कोशी प्रदेशमा दुई दिनको बाढीले जलविद्युतमा नौ अर्बभन्दा बढीको क्षति ,हाइड्रोमा लगानी बालुवामा पानी

फायल तस्विर

इटहरी । यही असार १ र २ गते कोसी प्रदेशमा आएको बाढीपहिराेका कारण जलविद्युत् क्षेत्रमा रु आठ अर्ब ८४ करोडको क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) नेपालले  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र भोजपुरमा असार १ र २ गते आएको बाढीबाट जलविद्युत् गृह बगाउँदा रु आठ अर्ब ८४ करोडको क्षति पुगेको बताएको हो ।

 

इपानका अध्यक्ष गणेश कार्कीले कोसी प्रदेशमा आएको बाढिपहिरा]बाट सञ्चालनमा रहेका १३ र निर्माणाधीन १७ गरी ३० जलविद्युत् आयोजनामा क्षति पुग्दा लगानीकर्ता ठुलो मारमा पर्नाका साथै अर्बौँ लगानी जोखिममा परेको बताए ।

 

त्यसका कारण एक सय ३३ मेगावाट उत्पादन ठप्प हुन पुगेको छ । तीस जलविद्युत् आयोजनामा क्षति पुग्दा २० लाख सर्वसाधारण तथा स्थानीय लगानीकर्ताको लगानी जोखिममा परेको अध्यक्ष कार्कीले सुनाए ।

 

इपानको टोलीले क्षतिग्रस्त आयोजना पुनर्निर्माणका लागि नेपाल राष्ट्र बैङ्कबाट पुनकर्जा उपलब्ध गराउन, निर्माणाधीन आयोजनामा उत्पादन सुरु गर्नुपर्ने मिति दुई वर्ष थप गर्न, सञ्चालनमा रहेका आयोजनाको पुनः विद्युत् उत्पादन नभएसम्म रोयल्टी मिनाहा गर्न, पुनर्निर्माणका लागि आवश्यक पार्टपुर्जा आयातमा भन्सार तथा भ्याट छुट दिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ ।

 

यस्तै क्षतिग्रस्त आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि बढाएर ५० वर्ष कायम गर्न, आयोजना पुनर्निर्माणका लागि लिने कर्जा २० वर्षसम्म पुनर्तालिका गर्न समेत माग गरिएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्नेसम्बन्धी सम्झौताले नेपालको ऊर्जा क्षेत्रमा सकारात्मक सञ्चार भएको इपानले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित