तुम्लिङटार सिंचाईमा अरुणको पानी (तस्विरहरू सहित)

संखुवासभा / खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा सिंचाईका लागि सुरु गरिएको लिफ्टिङ सिंचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अरुण नदिको पानी लिफ्टिङ प्रणालीबाट तुम्लिङटार ल्याउने काम सम्पन्न हुन लागेको हो । चैत्र महिनामा सुरु गरिएको आयोजनाको हालसम्म ईनार निर्माण, तुम्लिङटारमा ट्याङ्की निर्माण, पाईप जडान, पम्प सञ्चालन गर्न सोलार जडान लगायतका काम सम्पन्न भईसकेको छ भने प्रणाली मार्फत ट्यांकीमा पानी समेत आइपुगेको छ ।

अरुण नदिबाट तुम्लिङटार स्थित पानी ट्याङ्कीसम्म ९ सय ५० मिटर पाईप जडान गरिएको र ट्याङ्कीमा पानीको सफल आपुर्ती परिक्षण समेत भईसकेको उपभोक्ता समितिका अध्यक्ष डेगराज बस्नेतले बताए । अरुण नदिबाट प्रतिसेकेण्ड ५ लिटर पानी आउने बताए । अब केही प्राविधिक त्रुटीको अध्ययन र केही कृषकहरुको बारीमा धारा जोड्न मात्र बाँकी रहेको अध्यक्ष बस्नेतको भनाई छ ।

अरुण नदिको किनारमा विद्युत नपुगेको कारण २० किलोवाटको सौर्य उर्जा जडान गरि पानी तान्ने पम्प जडान गरिएको सोलार कम्पनीका प्राविधिक राजेन्द्र केशीले बताए । सामान्य प्रकाशबाट पनि बढी उर्जा निकाल्ने ‘भेरिएबल फ्रिक्वीन्सी ड्राईभ’ प्रविधी जडान गरिएकोले थोरै घाम लाग्दा पनि जडित सौर्य विद्युत प्रणालीले राम्रो विद्युत उत्पादन हुने प्रविधिक केशीले बताए ।

करिब एक करोड रुपैयाँको लागतमा सिंचाई डिभिजन कार्यालय सङ्खुवासभाद्वारा प्राप्त भएको आयोजनाबाट दुई सय रोपनी जमिन बाह्रै महिना सिंचित हुनेछ । दुई सय रोपनी क्षेत्रफल जमिनको लागि सय वटा धारा जडान गरिने उपभोक्ता समितिले जनाएको छ । हालसम्म ७४ वटा धारा जडान भईसकेको छ भने बाँकी २५ वटा धारा केही दिनमा नै जोडिसक्ने योजना रहेको उपभोक्ता समितिले जनाएको छ । प्रत्येक धाराबाट ‘फिर्के’को प्रयोग गरि जमिन सिंचित गर्ने व्यवस्था गरिएको छ ।

सिंचाईको व्यवस्था भएपछि तुम्लिङटार क्षेत्रमा व्यवसायिक तरकारी खेती र माछा पालन गर्ने योजना रहेको स्थानीय कृषकहरुले बताएका छन् । हिउँद महिनामा सुख्खा रहने तुम्लिङटार क्षेत्रमा बाह्रै महिना सिंचाईको व्यवस्था हुन लागेपछि स्थानीय कृषकहरु उत्साहित बनेका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित