मेयर सुब्बाको अन्त्येष्टि (थप तस्विरहरू)

धरान / धरान उपमहानगरपालिकाका प्रमुख तारा सु्ब्बाको आज अन्त्येष्टी गरिएको छ ।उहाको धरान १९ हरियालीमा लिम्बु संस्कार अनुसार दाह संस्कार गरिएको हो ।साउन १ गते मंगलबार निधन हुनु भएका सुब्बाको शव परिवारका सदस्य हङकङ तथा युकेबाट नआइसकेका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृह (मर्चरी) मा राखिएको थियो । परिवारका सबै सदस्य अन्त्येष्टीका लागि आइसकेपछि आज विहान मर्चरीबाट उहाको शव आफ्नै निवास धरान १७ मा लगिएको थियो ।

विहान आफ्ना आफन्तले घरमै श्रद्धाञ्जली अर्पण गरिसकेपछि उहाको शवलाई धरान उपमहानगरपालिकाको प्रांगरणमा राखिएको थियो । नगरपालिकाका कर्मचारी, उपमेयर मञ्जु भण्डारी सुवेदी लगायत जननिर्वाचित २० वटै वडाका वडाध्यक्षहरुले उहाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो । उहालाई नगरपालिकामा सरकारी सम्मानसहित नगरपालिकाको झण्डा ओढाएर सम्मान गरिएको थियो ।

त्यसपछि धरानका सर्वसाधारणका लागि श्रद्धाञ्जली अर्पण गर्न उहाको शव धरान १२ चतरालाइनमा रहेको पब्लिक माविको प्रांगरणमा राखिएको थियो । पब्लिक माविको प्रांगरणमा नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेल, १ नं. प्रदेशका मुख्यमन्त्री शेर धन राई, वन वातावरण तथा कृषि मन्त्री जगदीश कुसियत, आर्थिक मामला मन्त्री इन्द्र आङवो, कानुन मन्त्री हिक्मत कार्कीलगायत पार्टीका केन्द्रीय सदस्य भानुभक्त ढकाल, नेपाल नगपालिका संघ १ नं. प्रदेश संयोजक महेश बस्नेत, १ नं. प्रदेशका सम्पूर्ण प्रहरी प्रमुख, निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले उहालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सुब्बाको अन्तिम श्रद्धाञ्जली अर्पणकै लागि धरान आउनु भएका नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले धरान उपमहानगरपालिकाका मेयर तारा सु्ब्बा अन्त्यन्तै जुझारु, विकासप्रेमी, धरानेहरुकामात्र सबैका प्रिय पात्र रहेको बताउनुभयो । सु्ब्बा जस्तो व्यक्तित्वलाई गुमाउनु पर्दा नगरले ठूलो क्षिित व्यहोर्नुपरेको बताउदै अब सुब्बाले थालेका र सु्ब्बाले ल्याएका योजनालाई सम्पूर्ण धराने जनता, जननिवाचित पदाधिकारीहरुले पूरा गर्नुपर्ने बताउनुभयो ।

पब्लिक माविको मैदानमा राखिएको श्रद्धाञ्जली सभाामा हजारौ सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । श्रद्धाञ्जलीसभा पश्चात उहाको शवलाई धरान बजार परिक्रममा गरिएको थियो । शव परिक्रमका समयमा सर्वसाधारणका अत्याधिक भीडले सुरक्षाकर्मीलार्ई भीड व्यवस्थापन गर्न नै हम्मे हम्मे परेको थियो ।

दुई साता भन्दा लामो समयदेखि छातीको संक्रमणबाट पीडित सुब्बालाई उपचारका लागि काठमाण्डौको ग्राण्डी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा साउन १ गते मंगलबार ५२ बर्षको उमेरमा उहाको निधन भएको थियो ।सुब्बाको निधनको शोकमा आज एक धरान बजार बन्द समेत गरिएको छ भने आज र भोलि धरानमा सार्वजनिक विदा समेत दिइएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित