विराटनगरबाट नेपाल भ्रमण बर्ष २०२० का केही झलकहरू (तस्विरहरू)

विराटनगर / प्रदेश १ मा भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन बुधबार गरिएको छ । प्रदेश राजधानी विराटनगरको शहीद रंगशालामा एक कार्यक्रमका बीच मुख्यमन्त्री शेरधन राईले भ्रमण वर्षको उद्घाटन गरे ।

नौमति बाजा बजाएर विभिन्न जातजाति तथा समुदायको झाँकीसहित यसको उद्घाटन गरिएको हो । त्यस अवसरमा सुरक्षा निकाय, विद्यार्थी तथा समूहले आआफ्नो प्रस्तुति देखाए । कार्यक्रममा मुख्यमन्त्री एवं प्रदेश स्तरीय पर्यटन प्रवद्धन समितिका संरक्षक मुख्यमन्त्री शेरधन राईले यो वर्ष आर्थिक समृद्धिको जग बसाउने वर्ष भएको उल्लेख गरे ।

प्रदेशमा मुलुककै होचोस्थान कचनकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको बताउँदै उनले भ्रमणवर्षलाई भव्य र सभ्य रुपमा अघि बढाउन सबैले जुटेर साथ दिनु पर्नेमा जोड दिए । नेपाल सरकारले तोकेको १ सय पर्यटकीय गन्तव्य मध्ये १६ प्रमुख गन्तव्य यस प्रदेशमा रहेको बताउँदै राईले भ्रमणवर्षले रोजगारी, गरिबी निवारण, आर्थिक समृृद्धिलाई समेत टेवा पु¥याउने विश्वास लिए । उनले भने, ‘प्रदेशमा भएका अन्य रमणीय, मनोरञ्जनात्मक पर्यटकीय क्षेत्रको पहिचान गर्दै भौतिक पूर्वाधार तयार गर्न सरकारले प्राथमिकतामा राखेर काम थालेको छ ।’

त्यसैगरि कार्यक्रममा भारत पश्चिमवंगाल सिलीगुडीका ग्रामीण पर्यटन अभियान्ताका रुपमा चर्चित राज बासुले भ्रमण वर्षले दुई राष्ट्रबीच पर्यटनको दायरा फराकिलो बनाउने बताए । भारतको गान्धी पर्यटन पुरस्कार २०१९ पुरस्कृत र नेपाल भ्रमण वर्ष सन् १९९८ मा सम्मानित बासुले ग्रामीण पर्यटन प्रवद्र्धनका क्रममा निश्चित स्थानमा रेडपाण्डा सर्किट, लालीगुराँस सर्किट, हात्ती सर्किट बनाउन सकिनेमा जोड दिए ।

त्यसैगरि, प्रदेशका वन, उद्योग, पर्यटन तथा वातावरण मन्त्री जगदीश कुसियैतले भ्रमण वर्षभर पर्यटनको संख्या र बसाई बढाउने र रोजगार सृजना गर्नेतर्फ प्रदेश सरकार लक्षित रहेको बताए । कार्यक्रमको अवसरमा ९ जनालाई प्रदेश सरकारले पर्यटन सद्भावना दूतका रुपमा नियुक्त गरेको छ ।

जसमा २४ पटक सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका सोलुखुम्बुका कामीरिता शेर्पा, मिसेज एशिया यूनिभर्स २०१७ तथा शौन्दर्यकर्मी धरानकी पिंकी राजगरहिया, ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरेका संखुवासभाका मिङ्मा शेर्पा, सानु शेर्पा, छाङ्दावा शेर्पा, ताप्लेजुङका मिङमा ग्याल्बो शेर्पा, अल्ट्रा म्याराथन धाविका भोजपुरकी मीरा राई, विराटनगरकी कलाकार दीपा श्री निरौला र नेपालकै अग्ला व्यक्ति ७ फुट ३ इन्च उचाइका सुनसरीका राजन अधिकारी छन् ।

प्रदेश सरकारले एक वर्षसम्ममा ५ लाख पर्यटक भित्राउन लक्ष्यसहित कार्यक्रम भब्य बनाउने जनाए पनि परम्परागत शैलीकै नृत्य, झाँकी र हेलिकप्टरबाट पुष्पवृष्टि गराउँदै उद्घाटन समापन गरेको छ । उद्घाटनमा सरोकारवाला भन्दा पनि विद्यार्थी र सुरक्षाकर्मीको उपस्थित धेरै थियो । कतिपयले उद्घाटन खल्लो भएको टिप्पणी गरिरहँदा कार्यक्रम आरम्भ गर्ने प्रदेश सरकारको शैलीको आलोचना गर्नेहरु पनि धेरै थिए ।

प्रतिक्रिया

सम्बन्धित