साउनकाे अन्तिम साेमवार पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड (तश्विरहरू सहित)

मणिराम दाहाल/ साउन महिनाको अन्तिम साेमवार आज काठमाडौं स्थित प्रसिद्व धार्मिक स्थल पशुपतिनाथ क्षेत्रमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । सौरमास अनुसार यस वर्ष साउन महिनामा पाँच सोमबार परेकाे छ । पहिलोपटक व्रत बस्नेका लागि पाँच सोमबार परेको वर्ष उत्तम मान्ने प्रचलन छ । पशुपतिक्षेत्र लगायत देश भरका शिवालयहरूमा आज अन्तिम सोमबार भएकोले भक्तजनकाे भिड लागेको हाे । बिहानै देखि पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको छ ।

बिहान सुन्दरीजलबाट खाली गोडा, पहेँलो एवं हरि वस्त्र पहिरिएका भक्तजन लाम लागेर पशुपतिक्षेत्रमा आएको दृश्य देखिएकाे छ । विहानै देखि उच्च स्वरमा बोल बम शब्द गुञ्जायमान गराउँदै भक्तजन पशुपतिनाथ मूल मन्दिरतिर आइरहेका छन् । कतिपय भक्तजन भने देशविदेश तथा टाढा टाढा देखि सवारी साधन प्रयोग गरेर पनि बोल बम यात्रामा सहभागी भएका छन् ।

साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गरेको छ । साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा महिलाले अटल सौभाग्य प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ ।

साउन महिनाकाे अन्तिम सोमबार गोदान र पूर्णपात्र गरी साउने सोमबारको व्रत समापन गरिन्छ। यस अवसरमा आज पशुपति मन्दिर क्षेत्र लगायत काठमाडौँ उपत्यकाका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ। पशुपति मन्दिरमा विशेष गरेर साउनकाे अन्तिम साेमवार भएकोले हजारौं भत्तजन लामबद्व भएर पुजा आराधनामा विहानै देखि सहभागी भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित