भोकल, टेक्निसियन र एलिना चौहान

सिएन गौतम / केही दिनअघि अहिलेका युवामाझ चर्चित गायिका एलिना चौहानले पर्वतमा आयोजित ‘तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सव’अन्तर्गत स्टेज पफर्मेन्सका क्रममा प्राविधिकसँगको भनाभन गरिन्। सो विवादमा टेक्निसियनले ‘पहिले भोकल क्लियर गरेर हामीसँग लेबल माग्नू’ भनेपछि उनीहरूबीच थप भनाभन भएको भिडियो सामाजिक सञ्जालमा भेटिन्छ ।

सायद यहाँ टेक्निसियनले गीत अनुसारको भोकल क्लीयर गर्नु भनेको होला ।यसको मतलब के हो भने गायक/ गायिकाले गाउने गरेको गीतको गायकी सबै एकै लेभलको हुँदैन ।हाइ स्केलका गीत र लो नोट भएका गीतहरुमा टेक्निसियनले निकै याद गर्नुपर्ने हुन्छ।आधुनिक गजल,सुफी,रक,पप ,र्‍याप,लोक आदि गीतहरूमा आफ्नो भ्वाइस कति हुनुपर्छ र लेभल कति मिलाउने भन्ने कुरा गायकले शुरुमै टेक्निसियनसँग बसेर छलफल गर्नुपर्ने हुन्छ।जस्तो कि र्‍यापलाई बेस बीट बढी चाहिन्छ।

भोकलको कुरो गर्नुपर्दा मैले करिब १ दशकअघि इटहरीको नमस्ते एफएममा प्रस्तोता भएर काम गर्नुअघि एफएमले दिएको तालिम लिएको थिएँ।त्यहाँ प्रशिक्षकले एक कुरो भनेको सम्झन्छु” कार्यक्रम राम्रो बनाउन प्रस्तोताले टेक्निसियनसँग लभ गर्नुपर्छ” यसो भन्दा त्यहाँ तालिम लिने युवतीहरुको अनुहार लाजले रातोपिरोभएको थियो।यसको मतलब हो प्रस्तोता र टेक्निसियनको सम्बन्ध प्रगाढ भएमात्र कार्यक्रम राम्रो बन्छ।

म रेडियोमा छनौट भैसकेपछि कार्यक्रम प्रस्तुत गर्दा सबैभन्दा बढी काम टेक्निसियनसँग गर्नुपर्‍यो अथवा भनौ रेडियोको पहिलो श्रोता भनेको टेक्निसियन हो। कार्यक्रमको स्क्रीप्ट तयार भएपछि प्रस्तोताको कस्तो कार्यक्रम हो ,भोकलले लेभल कति मिलाउने,प्रोग्राम आइडी ,ब्याकग्राउण्ड म्युजिक आदि कुराको ध्यान दिइन्छ र मिलाइन्छ।भोकलको लेभल पुग्यो पुगेन भनेर साउण्ड मिक्सरमा इन्डिकेटरले देखाउँछ ।यदि पुगेन भने बढाइन्छ र बढी भयो भने लेबल मिलाइन्छ ।त्यसैले रेडियोमा कहिले ठूलो वा सानो आवाज नसुनिएर एकै लेभलको सुनिन्छ।

यता एलिना चौहान आफैमा राम्रो गायकी भएकी कलाकार हुन् ।टेक्निसियनले लेभल मिलाउनु भन्दा एलिनाले ‘पहिला तपाईंको त्यो बोल्ने ढंग सुधार गर्नू, बुझ्नु’भो ! आफ्नो गल्ती छ, यहाँ आएर एकचोटि उफ्रेर हेर्नु त । तपाईंले मलाई सिकाउनु पर्दैन, बुझ्नु’भो नि ! नाच्न जान्दैन आँगन टेडो भनेको यही हो । मिलाउन आउँदैन अनि लाज लाग्दैन यस्तो बोल्नलाई ?,’ भनेकी थिइन् । फेरि जवाफमा टेक्निसियनले भनेका छन्, ‘तपाईंले भन्दा हामीले धेरै काम गरिसकेका छौँ ।’ एलिना र टेक्निसियनबीच भनाभन हुँदा दर्शकले हुटिङ गरिरहेको सुनिन्छ/देखिन्छ ।कार्यक्रम बोथलिन पुग्छ।

यहाँ संवादको अर्थ के बुझिन्छ भने उनीहरु एकअर्काबिच सहकार्यको तादात्म्य मिलेको छैन।दुवैले भन्न खोजेको कुरो एउटै हो। टेक्निसियनले गीत कस्तो खालको हो ,स्वरको पहिचान होस् भन्न खोजेको हो तर झरीको कारण मनिटरमा साउण्ड स्पष्ट नबुझेकी एलिनाले आफूलाई होपेर बोलेको जस्तो लाग्यो।त्यसैपनि एलिना जस्ता व्यस्त गायिकाले धेरै ठाउँमा स्टेज प्रोग्राम गर्दा स्वरमा अवरोध त आउँछ नै। स्वर क्र्याक जस्तो लाग्ने एलिनाको गायकीमा साउण्डको इफेक्टहरु मिलाउनुपर्ने हुन्छ।तर साउण्ड इन्जिनियर आफू सभ्य ,शालीन शैलीमा प्रस्तुत हुन जानेनन्।अन्तत विवाद भयो ।दर्शकलाई खल्लो लाग्यो।

अन्त्यमा यो विवादले नयाँ पाठ सिकाएको छ । कुनै पनि कलाकार विशेषगरी गायक / गायिका कुनै कार्यक्रम ,महोत्सवमा जादा उनीहरुले गाउनेको गीतको ट्र्याक टेक्निसियनलाई सुरुमै उपलब्ध गराउने र हरेक गीतमा कत्ति प्राविधिक कुरा मिलाउने हो त्यो भन्नुपर्छ। टेक्निसियनले पनि स्टेजमा गीत गाउने कलाकारको कतिवटा गीत छ।गीत कस्तो प्रकारको छ भन्ने कुराको राम्रो अध्ययन गर्नुपर्ने हुन्छ।
(गीत, सङ्गीतमा दखल राख्ने लेखक सिएन गौतम गीतकार समेत हुन्  ।)
 

प्रतिक्रिया

सम्बन्धित