गण्डकीका सभामुख भन्छन्– मैले हस्ताक्षर गरेको छैन, राजीनामा पनि दिन्नँ

काठमाडाैं ।  गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्रीको दाबीका लागि एमाले संसदीय दलका नेता खगराज अधिकारीको पक्षमा आफूले हस्ताक्षर नगरेको बताएका छन्।अधिकारीले सभामुखलाई समेत गणना गरी प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। एमालेका २२, माओवादी केन्द्रका सभामुखसति ८ र स्वतन्त्र सांसद दीपक मनाङेसमेत जोडेर उनले आफ्नो पक्षमा ३१ मत देखाएका छन्।६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन आवश्यक बहुमत संख्या पनि ३१ नै हो। 

तर, सभामुख कुनै सरकार बनाउने वा ढाल्ने प्रक्रियामा सामेल हुन पाउँदैनन्। यसअघि कोसी प्रदेशमा सभामुखको समेत हस्ताक्षर गरी दाबी पेस गर्दा कांग्रेस केदार कार्की नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो।

तर, गण्डकीको अवस्था भने फरक रहेको त्यहाँका सभामुख कृष्णप्रसाद धितालको भनाइ छ। ‘कोसीको भन्दा यहाँ केही फरक अवस्था छ,’ उनले भने, ‘मैले मुख्यमन्त्रीको दाबीपत्रमा हस्ताक्षर गरेको छैन। साविकको दलको हिसाबले मेरो नामसमेत जोडेर उहाँ (खगराज अधिकारी)ले दाबी पेस गर्नुभएको होला।’

धिताल माओवादीबाट निर्वाचित सांसद हुन्।के सरकार जोगाउन राजीनामा दिनुहुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘मैले राजीनामा दिएर अवस्थामा कुनै परिवर्तन हुँदैन। उपसभामुख पनि एउटै गठबन्धनबाट हुनुहुन्छ। त्यसैले मैले राजीनामा दिनुपर्दैन।’

विश्वासको मत लिँदा दुवै पक्षमा बराबर मत खसेमा निर्णायक मत सभामुखले दिन पाउँछन्। गण्डकीमा एमाले नेतृत्वको गठबन्धनले पनि त्यही अवस्थाको आकलन गरी मुख्यमन्त्रीमा दाबी पेस गरेको देखिन्छ। तर, कांग्रेसले भने अधिकारीले पेस गरेको दाबीको प्रक्रिया नै असंवैधानिक भनेको छ।

प्रतिक्रिया

सम्बन्धित