फिदा खान हत्या प्रकरण : दुहवी तनावग्रस्त (१५ तस्विरहरू)

सुनसरी । सुनसरीको दुहबीका व्यवसायी फिदा खानको गोली प्रहार गरि हत्या गरिएको छ । आज (बुधबार) बिहान मर्निङ वाक जाने क्रममा दुहबी–९ को छाताबेलीमा उनीमाथि गोली प्रहार भएको थियो ।

बिहान ६ बजे घटना भएको प्रहरीको अनुमान छ । जयबाबा इँटा अगाडिको नहरको पुलमा उनीमाथि गोली प्रहार भएको थियो । इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीका अनुसार उनी जयबाबा इँटा उद्योगका व्यवस्थापक पनि थिए । स्थानीयका अनुसार उनीमाथि २ गोली प्रहार भएको थियो । मृतक फिदा हुसेन सोही वडाका वडाध्यक्ष मेहदी हुसेनका भाइ हुन । उनको उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही घटनापछि दुहबी बजार तनावग्रस्त बनेको छ । व्यवसायी फिदा खानमाथि गोली प्रहार भएको विषयलाई लिएर बजार तनावग्रस्त भएको हो । व्यवसायीलाई प्रशासनले सुरक्षा दिन नसकेको भन्दै मृतकका आफन्त र समर्थकले बजार बन्द गराएका छन । बजार पसल बन्द गराउन निस्किएको समूहले मेडिकल पसलमा समेत क्षति पुर्याएको छ ।

सो समूहले दुहबी चोकको अमरदीप मेडिकल पसलका सञ्चालक हाकु साहको टाउको फुटाएको छ । पसल बन्द गराउँदै हिँडेका व्यक्तिले सो मेडिकल बन्द गराउन भनेका थिए । तर, साहले औषधी पसल बन्द गराउन मिल्दैन भन्दै अड्डी कसेपछि उनीमाथि सो समूह जाइलागेको थियो । दुहबीका विभिन्न स्थानमा टायर बलेर बिरोध जारी छ । घटनालाई मध्यनजर गरी प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको दुहबीका प्रहरी प्रमुख प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिएका छन् ।

तस्विर : चन्दन राैनिहारकाे फेसबुकबाट

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित