धरान महोत्सव २०७६ सुरु ( १७ तस्विरहरू)

धरान / नेपाल भ्रमण बर्ष २०२० लाई स्वागत गर्दै धरानमा तीन दिने धरान महोत्सव–२०७६ सुरु भएको छ । धरानको स्थापना दिवसको अवसर पारेर भ्रमण वर्षलाई सफल पार्न भन्दै धरान उपमहानगरपालिकाले आयोजना गरेको धरान महोत्सव शुक्रबारदेखि सुरु भएको हो । उद्घाटन समारोहमा विभिन्न जात जातिको मौलिक झाकी समेत प्रदर्शन गरिएको थियो ।

महोत्सवमा घुम्न जाऔ धरान लेखिएको टिसर्ट र ब्याचको सार्वजनिक गरिएको थियो । घुम्न जाऔ धरान लेखिएको झण्डा बोकेर एक नं. प्रदेशका विभिन्न सहर भ्रमण गर्न निस्किएका करिब ३० वटा रोयल इन्फिल्ड (बुलेट) बाइकको विदाइ समेत गरिएको थियो । महोत्सवमा स्थानीय कृषि उत्पादन तथा औद्योगिक उत्पादनको विक्रि तथा प्रदर्शनीको स्टल राखिएको छ । त्यस्तै प्रत्येक दिन विभिन्न जातजातिको झाकी सहितको साँस्कृतिक प्रस्तुतीका साथै धरान भित्र रहेको पर्यटकिय स्थलको प्रबद्र्धन गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवमा ७० भन्दा बढी स्टलहरु राखिएका छन् । जसमा स्थानीय कृषि उत्पादनका वस्तुहरु, जातिय पोशाकको विक्रि तथा प्रदर्शनी, फोटो प्रदर्शनी, जातिय परिकारको स्टल, विभिन्न विद्यालयका विद्यार्थीहरुको वर्कसप, पुस्तक प्रदर्शनी तथा विक्रि लगायत व्यवसायिक स्टल समेत राखिएको छ ।

महोत्सवलाई एक नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै सभामुख भण्डारीले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल पार्न सबै पक्ष लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरानले ५ लाख पर्यटक भिœयाउने लक्ष राखेको बताउनुभया । उहाले धरानमा पछिल्लो समय साहासिक पर्यटनमा आकर्षण बढी रहेको बताउँदै होम स्टेमा समेत पर्यटकहरुको आकर्षण बढ्दो रहेको बताउनुभयो ।

कार्यक्रममा संघिय सांसद जयकुमार राईले धरान तराई र पहाडको संगम स्थलको रुपमा रहेकोले छिमेकी देशबाट धेरै पर्यटकहरु आउने गरेको बताउनुभयो । उहाले सिक्किम, दार्जिलिङ, बंगलादेश, विहार लगायत भारतबाट धेरै पर्यटक आउने गरेकोले धरानको प्रचार सो स्थानसम्म गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित