संस्कृति जोगाउन बेठी लगाएर रोपाईँ

संखुवासभा / पञ्चे बाजा अथवा नौमती बाजा बजाउदै गरिने रोपाईलाई बेठि भनिन्छ । बेठी लगाएर रोपाईँ गर्ने चलन निकै पुरानो हो । विशेषगरी मुखिया वा राईको खेतबारीमा रोपाई गर्दा बेठी लगाउने चलन थियो । मुख्यतः दर्जी समुदायले बाजा बजाउने र अरुले खेतमा काम गर्नु पर्ने चलन थियो । जुनबेला मुखिया र जमिनदारहरुले बेठी लगाउने दिन भनेपछि कृषकहरु आफ्ना सम्पूर्ण काम त्यागेर बेठीमा सामेल हुने गर्दथे । त्यसरी सुरु भएको बेठी परम्परा अहिले हराउँदै गएको छ । मुखिया प्रथा हराउनु, पहिले जस्तो धेरै मात्रामा रोपाई नहुनु लगायतका कारण पछिल्लो समय बेठी हराउदै गएको हो ।

असारे गीत गाउँदै, नौमती बाजाको तालमा हिलो छ्यापाछ्याप गरी रोपाई गरीने र रोपाई सकेपछी भोज खाने चलन रहेकाले यसलाई किसानहरुले पछिल्लो समय पर्वको रुपमा मनाउन थाले । बेठीको दिन आफ्ना चेलीबेटीलाई समेत बोलाएर रोपाईंँ गर्ने चलन छ । नौमती बाजा, दर्जनौ हलगोरु, सयौं रोपार र बाउसेहरुले एकै दिन रोपाईँ गरेर उनीहरुले यसलाई पर्वको रुपमा मनाउने गरेका थिए । अरुबेला गरिएको रोपाईमा खेताला पर्म र बोलाईएकाहरुलाई पैसा दिनु पर्ने भएपनि बेठीमा आएकाहरुको पर्म तिर्नु पर्दैन । तर रोपाईँ सकिएपछि माटोको टिका र धानको बिउको फूल लगाएर रोपार र चेलिबेटीहरुलाई दक्षिणा स्वरुप पैसा दिने चलन छ ।

अहिले बेठी लगाएर रोपाईँ गर्ने चलन नौंलो विषय बनिसकेको छ । लोप भईसकेको बेठी परम्पराको जगेर्ना गर्ने सोँचका साथ बुधबार पाँचखपन नगरपालिका ६ वानाका चार दाजुभाईले बेठी लगाएका थिए । नौमती बाजाको धुनसँगै छुपुछुपु धान रोपिरहेका रोपारहरु, हातमा प्mयाउरी (काठले बनेको हिलो सम्याउन प्रयोग गरीने सामाग्री) लिएका बाउसेहरु र हलगोरु साईरहेकाहरुको कृयाकलाप साँच्चै रोमाञ्चक देखिन्थे । आधा उमेर कटिसकेकाहरुले कही कतै देखेको भएपनि अहिलेका युवा जमातहरुको लागि यो अत्यन्तै नौलो थियो । जुन नौलो दृश्य थियो बेठी सहितको रोपाई ।

चन्द्रबहादुर, मानबहादुर, भक्तबहादुर र यत्नकुमार श्रेष्ठ चार दाजुभाईले २० वर्षपछि लगाएको यो बेठी थुप्रैका लागि नौलो थियो । गाउँका अरुहरु पनि बेठी हेर्नकै लागि खेत वरिपरि उपस्थित थिए । हराउनै लागेको बेठीको संरक्षण गर्नको लागि आफुहरुले यस बर्ष बेठी लगाएको चन्द्रबहादुर श्रेष्ठले बताए । धान रोपाईँमा बेठी संस्कारको लोप भई सकेको बेला पछिल्लो पुस्तामा बेठी रोपाईँको बारेमा जानकारी दिन र संस्कार, संस्कृति संरक्षणको लागि बेठीको आयोजना गरिएको विष्णु श्रेष्ठले बताए । उनले भने नेपालकै उत्कृष्ठ मानिएका यहाँको नौमती बाजा र बेठी संरक्षण गर्न बेठीको आयोजना गरेका हौं ।

बेठी परम्परा जसरी सुरु भएपनि एक संस्कृतिको रुपमा रहेकाले यसको संरक्षण गर्नु पर्ने सरोकारवालाहरुले बताउने गरेका छन् । किसानले आफूले बेठीको व्यवस्था गर्न नसकेपनि स्थानीय सरकारले बेठीको संरक्षणमा ध्यान दिनु पर्ने धेरैले बताउने गरेका छन् । बेठीमा पुगेका पाँचखपन नगरपालिकाका मेयर बिपिन राईले आगामी वर्षदेखि नगरस्तरिय कार्यक्रममा बेठीलाई पनि समावेश गराईने बताए ।

रोपाईको गहना बेठीको संरक्षण गर्न किसानहरुको पहुँच मात्र अपर्याप्त हुनसक्छ । त्यसैले सम्बन्धीत सरोकारवाला संघसंस्था र निकायले यसको संरक्षणमा ध्यान दिन जरुरी छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित