मोफसलमा ‘बगान’

काठमाडौं / आउँदो शुक्रबारबाट प्रदर्शन हुन लागेको चलचत्रि ‘बगान’को टिम मोफसल भ्रमणमा रहेको छ । चितवनबाट सुरु भएको भ्रमणअन्तर्गत बुटवलमा सकेर आइतबार पोखरामा पत्रकार सम्मेलन गरिने निर्माता तथा गीतकार सुरेश वाग्लेले जानकारी दिए । 

‘दर्शक र मोफसलका सञ्चारकर्मीसँग प्रत्यक्ष भेटेर साक्षात्कार गर्ने उद्देश्यले प्रदर्शनकै सातामा समेत मोफसल भ्रमण गरेका हौँ । हाम्रो सार्वजनिक सामग्रीलाई लिएर उहाँहरू उत्साहित हुनुहुन्छ । केही समयको अन्तरालमा पूर्ण पारिवारिक फिल्म लिएर आउँदैछौँ,’ निर्माता वाग्लेले भने । 

भ्रमणमा निर्माता वाग्लेसँगै  निर्देशक सरोज खनाल, अभिनेत्रीद्वय करिश्मा मानन्धर र प्रमिला कार्की छन् । डेब्यु अभिनेत्री कार्कीले मोफसल भ्रमण गर्दा भईरहेको साक्षात्कारमा चलचित्रसम्बन्धी जानकारी गराइरहेको बताइन् । ’हामीले प्रत्यक्ष रुपमै उहाँहरुको जिज्ञाषा मेटाईरहेका छौँ । यो मेरो लागि पहिलो अनुभवसमेत हो’, अभिनेत्री कार्कीले भनिन् । 

 

यस्तै, चितवनमा गरिएको पत्रकार सम्मेलनपश्चात टिमले भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालसँग भेट गरेको थियो । एकल महिलाको संघर्षसँगै शिक्षाले ल्याउने परिवर्तनलाई देखाइएको फिल्मको बारेमा प्रमुख दाहालले जिज्ञासा राखेकी थिइन् । 


‘प्रमुख दाहालले उठान गरेको विषयको बारेमा जानकारी लिँदै यी र यस्तै महिलासँग जोडिएको विषयलाई फिल्ममार्फत समाजमा ल्याउनु पर्ने बताउनुभयो । उहाँ समेत फिल्म हेर्न ईच्छुक हुनुहुन्छ,’ निर्माता वाग्लेले भने । 

बगान समूहले एकल आमाले परिचय खुल्ने विवरणका आधार पेस गरेर निःशुल्क  फिल्म हेर्न पाउने घोषणा समेत गरिसकेको छ । यसमा नीर शाह, बसुन्धरा भुसाल र मिथिला शर्मा लगायतको पनि अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो फिल्ममार्फत अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् । 

नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिङ मुकेश शाहको रहेको छ ।

हरि लम्साल र सुवास भुसालको संगीत रहेको फिल्मका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दै छ ।
 

प्रतिक्रिया

सम्बन्धित