फुस्रेको पूरानो साख फर्काउदै ‘बीपी पार्क’ ( १५ तस्विरहरू)

धरान / सात दशक अघि धेरै नै चहलपहल रहने गरेकाे धरान–१३ स्थित फुस्रे छेउमा रहेको जैविक विविधता पार्कलाई बीपी पार्क नामाकरण गरी पर्यटक भित्र्याउन पहल सुरू गरिएकाे छ । सात दशक अगाडि पूर्वाञ्चलको व्यापारीक केन्द्र रहेको फुस्रे २०३४ सालपछि कोशी राजमार्ग अन्तर्गतको धरान–धनुकटे सडक सञ्चालनमा आएपछि भने फुस्रेको चहलपलह विस्तारै खस्कदै गएकाे थियाे । फुस्रेको पूरानो साख फर्काउनको लागि स्थानीय सरकारले एक मात्र विकल्पको रुपमा पर्यटनलाई अगाडी सारेको छ ।

धरान उपमहानगपालिका वडा नम्बर १३ र २० को सिमास्थित सर्दुखोला आन्तरिक पर्यटकको मुख्य रोजाइमा पर्न थालेको छ । सर्दुजलाधार क्षेत्रमा पर्ने सर्दुखोला क्षेत्रलाई पार्कको रुपमा विकास गरेपछि आन्तरिक पर्यटकीयको मुख्य रोजाइमा परेको हो । नेपाली कांग्रेसका दिबंगत नेता वीपी कोइरालाको नाममा सो पार्क निर्माणाधिन अवस्थामा छ । संघीय सांसद जयकुमार राईको सांसद क्षेत्र विकास कोषबाट आएको २० लाख रुपैयाँ बजेटले पार्कको निर्माण गरिएको हो । सर्दुखोलामा माथी लगाइएको पक्की पुललाई फ्लावर ब्रिजको कम्सेप्टमा सिगारिएको छ । कुल ६० मिटर लम्बाई ४ मिटर चौडाइ रहेको पुलमा तीन वटा फलामको ट्रष्ट निर्माण गरिएको छ । १२–१२ मिटरको ट्रष्टमा आकाशतिर तारको जाली लगाइएको छ । पुलको दाँया र बाँयातर्फ समेत जाली लगाइएको छ ।

तीन वटै ट्रष्ट माथी झ्याम्मै हुने गरी बगमबेली अर्थात लहरे प्रजाती फुल रोपिएको छ । यसैगरी, फ्लावर ब्रिजको मुनी ढुङगामा जोडी सर्प, हास, भ्यागुताको चित्र कलाकारहरुले कोरिसकेको छन् । त्यति मात्र हैन, १३ नम्बर वडा कार्यालयले केटाकेटीहरुको लागि बाल उद्यान पनि निर्माण गरेको छ । सर्दु खोलाको पुल तरेपछि केही माथि कोशी नदीमा बनेको ब्यारेज तथा पुल निर्माणको क्रममा सर्दुखोलाको ढुङगा लान प्रयोग गरिएको ऐतिहासिक घिर्लिङको अवशेष छ । त्यो फुस्रेको महत्वपुर्ण सम्पदा हो । घिर्लिङको अवसेसलाई पनि रेलिङ हालेर सिगारिएको छ । घिर्लिङको अवसेसमा प्रत्येक सिढीमा मानिसहरुको लागि फलामको बस्ने ठाउँ बनाइएको छ । यी यावत कुरासँगै प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि आन्तरिक तथा वाह्य पर्यटक यहा आउने गरेका छन् । दैनिक करिब २ सय ५० देखि ५ सयसम्म दैनिक पर्यटकहरु आउने गरेको वीपी पार्क निर्माण समितिका उपभोक्ता समितिका अध्यक्ष चक्र खड्काले बताउनुभयो ।

पूर्वमै फ्लावर ब्रिजको निर्माण नभएको बेला नया कन्सेपका साथ फ्लावर ब्रिजको स्थापना गरेपछि भने यो स्थान घुम्न आउनेका लागि आकर्षक गन्तव्य बनेको छ । यो ब्रिजमा घुम्न आएकाहरुका लागि सेल्फी खिच्ने स्थान बनेको छ । यहा घुम्न आउनेहरुले यस स्थानको सामाजिक सञ्जालमा छ्यास्छ्यास्ती हाल्न थालेपछि भन सामाजिक सञ्जालमा फोटोहरु देखेर आउने गरेका छन् ।

माािसहरुको जमघट बढेसंगै व्यापार पनि बढेको छ । साना ठेला, साना–साना छाप्रो बनाएर मम, चाउनमिन, चटपटे बेच्नेलाई भ्याइनभ्याइ छ । संघीय सांसद जयकुमार राईको सांसद क्षेत्र विकास कोषबाट छुट्टिएको २० लाख रुपैयाँले वीपी पार्क बनाइएको हो । यस अघि पूर्व सांसद कृष्णकुमार राईको सांसद कोषबाट १० लाख रुपैयाँले घिर्लिङको अवसेस जोन सिढी निर्माण गरिएको थियो । आन्तरिक पर्यटकको मुख्य केन्द्रको रुपमा विकास गर्ने योजना अनुसार निर्माण गरिएको समितिका अध्यक्ष खड्काले बताउनुभयो ।

वडाले समेत यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने योजना अगाडि सारेको धरान उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेले बताउनुभयो । उहाले, चालू आर्थिक वर्षको लागि प्रदेश सरकारबाट ३० लाख रुपैयाँ बजेट आएकोे बताउनुभयो । अझै पनि पार्कमा घुम्न आउनेहरुले पर्याप्त सुविधा नभएको बताउने गरेका छन् । उनीहरुले शौचालय, विश्रामलय र सुरक्षाको राम्रो व्यावस्था चाडो मिलाउनुपर्ने सुझाव दिएका छन् । यसतर्फ स्थानीय सरकारको ध्यान केन्द्रित हुन सके धरान १३ फुस्रेमा रहेको बीपी पार्क आन्तरिक तथा वाह्य पर्यटकीय स्थल बन्नेमा दुई मत छैन ।

प्रतिक्रिया

सम्बन्धित