यस्ताे बन्ने भाे धुर्मुस–सुन्तलीले निर्माण गर्न लागेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (तस्विरहरू)

भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर)को खाका तयार भएको छ । सो खाकामा थपघटका लागि सुझाव लिन आज यहाँ अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

सो अवसरमा डिपिआर बनाउँदै गरेको क्रियटिभ डिजायन आर्किटेक्टस प्रालीले हाल तयार गरेको नमूना प्रस्तुत गरेको थियो । सो कम्पनीले कमलको फूलसँगै नेपालीपन झल्कने गरी आधुनिक तवरको रङ्गशालाको नमूना तयार गरेको छ । रङ्गशालाको प्रवेशद्वारमा गौतमबुद्धको शालिक निर्माण गरिनेछ । भित्री भागमा परम्परागत कलात्मक शैली झल्कने गरी रङ्गशाला निर्माणका लागि नक्साङ्कन गरिएको देखाइएको छ ।

बाइस बिघा १६ कट्ठा पाँच धुर जग्गामा रङ्गशाला निर्माण गरिँदै छ । डिपिआरमा एक लाख ५४ हजार ५०६ वर्ग मिटरमा रङ्गशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्नसक्ने जनाइएको छ । छलफल कार्यक्रममा डिपिआर बनाउँदै गरेको क्रियटिभ डिजायन आर्किटेक्टसका प्रबन्ध निर्देशक शेरबहादुर केसीले भारत र अमेरिकाका परामर्शदातासँग छलफल गरी यो प्रतिवेदनलाई अन्तिम रुप दिइएको जानकारी दिनुभयो । विश्वमा रहेका पछिल्लो प्रविधिबाट निर्मित रङ्गशालाको नमूनासमेत अध्ययन गरी परामर्शदाता कम्पनीले उच्चस्तरको डिपिआरको नमूना तयार भएको जनाएको छ । कार्यक्रममा सहभागीले आ–आफ्नो सुझाव दिएका थिए ।

सो अवसरमा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले समयमा रकम जुटाउन सकेमा २२ महीनाभित्रमा रङ्गशाला तयार हुने बताउनुभयो । पछिल्ला दिनमा जिल्लामा भएका घटनाका कारण वातावरण त्यती सहज नभएको भन्दै उहाँले जिल्लाबासी लागेमा काम सम्पन्न गर्न कठिन नहुने बताउनुभयो । परामर्शदाता कम्पनीले सरकारको कर छुट गराउनसकेमा रङ्गशाला तयार गर्न रु दुई अर्ब ६० करोड हाराहारी खर्च हुने जनाइएको छ । कट्टेलले रङ्गशालाका लागि बोलकबोलको रकम रु सात करोडमध्ये रु एक करोड र नबोलीकनै सोझै रु दुई करोड सङ्कलन भएको जानकारी दिनुभयो । डिपिआरका लागि हालसम्म रु दुई करोड भुक्तानी गरेको कूल रकमको टुङ्गो लगाएर भुक्तानी गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

छलफल कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबैको सहयोगबाट यो परियोजना सम्पन्न गर्नुपर्ने बताउनुभयो । सो अवसरमा निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष उमाकान्त कँडेलले फाउण्डेसनलाई रु १० लाख एक हजार १११ को चेक हस्तान्तरण गर्नुभएको थियो । यसअघि रङ्गशालाको बार स्थानीयले भत्काएपछि केही महीना काम रोकिएको थियो । हाल रङ्गशाला निर्माण स्थलमा दुबो र माटो तयार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित