छायाँमा ‘दुधकुण्ड पोखरी’ (२० तस्विरहरू)

साेलुखुम्मु / सोलु दुधकुण्ड नगरपालिका १ टाक्सिन्दुमा रहेको ‘दुधकुण्ड पोखरी’को उचित व्यवस्थापन हुन सकेको छैन् । जनैपुर्णिमाको अबसरमा भव्य मेला लाग्ने पोखरीमा आवश्यक संरचनाको व्यवस्थापन हुन नसकेको हो । मेलाको अबसरमा हजारौ दर्शनार्थीले दर्शन गर्ने ऐतिहासिक धार्मिक स्थल दुधकुण्ड पोखरीसम्म पुग्ने सडक, होटल र शौचालयको उचित व्यवस्थापन हुन नसकेको हो । सोलुदुधकुण्ड नगरपालिकाले व्यवस्थापनका राम्रा काम गरेको दाबी गरेपनि यर्थाथमा दुधकुण्ड पोखरी ओझेलमै रहेको सर्वसाधारणले गुनासो गरेका छन् ।

दुधकुण्ड दर्शनका लागि पुग्ने जिल्ला भित्र र बाहिरका दर्शनार्थीहरुका सुविधाका लागि अस्थायी रुपमा होटल राखिन्छ । मेलाको अबसरमा गरिने होटल मेला सकिएसंगै उठाइन्छ । पोखरीको नजिकै सडकको पहूँच स्थापित गर्न सके र बाह्रैमहिना सुविधा सम्पन्न होटलको व्यवस्था गर्न सके बाह्रैमहिना आन्तरिक तथा बाह्रय पर्यटक तथा दर्शनार्थीलाई दुधकुण्ड पोखरीसम्म पु¥याउन सकिने जानकारहरु बताउछन् ।

अहिले जनैपुर्णिमाको अबसरमा सोलुखुम्बु, खोटाङ, ओखलढुंगा लगायत तराईका जिल्लाहरुबाट दर्शनका लागि दुधकुण्ड सम्म पुग्ने गर्छन् । मेलाको अबसरमा रेडक्रस सोसाईटीले प्राथमिक उपचारका लागि टोली परिचालन गर्दै आएको छ भने नगरपालिकाले औषधि लगायतका खर्च व्यवस्थापन गर्दै आएको छ । पहिलेको तुलनामा दुधकुण्डसम्मको यात्रा धेरै सहज भएपनि अझै व्यवस्थापन आवश्यक रहेको बर्षौ देखि अस्थायी होटल संचालन गर्दै आउनुभएकी बुद्धमाया तामाङले बताउनुभयो । पोखरी क्षेत्रमा पिउने पानीको समस्या रहेको होटल व्यवसायीहरु बताउछन् । मेला लागेको समयमा पोखरीकै पानी प्रयोगमा ल्याउने पर्ने बाध्यता रहेको उनीहरुले बताएका छन् ।

लेक नलाग्ने व्यक्तिहरु सल्लेरीबाटै एकै दिनमा दुधकुण्ड पुग्न सकिने दुधकुण्ड मार्गमा होटलको व्यवस्था नहुदा दर्शनार्थीहरु सास्ति खेप्दै दुधकुण्ड पुग्दै आएका छन् । अहिले रिङकु सम्म सडक संचालनमा आएकाले साना सवारीको सुविधा लिन सकिन्छ । सहस्रबेनी सम्म सडकको पहूँच स्थापित गर्न सके दर्शनार्थीहरुलाई सहज हुने र दुधकुण्ड पुग्नेको संख्यामा पनि बृद्धि हुने सल्लेरीका कृष्ण निरौलाले बताउनुभयो । दुधकुण्ड पोखरीसम्म पुग्नका लागि सहज बनाउन नगरपालिकाले सहस्र बेनीसम्म सडकको ट्रयाक ओपन गर्ने तयारी गरेको टाक्सिन्दुका वडाअध्यक्ष छोङबा शेर्पाले बताउनु्भयो ।

दुधकुण्ड पोखरीको दर्शनका लागि पुग्ने दर्शनार्थीको सहजताको लागि भन्दै अघिल्लो बर्ष नगरपालिकाले ७ लाखको लगानीमा दुई कोठे शौचालय निर्माण गरि प्रयोगमा ल्याएको छ । गएको जनैपुर्णिमामा लागेको मेलामा पुगेका दर्शनार्थीलाई शौचका लागि सहज भएको थियो । उद्यपी, पानीको समस्या कायमै रहेकाले शौचालयको प्रयोग व्यवस्थित हुन नसकेको स्वयंम् दर्शनार्थीहरुले गुनासो गरेका थिए । धार्मिक स्थल दुधकुण्डको प्रचारप्रसारमा नगरपालिकाले वृत्तचित्र तयार पारेको छ । यस अघि पनि रेडक्रस सोसाईटी लगायतका संस्थाले दुधकुण्डको वृत्तचित्र निर्माण गरिसकेका छन् । दुधकुण्डको गरिमा अनुसार प्रचार र व्यवस्थापन हुन नसकेको लौरेश्वर बाबाले गुनासो गर्नुभयो ।

सानो दुधकुण्ड पोखरीको नामले परिचित फाप्लुमा रहेको सेतिदेवी मन्दिरमा पनि जनैपुर्णिमाकै अबसरमा बर्षेनी मेला लाग्दै आएको छ । ठूलो दुधकुण्ड पोखरी पुग्न नसक्ने दर्शनार्थीहरुले सानो दुधकुण्डको दर्शन गर्दै आएका छन् । एकादशी देखि पुर्णिमासम्म लाग्ने मेलामा धाँमीझाँक्रि र विभिन्न स्थानबाट आएका दर्शनार्थीले पुजा गर्दै आएका छन् ।

के छ महिमा दुधकुण्ड पोखरीको ?

दुधले भरिएको कुण्ड ‘दुधकुण्ड’, धेरैले प्राकृतिक स्वर्गको रुपमा चित्रित गर्छन् । नुम्बुर हिमालको काखैमा रहेको दुधकुण्ड समुन्द्रि सहत देखि ४५३१ मिटरको उचाईमा अवस्थित छ । यो धार्मिक र प्राकृतिक पवित्र तिर्थस्थल हो ।

दुधकुण्डबारे विभिन्न किम्बदन्तीहरु रहेका छन् । हिमालहरुका सृष्ट्रि हुदाताका देखि नै दुधकुण्ड बनेको र यसलाई स्थानीय भेडा तथा चौरी गोठालाहरुले पत्ता लगाएको एकथरिको भनाई छ भने परापुर्वकालमा चौरी चराउन जाँदा एउटा चौरीले कुण्ड रहेको ठाउँ स्थित एक ढुंगामा दैनिक दुध चढाउने गरेको र त्यहाँ जाँदा गाईको दुधले भरिएको कुण्ड भेटेकोले दुधकुण्ड नामांकरण गरिएको किम्बदन्ती रहिआएको छ । जस्ले गर्दा यहाँ देविदेवताको बास रहेको जनविश्वास छ । आत्मा शुद्धि र पितृको शान्तिको लागि पनि दर्शनार्थीहरु दुधकुण्ड पुग्ने गरेका छन् । दर्शनार्थीहरु दोहोरो तेहोरो पनि दुधकुण्ड पुग्छन् ।

मागेको कुरा पुग्ने विश्वासकै कारण त्रिशुल भेटी बोकेर दर्शनार्थी दर्शनका लागि पोखरी पुग्छन् । पोखरीको पानीले स्नान गर्दा सन्तान भएका दम्पतीको सन्तान हुने जनविश्वास रहेको छ । पशुचौपायबाट नराम्रो भए यस कुण्डमा गई पुजा गरे समस्या हल हुने विश्वास पनि छ ।

प्राचिन कालमा देवता र दानव बीच यहि कुण्डमा समुन्द्र मन्थन भएको र देवताले जितेर दिव्यरत्न अमृत लिएर गएको जनभावना रहेको छ । हिमाली क्षेत्रमा प्रशस्त कुण्डहरु भेटिएपनि दुधकुण्डको महिमा गर्विलो र धार्मिक रहेकाले दर्शनार्थीको संख्या बर्षेनी बढ्दै आएको छ । पोखरीमा स्नान गरि फेदमा गणेशको प्राथना, अलि माथी चढेपछि तिन धारा छ । धारामा फूलपाती गरिसकेपछि पार्वती जन्मिएको स्थलको रुपमा गौरापार्वती धाममा पुजा गर्ने प्रचलन रहेको छ । ढुंगामाथी रहेको सानो पोखरीमा शिविजीलाई पुजाआजा गर्ने र बर माग्ने चलन रहेको छ ।

दुधकुण्ड सबै जातजातीको गन्तव्य बनेको छ । कुण्डमा दर्शनका लागि हिन्दु र बौद्धमार्गीहरु पुग्ने गर्छन् । शेर्पा, मगर, राई, नेवार लगायतका हरेक जातीका मानिस दुधुकण्ड पुग्ने भएकाले साझा धार्मिक गन्तव्यको रुपमा विकास हुदै गएको छ ।

कसरी पुग्ने सकिन्छ कुण्ड ?

राजधानीबाट सोलुखुम्बुको सल्लेरीसम्म सडकको सहज यात्रा गर्न सकिन्छ । सल्लेरीबाट एक दिनको यात्रा पुरा गरेपछि पुग्न सकिन्छ, दुधकुण्ड पोखरी । रिङमुसम्म ग्रामिण सडक संचालनमा रहेकाले साना सवारीको प्रयोग पनि गर्न सकिन्छ । पैदल यात्राको क्रममा देखिने मनोरम प्राकृतिक दृष्यले हिडाइको थकान मेटाईदिन्छ ।
सल्लेरी, फाप्लु, टाक्सिन्दु र सहस्र बेनी हुदै पुग्न सकिने कुण्ड लुक्ला स्थित तेन्जिङ हिलारी विमानस्थलमा ओर्लेर नुनथला, टाक्सिन्दु हुदै सहस्रबनी हुदै पनि पुग्न सकिन्छ । पुरानो सगरमाथा मार्ग दोलखाको जिरी, सोलुको लामजुरा, जुनबेशी र सहस्र बेनी हुदै पनि दुधकुण्ड पुग्न सकिन्छ ।

आ–आफ्नो परम्परा अनुसार विभिन्न जातजातीले पुजाआजा गर्ने भएकाले पनि दुधकुण्ड धार्मिक साझा थलो बनेको छ । हिमश्रृंखला, विभिन्न बनस्पति र वन्यजस्तुको बासस्थान पनि हो, दुधकुण्ड । यहि धार्मिक तथा पर्यटकीय गन्तव्यको नामबाट जिल्ला एक मात्र नगरपालिकाको नामांकरण नै सोलुदुधकुण्ड गरियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित