा भक्तजनको घुइँचो (फोटो फिचर)

धरान / नयाँ वर्षको पहिलो धरानको ऐतिहासिक विजयपुर गढीमा अवस्थित शक्तिपिठहरुमा भक्तजनको घुइँचो लागेको छ । धरान १४ मा पौराणिक एवं ऐतिहासिक महत्त्वको पिण्डेश्वर, दन्तकाली, पञ्चकन्या मन्दिरमा भक्तजनको घुँइचो लागेको हाे । बुढा सुब्बामा युगल जोडी तथा नव विवाहित जोडीहरू प्रेमको प्रतीक मानेर टुप्पो नभएको बाँसमा डोरा बाँध्नु आउने गरेका छन् ।

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलताका लागि नयाँ योजनाको सङ्कल्प गर्दछन् । यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, मन्दिर दर्शन गर्ने, मीठो मसिनो खाने, साथी सङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने तथा रमाइलो गर्ने प्रचलन गहेकाे छ ।

बुढासुब्बा मन्दिर देवताको मूर्ति र फोटो नभएको मन्दिर हो । मन्दिर भित्र माटोको ढिस्का छ । ढिस्को भए पनि भक्तजनहरूमा अथाह भक्ति भाव छ । कसैले बुढा सुब्बा र सुब्बेनीको समाधि भन्छन् । कसैले बुद्धि कर्ण रायको समाधि पनि भन्छन् । यहाँ कुखुरा, अण्डा, बङ्गुर, फूलपाती र रक्सी पनि चढाइन्छ । कुखुरा बलि दिइपछि मुटु कलेजोबाट बुढा मगर पुजारीले जोखना पनि हेरिदिने गरेका छन् ।

यहाँ भाकल गर्नेहरू र मनोकाङ्क्षा पुरा भए पनि आउने भक्तजनहरू धेरै छन् । मन्दिर परिसरमा टुप्पो विनाका बाँसको झ्याङ छ । ती बाँसहरू धनु काँडाबाट उम्रेकोले टुप्पो नभएको भन्ने किंवदन्ती छ । प्रेम सफल हुन्छ भन्ने विश्वासले ती बाँसमा पहिला प्रेमी प्रेमिकाले आफ्नो नामको पहिलो अक्षर खोप्ने गर्थे । अचेल डोरा बाँध्ने चलन छ ।

प्रतिक्रिया

सम्बन्धित