श्रीलंका टापु जहाँ गाई भैंसीले तानेर पार लगाउँछ डुङ्गा (तस्विरहरू सहित)

इटहरी/ सुनसरी र उदयपुर जिल्लाको सीमामा पर्ने श्रीलंका टापु बराह नगरपालिका वडा नम्बर ९ र ६ मा पर्छ । चारै तर्फ कोशी नदीले घेरिएको भएर यो ठाउँको नाम श्रीलंका टापु भएको हो । श्रीलंका टापुको पूर्व तर्फ मूल कोशी नदी छ भने उत्तर, पश्चिम र दक्षिणतर्फबाट कोशीकै सहायक भङ्गालोहरुले घेरिएको छ । श्रीलंका टापु पुग्न सप्तकोशीको पूर्वी तटबन्ध प्रकाशपुरबाट गाई भैंसी सँगै डुङ्गामा कोशी तर्नुपर्छ । त्यसपछि वगरै वगर ४ किलोमिटर पैदल हिँड्नु पर्छ । बाटोको कतै डोव भेटिदैन । जता पायो उतै हिँडदै वगर पार गरेपछि श्रीलंका टापु पुगिन्छ । टापुमा खरले छाएका कच्ची घरहरू छन् । तर टापुमा घना मानव वस्ति छ । ५० वर्ष अघि श्रीलंका टापुको हालत यस्तो थिएन । कोशीको दुवै किनारामा तटबन्ध थिएनन् । टापुको पश्चिम तर्फबाट मात्र कोशी प्राकृतिक तरिकाले सलल बग्थ्यो ।

त्यसबेला यो वस्तिलाई श्रीलंका टापु भनिन्थेन । जव भारतले कोशीको दुवै किनारमा तटबन्ध निर्माण ग¥यो सप्तकोशीको धार परिवर्तन भयो । सप्तकोशीको एउटा भङ्गालो वस्तीको पूर्वतर्फबाट बग्न थाल्यो । त्यसपछि वस्ति टापुमा परिवर्तन भयो । श्रीलंका टापु गाउँको जनसंख्या १२ हजार को हाराहारीमा छ । चन्द्रवंशी, उराव, थारु, यादव, कविरत, मुसहर, कोइरी, खत्वे, सार्की, राई, लिम्बू, बाहुन र क्षेत्री सबै जात जातिका मानिसहरु श्रीलंका टापुमा बसोवास गर्छन् । कोशीको पुल र तटबन्ध निर्माणका बेला भारतबाट आएका बंगाली प्राविधि तथा मजदुरहरु पनि यहाँ बस्न थाले । उनीहरुको संख्या पनि टापुमा उल्लेख्य छ । भारतीय वंगालीहरु घरजम गरेर नेपाली नागरिक भइसकेका छन् ।

चारै तर्फबाट कोशी नदीले वर्षौदेखि निरन्तर कटान गरिरहेको कारण श्रीलंका टापुको क्षेत्रफल साँघुरिएको छ । खेतियोग्य जमिनहरु वगरमा परिणत हुँदै गएको छ । मानव वस्तिको चारैतर्फ कोशी कटानका कारण विशाल मरुभूमिको फाँट झैँ बालुवायुक्त वगर देखिन्छ । टापुमा बसोवास गर्ने ऐलानी जग्गामा पाखुरी चलाएर जीविका चलाउँछन् । श्रीलंका टापुमा उर्वर जमिन छैन । बलौटे माटो भएको कारण यहाँ धान खेति हुँदैन । मकै , कोदो र फापर जस्ता अन्न मात्र फल्छ । त्यो पनि अति कम उत्पादन हुन्छ । लगाएको अन्नबाली पनि कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली हात्ती र अर्नाले स्वाहा पारिदिन्छ । त्यसकारण यहाँका बासिन्दाहरुको आर्थिक अवस्था अति दयनीय छ । खाद्यान्न संकट श्रीलंका टापुका बासिन्दाहरुको लागि स्थायी समस्या हो ।

श्रीलंका टापु चारैतर्फबाट विशाल कोशी नदीले घेरिएको छ । टापुमा पुग्ने बाटो वा पुल छैन । आवत जावत गर्न काठे डुङ्गा वाहेक अन्य विकल्प छैन । हिउँदमा वस्ति वरपर जता हे¥यो बालुवाको वगर देखिन्छ । वर्षायाममा पुरै टापु समुन्द्र झैं जलराशीले घेरिन्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित