मोरङको उर्लाबारीमा लागेको आगो नियन्त्रणमा, ६० लाख बढीको क्षति (२१ तस्विरहरू)

मोरङ / मोरङको उर्लाबारी नगरपालिका ७ इटहरा रोडमा भएको आगलागी साँझ ५ बजे नियन्त्रणमा आएको छ । भक्तिराम अधिकारीको घरबाट मंगलबार दिउँसो साढे २ बजेदेखि आगलागी सुरु भएको थियो ।

आगलागीमा परेर ६० लाख बढीको क्षति भएको प्रहरीको अनुमान छ । स्थानीय कविता बस्नेतका अनुसार ताला लागेको र कोही पनि मानिस नभएको अवस्थामा रहेको घरबाट लागेको आगो नियन्त्रण गर्न अढाई घण्टा बढी समय लागेको थियो । उनले आगो निभाउनका लागि खटिएको प्रहरीले उच्च सावधानी अपनाउन मद्धत गरेकै कारण अन्यत्र आगो भने फैलन नपाएको र ठूलो क्षति हुनबाट जोगिएको जानकारी दिइन । घर भित्र किराना पसल समेत संचालनमा रहेको थियो । आगलागीमा कुनै मानविय क्षति भने हुन पाएन । आगोले इँटा र ढुँगाले बनेको दुई तले घर पूर्ण रुपमा जलेको छ । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरेको छ ।

घर धनी अधिकारीले ५० लाख भन्दा बढीको किराना पसल, पसलमा भएका सबै सामान, १२ हजार रुपैयाँ नगद, दुई तोला सुन, काठपात, लत्ताकपडा, खाद्यान्न लगायतका सामान जलेको जानकारी गराएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए । उनका अनुसार आगोले छिमेकी अर्जुन न्यौपानेको घरमा पनि सामान्य क्षति पुग्दा एक लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । घरमा रहेको ग्यास सिलिण्डर पड्किदा आगो नियन्त्रणमा निक्कै समस्या परेको प्रहरीको भनाइ छ ।

प्रहरीले विभिन्न ठाउँका दमकललाई तत्काल खवर गरेपछि समयमै दमकल घटनास्थलमा पुग्न सकेका कारण ठूलो क्षति भने हुन नपाएको तिमल्सिनाले बताए । उनका अनुसार आगो नियन्त्रणकै लागि दमक, गौरीगन्ज, इटहरी, बेलबारी समेतका ६ वटा दमकल आइपुगेका थिए । आगो नियन्त्रण गर्न सशस्त्र प्रहरी सहित इलाका प्रहरी कार्यालय उर्लाबारी, पथरीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको जानकारी तिमल्सिनाले दिए ।

उर्लाबारी नगरपालिका जस्तो स्थानीय तहमा आगो लाग्दा निभाउने एउटा दमकल समेत छैन । प्रहरीले मोरङको उर्लाबारी तथा छिमेकमा रहेका स्थानीय तहहरु रतुवामाई नगरपालिका, मिक्लाजुङ गाउँपालिका समेतमा दमकल नहुँदा मंगलबार दिउँसो लागेको आगो नियन्त्रण गर्न टाढा–टाढाबाट दकमल बोलाउनु परेको जनाएको छ । ‘नजिकै दमकल नभएपछि टाढाबाट बोलाउनु प¥यो,’ एक प्रहरीले भने, ‘टाढाबाट दमकल आइपुग्दा अलि धेरै क्षति हुन पुग्यो ।’ उनका अनुसार नजिकै दमकल भएको भए तत्काल आगो निभाउन प्रयोग गर्दा क्षति कम हुने थियो ।

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो एउटा स्थानीय तहमा एउटा दमकल अनिवार्य हुनु पर्ने बताउँदै भने, ‘यहाँ आगो लाग्दा तत्काल निभाउनका लागि दमकल समेत छैन ।’ फागोले आवश्यक संरचना र पूर्वाधार विनानै स्थानीय तह निर्माण गरिएका कारण पनि यस्तो समस्या आएको बताए । ‘जनघनत्व बढी भएका ठाउँमै आगो लाग्दा निभाउने दमकल नहुनु दुर्भाग्यपूर्ण हो,’ उनले भने,‘ स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने भनिए पनि व्यवहारमा लागू नगरिएका कारण पनि धेरै जसो स्थानीय तहबाटै विभिन्न समस्याको समाधान खोज्न गाह्रो परिरहेको छ ।’ उनले नगरपालिका, गाउँपालिका समेतका स्थानीय तहसंग दमकल किन्ने स्रोत पनि नहुने गरेको जानकारी दिए ।

‘नगरपालिकाको आन्तरिक स्रोतबाट दमकल किन्न सम्भव छैन,’ फागोले भने, ‘विभिन्न दात्रृ निकायसंग अनुरोध गरेर किन्ने तयारीमा हामी लागेका छौं ।’ मेयर फागोले दमकल नहुँदा आगलागीका घटनामा ठूलो मात्रामा मानविय, आर्थिक र भौतिक क्षति बेहोर्नु पर्ने समस्या रहेको बताए ।

तस्विरहरू : सामाजिक संजाल

 

याे पनि पढ्नुहाेस्

अपडेट : उर्लाबारीमा भिषण आगलागी, अागाे नियन्त्रण प्रयास जारी (भिडियो सहित)

मोरङको उर्लाबारीमा भिषण अागलागी, अागाे नियन्त्रण बाहिर (तस्विरहरू सहित)

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित