सडक अतिक्रमण  गर्ने फुटपाथका  पसलहरू हटाउँदै धरान उपमहानगर

धरान  / धरान उपमहानगरपालिकाले धरानका सडक अतिक्रमण  गर्ने फुटपाथका पसलहरू हटाउन थालेको छ । आज पहिलो दिन धरान-२ को नरेन्द्र पथमा रहेको फुटपाथ हटाएको छ । बिहान ६ बजे नगर प्रहरीले फुटपाथमा पसल थाप्न प्रयोग गरिएको सामाग्री हटाउनका साथै जफत गरेको छ ।

भानु चौक देखि पश्चिम नरेन्द्र पथमा व्यवस्थित सब्जिमन्डी भएर पनि फुटपाथमा सडक नै ढाक्ने गरी खाट राखेर, प्लास्टिक टाँगेर पसल थाप्दा सडकमा सर्वसाधारण आउजाउ गर्न नै समस्या हुने भन्दै धरान उपमहानगरपालिकामा स्थानीयवासीले गुनासो गरेपछि भर्खरै सम्पन्न कार्यपालिका बैठकमा समेत फुटपाथ हटाउने निर्णय भएको थियो ।

सोही निर्णय अनुसार फुटपाथको पसल हटाउने बारे सूचना जारी गरी माइकिङ गर्दा समेत अटेरी गरेको पाइएकोले आज बिहान ६ बजे नै फुटपाथको पसल राख्ने स्थानहरू हटाएको र उठाएको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए । अव यो अभियान निरन्तर जारी रहने पनि बताइएको छ ।

बजार अव्यवस्थित भएको जनगुनासो पछि धरान उपमहानगरपालिकाले फुटपाथ हटाउने निर्णय गरी अभियानको थालनी गरेको धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए । धरान २ को नरेन्द्र पथमा मात्रै होइन धरानका अरू पनि स्थानमा सडकलाई अवरोध गर्ने गरी पसल गरिएको पाइएमा फुटपाथ हटाइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित