व्यवसायीको लापरबार्हीले नै हुन्छ आगलागी

इटहरी । बैशाख १४ गते इटहरी ४ स्थित पारुहाङ चोकमा करिब ७० लाख बराबरको क्षति हुने गरि ४ वटा पसलमा आगलागी भयो । मध्यरातमा लागेको आगोले पसलमा रहेको फ्रिज, सुनचाँदी, लत्तापकडा, खाद्यान्न, भाँडाबर्तन लगायत सम्पूर्ण उपभोग्य वस्तु खरानी भए । आगलागीको कारण थियो ‘विद्युत् सर्ट’ । यहाँ सम्म कि पसलमा आगो लाग्नुको मुख्य कारण सिटी सफारी चार्ज गरेर छाड्नु ।

सफारी चार्ज गर्दा विद्युत् प्रभाह भइरहने भएकाले पनि कुनै त्रृटिको कारण आगो लाग्नु स्वभाविक हो ।

यस्तै जेठ १३ गते इटहरी ६ स्थित काफ्ले मार्केटमा पनि इन्भर्टर पड्केर आगलागी हुदा दुईवटा होलसेल पसलको करिब दुई करोड बराबरको क्षति भयो । यसै मार्केटमा तिन महिना अघि पनि एक होलसेल पसलमा आगो लाग्दा एक करोड बराबरको क्षति हुन पुगेको थियो । यस घटनामा पनि इन्भर्टर बन्द गर्न बिर्सदा विद्युत् सर्ट भई आगलागी भएको थियो । र गए राती (आईतबार राती) इटहरी ६ स्थित बिराटनगर लाईनमा रहेको इन्द्र फेन्सी स्टोरमा आगलागी हुदा करोडौको क्षति भयो । यहाँ पनि आगो लाग्नुको कारण थियो विद्युत् सर्ट ।

माथि उल्लेखित सबै घटनामा हामी आगलागीबाट पुगेको ठुलो आर्थिक क्षति तर्फ मात्र सोच्ने गछौ । तर आगलागी पछाडीको कारण के हो भन्ने तर्फ हाम्रो ध्यान पुगिरहेको हुदैन । इटहरी मात्र हैन देशभरका अधिकाशं भवन तथा पसलहरुमा हुने आगलागीको ७० प्रतिशत कारण विद्युत् सर्ट नै हो । इटहरीमा पछिल्लो महिना भएका आगलागीका घटना विद्युत् सर्टकै कारण भएको प्रहरीको पनि पुष्टि छ । विद्युत् सर्ट प्राबिधिक बिषय हो । तर मानविय त्रृटि अनि हेलचेक्राईको कारण विद्युत् सर्ट हुने जानकार बताउछन ।

पसल बन्द गरेर जाँदा इन्भर्टर खुल्लै छाड्नु, लाईनको स्विच अफ नगर्नु, अब्यवस्थित लाईन कनेक्शन आदीका कारण आगलागी हुनु प्रमुख कारण भएको इलेक्ट्रीसियन रमेश कुमार साँह बताउछन । ‘विद्युत्को लोड थाम्न नसक्ने तारको प्रयोग अधिकाशं पसलमा हुन्छ’, उनले भने, ‘घर बनाउदाँ सुरक्षित तबरले वाईरिङ फिट नगर्दा पनि आगो छिटो लाग्छ ।’ घर पसलमा प्रयोग हुने तार र पाईप आगो प्रतिरोधात्मक हुनु पर्छ, तर यस सम्बन्धि ज्ञान नभएकाले पनि विद्युत् सर्ट हुँदा छिटो आगो टिप्ने गरेको उनको अनुभव छ ।

साहले हामीसँग विद्युत् सर्टको बिषयमा जानकारी दिइरहदा केही टिप्स पनि पूर्वेली न्यूजलाई दिएका छन ।

घरको मुख्य मिटर बक्स र प्रत्येक तल्लामा ‘एमसिबी (मिनियचर सर्किट ब्रेकर) फ्युज’ अनिवार्य राखे सर्ट सर्किटबाट हुने मानवीय तथा भौतिक क्षतिबाट धेरै हदसम्म जोगिन सकिन्छ । मुख्य मिटर बक्समा राखिने ठूलो फ्युजले पूरै घर र प्रत्येक तल्लामा राखिने साना फ्युजले त्यो तल्लाको रक्षा गर्ने गर्छ । सर्ट सर्किट भए र हाई भोल्टेज आए यस्ता एमसिबी स्विच स्वचालित रूपमा ‘अफ’ हुने गर्छ । क्षमताभन्दा बढी करेन्ट प्रवाह भए यस्ता फ्युज आफैं अफ हुन्छन् । सर्ट सर्किट भइहाले झिलिक्क झिल्का निस्कनासाथ यी फ्युज स्वचालित रूपमा तल झरी (अफ) मिटर र तारबीचको करेन्ट प्रवाह विच्छेद गरिदिन्छ । फ्युज नराखेको घरमा सर्ट भइसकेपछि पनि करेन्ट प्रवाह भइरहन्छ । अझ यस्तो बेला त क्षमताभन्दा बढी करेन्ट प्रवाह हुने गर्छ ।

एमसिबी फ्युज नराखेको घरमा हाई भोल्टेज आउँदा र सर्ट सर्किट हुँदा तारबाट निस्केको आगो अन्य सामग्रीमा सल्किन गई पूरै घरमा आगलागी हुने गर्छ । तर, फ्युजले सर्ट सर्किट भई झिल्का निस्कनासाथ विद्युत प्रवाह हुने बाटो नै बन्द गरिदिने हुँदा आगलागीको सम्भावना हुँदैन ।

हाई भोल्टेज आउने अनगिन्ती कारण हुन्छन् । हाम्रा घर नजिकका बिजुलीको पोलमा हामी चारवटा नाङ्गा तार देख्छौं, जसमा तीनवटा फेज तार र एउटा न्युट्रल हुन्छ । पोलमा कतै फेज र न्युट्रल तार आपसमा जोडिए हाई भोल्टेज आउँछ । ट्रान्सफर्मर बिग्रियो भने पनि हाई भोल्टेज आउन सक्छ । हामीकहाँ ट्रान्सफर्मर नियमित मर्मत हुने गरेको छैन । घरमा वायरिङ राम्रोसँग गरे, गुणस्तरीय तार प्रयोग गरे, अनिवार्य एमसिबी फ्युज राखे सर्ट सर्किटबाट हुने क्षतिबाट जोगिन सकिन्छ ।

इटहरी उपमहानगरपालिका अन्तर्गत वारुणयन्त्रका प्रमुख जेवी राई इटहरीमा विद्युत् ‘सर्ट सर्किट’ र ग्यास सिलिन्डर ‘लिकेज’लगायत कारण आगलागी बढिरहेको बताउँछन् । ‘एकचोटि विद्युत् जडान गरेपछि मर्मत संम्भार गर्ने चलन नै छैन, जसका कारण विद्युत् सर्ट भएर आगलागी भइराखेका छन’ उनले भने, ‘ठूला–साना आगलागीका घटना हुने गर्छन, तर घरधनीले खासै सुरक्षा तयारी गरेको देखिँदैन ।’

राईका अनुसार इटहरीका अधिकांश व्यवसायीक भवन र पसलहरुले ‘फायर इस्टिङ्ग्युसर’ नराख्ने र सुरक्षा सावधानी नअपनाउने गरेको बताउछन ।
बिजुलीका तार ‘लुज’ भएर, विद्युतीय उपकरण जथाभावी प्रयोग गरिँदा, नियमित मर्मत संम्भार नहुँदा, घरको भान्छामा प्रज्वलनशील वस्तु राख्दा विद्युत् सर्ट हुने राईको भनाई छ ।

अझ विद्युत् सर्ट भएर लागेको आगो नियन्त्रणमा ल्याउन निकै चुनौति हुने गरेको उनको अनुभव छ । इटहरीमा पछिल्लो तिन महिना यता आगलागीका कारण करिब २० करोडको क्षति भएको लागत उघोग बाणिज्य संघ इटहरीमा छ । उवासंघ इटहरीका कार्यवहाक अध्यक्ष शैलेश बिष्टका अनुसार अधिकाशं पसल तथा व्यवसायीक भवनमा भएका आगलागी विद्युत् सर्ट कै कारण भएको बताउछन ।

‘व्यवसायीहरुलाई हामीले पनि बिमाको र प्रबिधिक बिषयको जानकारी गराइरहेका हुन्छौ’, ‘उनले भने इटहरीका आधा जस्तो पसलहरु पुरानो भवनमा संञ्चालित छन, जहाँ वाईरिङको जटिल समस्या छ ।’ आगलागी जस्ता घटना न्यूनिकरण गर्नको लागी उवासंघ इटहरीले तत्कालै बिमा कम्पनि, बैकर्स, प्राबिधिक टिम र व्यवसायी बिच चेतनामुलक कार्यक्रम राखिने बिष्टले बताए ।

हाल इटहरी उवासंघ मार्फत जोडिएका मात्र ७ हजार व्यवसायीहरु छन ।।

प्रतिक्रिया

सम्बन्धित