लुम्बिनीले आज नयाँ मुख्यमन्त्री पाउँदै, बागमतीमा भोलि

काठमाडौं । लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ। माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले हिजो राजीनामा दिएपछि आज एमालेका लुम्बिनी संसदीय दलका नेता लीला गिरी नयाँ मुख्यमन्त्री बन्ने भएका हुन्। 

गिरीलाई नियुक्तिको लागि कांग्रेस र एमालेले  संयुक्त रूपमा दाबी पेस गर्ने तयारी रहेको छ।  दुई दलमा भएको सहमतिअनुसार एमालेको भागमा मुख्यमन्त्री परेसँगै गिरीलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए।

 लुम्बिनीका प्रदेश प्रदेश अमिक शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई आज साँझ ६ः३० बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका छन्।  यस्तै बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसले सोमबार दाबी पेस गर्ने तयारी गरेको छ। 

कांग्रेसबाट संसदीय दलको नेता बहादुरसिंह लामाले आज सरकारमा दाबी पेस गर्ने भएका हुन्। 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिइसकेका छन्। हिजोको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा बुझाएका थिए। 

जम्कट्टेलको राजीनामासँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ८ गते ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका छन्।  अब नेता लामाले एमाले र कांग्रेसको समर्थनमा सरकारमा दाबी पेस गर्नेछन्। लामाको नियुक्ति भने भोलि साँझ ५ बजेपछि मात्रै हुनेछ।

प्रतिक्रिया

सम्बन्धित