यस्तो बन्दैछ धुर्मुस सुन्तलीले बनाउने क्रिकेट रंगशाला (१२ तस्विरहरू)

काठमाडौं / चिनवनको भरतपुर महानगरपालिकामा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया औपचारिक रुपमा शुरु भएको छ । धुर्मुस सुन्तली फाउन्डेशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच रङ्गशाला निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर महानगरपालिका–१६ को कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको २० बिघा जग्गामा क्रिकेट रङ्गशाला बनाउने सहमति भएको हो ।

रङ्गशालाको नाम ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ हुनेछ । गुरुयोजना तयार भएको दुई वर्षभित्र रङ्गशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउण्डेशनका प्रमुख सीताराम कट्टेल धुर्मुसले जानकारी दिनुभयो । आगामी छ महीनाभित्र सबै पूर्वाधार तयार गरी दुई वर्षभित्र काम सम्पन्न गरी महानगरलाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ । फाउण्डेशनले निर्माण कार्यलाई चुस्त बनाउन सल्लाहकमार समिति, मूल समिति, निर्माण तथा व्यवस्थापन समिति, कानून समिति, आर्थिक समिति, प्राविधिक समिति निर्माण गरिएको छ ।

रङ्गशाला निर्माणको लागत रु तीन अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेशनले जनाएको छ । रङ्गशाला करीब ३० हजार दर्शक क्षमताको हुनेछ । रङ्गशाला नेपाली मौलिकताले भरिपूर्ण र विश्वमै नमूना हुने तथा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का सम्पूर्ण मापदण्डहरु पूरा गर्ने बताइएको छ । रङ्गशाला कमलको फूल आकारको हुनेछ । बहुउपयोगी हुने यो रङ्गशालाभित्र फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, फिटनेस सेन्टरदेखि डन्डिबियोसम्म खेल्न सकिनेछ उल्लेख छ ।

नेपाललाई खेलकूदको केन्द्र बनाउन सके रोजगारको सिर्जना गर्ने, राष्ट्रलाई आर्थिक आम्दानी गराउँदै खेलको माध्यमबाट राष्ट्रराष्ट्रबीचको सम्बन्ध जोड्नुका साथै देशको नाम अन्तर्राष्ट्रिय जगतमा अझ उच्च बनाउन सकिने फाण्डेशनको विश्वास छ । शान्तिका अग्रदूत गौतमबुद्धका नामा निर्माण गरिने रङ्गशाला निमाणले धार्मिक पर्यटनको समेत सम्भावना रहेको छ ।

रङ्गशालाको निर्माण घोषणासँगै एस ट्राभल्सले रु तीन करोड दिने घोषणा गरेको छ । त्यसैगरी अल्का अस्पतालले रु २५ लाख, रवीराज सिंहले रु ११ लाख, कृष्ण आचार्यले रु पाँच लाख ५५ हजार ५५५ र मुक्तिनाथ विकास बैंकबाट रु पाँच लाख सहयोग गर्ने भएको छ । यसैगरी कलाकार बद्री पंगेनीले रु एक लाख, प्याब्सनकी दीपिका थापाले एक लाख १० हजार, मह सञ्चारले रु एक लाख पाँच हजारलगायत घोषणा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित