त्यो ५५ रूपैया जसले धरानका कृष्णलाई करोडपति बनायो , भन्छन्–कृषिमा पैसै पैसा छ
धरान । कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको संख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेसामै ठूलो सम्भावना रहेको देख्छन् ।
कृषिबाटै नाम र दाम कमाएका उनी भन्छन्, ‘अल्छी गर्नेलाई कतै सम्भावना छैन, जाँगर हुनेलाई कृषिमा सम्भावनै सम्भावना छ’, सोताङ अग्र्यानिक कृषि फर्म खोलेर तरकारी र फलफूलको खेतीसँगै कुखुरा, बाख्रा, बङ्गुरदेखि गाईसम्म पालन गरेका राईले यसैबाट बार्षिक करोडौंको कारोबार गर्दै आएका छन् । कृषिबाटै उनले करोडौँको जग्गा जमिन जोड्नु भएको छ, भव्य घर बनाएका छन् । कृषिबाट उनी आफूले मात्र कमाउनु भएको छैन, अरुलाई पनि रोजगारी दिएका छन् ।
कृषि कर्मबाटै उनले धरानमा अढाई बिघा जग्गा जोडेका छन् भने बराह क्षेत्रमा करिब १५ विघा किनिसकेका छन् । ती जग्गामा कतै विभिन्न तरकारी र फलफूल लगाएका छन् भने कतै ठूलो मात्रामा सयौं प्रजातिका फूलको नर्सरी बनाएका छन् । उनको गोठमा ५५ वटा गाई छन् । ती गाईबाट उत्पादन भएको दूध धरान बजारमा दैनिक पाँच सय लिटर बिक्री गर्छन् ।
त्यस्तै उनको खोरमा अहिले १० वटा बङ्गुरका माउ छन् । तिनबाट उत्पादन भएका बच्चा बेच्छन् भने मासुका लागि पालिएका बङ्गुर पनि बेच्छन् । उनले कुखुरा, हाँसलगायतका पंक्षीहरु पनि पालेका छन् । घरै उनले माटो बिना साग फलाउन सकिने हाइड्रोफोनिक प्रविधिबाट सागको खेती गरेका छन् भने त्यससँगै माछा पनि पालेका छन् ।
उनको सोताङ अग्र्यानिक कृषि फर्ममा राईका बुवा, आमा, श्रीमती र छोराले पनि सहयोग गर्छन् । त्यसबाहेक उनले १६ जनालाई रोजगारी समेत दिएका छन् । हालसम्म कृषि क्षेत्रमा उनको लगानी नै करोडौँ पुगिसकेको छ । उनले धरान–७ शान्तिपथमा तरकारी तथा फलफूल बिक्री गर्न पसल पनि सञ्चालन गरिरहेका छन् । त्यसबाहेक घरमै किन्न आउनेहरु पनि उत्तिकै हुन्छन् । तरकारी, फलफूल तथा पशुपालनबाट मासिक रु १२ लाखको हाराहारीमा कमाई भइरहेको उनी बताउँछन् ।
५५ रुपैयाँबाट सुरु
अहिले करोडौँको लगानी पुगेको राईको कृषि फर्मको सुरुआत भने जम्मा ५५ रुपैयाँ लगानीबाट भएको थियो । उनी भन्छन्, ‘सुरुमा ५५ रुपैयाँ लगानी गरेर कृषि क्षेत्रमा लागेको थिएँ, त्यहि फैलिँदै अहिले करोडौंको भएको हो ।’ सामान्य आर्थिक अवस्थाको कृष्णको परिवारसँग पहिला जम्मा छ कट्ठा जग्गा मात्र थियो । त्यसैमा बावुले परम्परागत कृषि कर्म गर्दै आएका थिए । खासै राम्रो उब्जनी हुँदैनथ्यो । त्यसबाट जीवन धान्न नै मुस्किल पर्ने अवस्था थियो । करिब २६ वर्षअघि कृष्णले स्कुलबाट फर्किने क्रममा बाटोमा एक जना मान्छेले काँक्राको बीउ किनिरहेको देखे । त्यसपछि बीउ बेच्नेसँग सोधखोज गर्दा राम्रो फल्ने काँक्राको बीउ हो भन्ने जानकारी पाए । ‘त्यसपछि मैले पनि १० रुपैयाँमा १८ वटा काँक्राको बीउ किनेर ल्याएँ’, उनी सम्झिन्छन्, ‘त्यो बीउलाई मलजल गर्दा जम्मा लगानी ५५ रुपैयाँ पुगेको थियो । त्यसबाट फलेका काँक्रा बिक्री गर्दा पाँच सय ५० रुपैयाँ कमाएँ । त्यहीँबाट कृषिमा सम्भावना रहेछ भन्ने बुझेर लागि परेको हुँ ।’
कृषिलाई परम्परागतबाट आधुनिक तरिकाले अघि बढाउने सोंच भएपनि तालिमको अवसर थिएन । उनका लागि त्यसबेला रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रशारण हुने कृषि कार्यक्रम नै तालिम बने । ती कार्यक्रम नियमित सुन्ने र हेर्ने गर्न थाले । पत्रपत्रिकामा कृषिका समाचार देख्ने बित्तिकै पढ्न थाले । उनी भन्छन्, ‘कसैले खेतीपातीका विषयमा कुरा गरेको सुनें भने ध्यान दिएर सुन्थे, कतै पत्रपत्रिकामा कृषिकाबारे लेखिएको भेटे, घरमा ल्याएर मज्जाले पढ्थें । मेरा गुरुहरु तिनै थिए ।’
खेती र पशुपालन गर्दा समस्या नआउने कुरै भएन, उनले पनि धेरै रोग र विभिन्न समस्या भोगे तर समस्यासँग कहिल्यै हार मानेनन् । यसरी सिक्दै अघि बढाएको कृषि कर्म अहिले उनी अरुलाई पनि सिकाउँछन् । उनले केही वर्षअघि बसन्तटारमा रु ८५ लाख लगानी गरेर आधुनिक कृषि तालिम केन्द्रका लागि भवन निर्माण गरेका छन् । कृषिसम्बन्धी विभिन्न तालिम यसैमा सञ्चालन गर्छन् । उनको कृषि फर्ममा अध्ययन भ्रमणमा टाढादेखिका कृषकहरु पनि आउने गरेका छन् । उनी भन्छन्, ‘‘अहिले खेतीपाती र पशुपालन गर्ने तरिका मात्र होइन, आफ्ना उत्पादनलाई कसरी बजारीकरण गर्ने भन्ने विषयमा प्रशिक्षण पनि दिंदै आएको छु ।’
अर्गानिक गाउँ
धरान उपमहानगरपालिका–४ मा पर्ने बसन्तटार गाउँ अर्गानिक खेतीका लागि चर्चित छ । यो गाउँमा कृषिलाई व्यवसायीकरण गर्नमा कृष्णकै ठूलो योगदान छ । उनकै प्रेरणाले गाउँभर अहिले कृषि फर्महरु खुलेका छन् । कृषिबारे बुझ्न आउनेहरुका लागि यो गाउँ पाठशाला जस्तै बनेको छ ।
कृष्णले आफ्नो खेतबारी मात्र होइन पूरा गाउँलाई नै अर्गानिक बनाउन निक्कै मिहिनेत गर्नु परेको थियो । अन्य गाउँलेले जस्तै कृष्णले पनि सुरुका वर्षमा धेरै उत्पादन हुने लोभमा खेतीमा रासायनिक मल र विषादीको प्रयोग गर्नु भएको थियो । तर केही वर्षमा माटोको उर्वरा शक्ति हराएर उब्जनी घट्न थाल्यो । त्यसपछि उनले किन यस्तो भयो ? भनेर कारण खोजे । धेरैतिर बुझ्दा थाहा भयो, रासायनिक मल र विषादीको प्रयोगले माटोको उर्वरा शक्ति नै हराउने रहेछ ।
बारीमा रासायनिक मल र विषादी प्रयोग गरेर आफैंले गल्ति गरेको महशुस गरी उनले त्यसलाई सुधार्ने बाचा गरे । तर बिग्रिएको माटो सुधार गर्नु त्यति सजिलो काम थिएन । त्यसका लागि निक्कै मिहिनेत गर्नु परेको उनको अनुभव छ । माटो सुधार्नका लागि त्यसपछि कृष्णले आफैं जैविक मल उत्पादन गर्न थाले । जैविक वनस्पतीकै विषादी बनए । जैविक मल र विषादी बनाउने काम अहिले पनि गरिरहेका छन् । उनी भन्छन्, ‘‘रासायनिक मल र विषादी हाल्नु हुन्न भन्ने बुझेपछि म अग्र्यानिक खेतीका अभियन्ता बनेको हुँ ।’
अर्गानिक खेती गर्नका लागि आफ्नो बारीमा मात्र रासायनिक मल र विषादी प्रयोग नगरेर हुने अवस्था थिएन । उनी भन्छन्, ‘‘मैले मेरो बारीमा त रासायनिक मल र विषादी प्रयोग गरिन तर गाउँमा अरुले प्रयोग गरेपछि त्यसको असर मेरो बालीमा पनि पर्ने रहेछ । त्यसो हुँदा अर्गानिक खेती गर्न सम्भव नदेखिएपछि अरुलाई पनि बुझाउने कोसिस गरें र सफल पनि भएँ ।’
अहिले उनको पाइला पछ्याउँदै बसन्तटार गाउँका एक सय ५० घरघुरीले अर्गानिक खेती गर्छन् । त्यसमध्ये ५५ घरको मुख्य आम्दानीको स्रोत अर्गानिक कृषि नै रहेको उनी बताउँछन् । बसन्तटार अहिले कृषि अभियन्ताहरुका लागि सिकाइको थलो बनेको छ । कृषिबाट राम्रो आम्दानी गर्नुका साथै अरुका लागि प्रेरणाका स्रोत समेत बनेका कृष्णलाई विभिन्न सङ्घसंस्थाले सम्मान समेत गरेका छन् । परिवारसहित कृषिमै रमाइरहेका राई भन्छन्, ‘कृषिमा अलि मेहनत आवश्यक पर्छ तर सम्भावनै छैन भन्ने कुरा गलत हो । पलायन हुनुभन्दा युवाहरुले आफ्नै ठाउँमा पसिना बगाए देश समृद्ध बन्छ, कसैले पनि परिवार पाल्न विदेश भौंतारिनुपर्ने अवस्था आउँदैन ।’
![कृषक पलायन भएपछि बढ्दो परनिर्भरता : पूर्वी नाकाबाट मात्र ८५ करोडको कोदो आयात](https://snowberry.prixacdn.net/media/gallery_folder/kodo_EceaX0zz6q_oxwk8dxaotiyq1sxya2hjai4nwtefaqtlqqyxe14vbpsyncgotwo07c2jjlv_X19JyU2KyM_4nytcletniyatra4xmowgslxphtnarjxsxfzq1e0bifapj28hoiepvjzmwp3.jpg)
कृषक पलायन भएपछि बढ्दो परनिर्भरता : पूर्वी नाकाबाट मात्र ८५ करोडको कोदो आयात
![ड्रागन फ्रुटबाटै वर्षको १६ लाख कमाउँछिन् कल्पना](https://snowberry.prixacdn.net/media/gallery_folder/kamala-gouli_JM8g1e0Mra_yps2ah6dqesqycxtxcnybmb6noyiiq1woejmjqipirfgacog2teqyikpoybj_U7uaxiCwtZ_e9rc71xu8xpe88ddbixeyomgnvki2jau9nzpddwtgexsmflafvkye6ab7b7r.jpg)
ड्रागन फ्रुटबाटै वर्षको १६ लाख कमाउँछिन् कल्पना
![आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार](https://snowberry.prixacdn.net/media/gallery_folder/potato_Br2jxlCe5U_xovbvijlmtuhrukwbuhzvrvsvdpblndmj0osow5zak0pnftabksfhskumi7e_FkvNzv2BuN_oxbbwad4khbhrupvlitav7uwh5wncqgzitlkfk3jsspdemvego8kuen16ioe.png)
आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार
![स्ट्रबेरी खेतीमा आकर्षित हुँदै भोजपुरका किसान](https://snowberry.prixacdn.net/media/gallery_folder/stabari_NBZ5F3Wt6v_alrmacwilua9gpz717iadx1vfu1tbiktb7ariq21ehckyvky3xtd41f6zbpc_klXtWQNT5W_fole0lr5l1hgqb9xy4omekwylmzpzuxrpfcglembdqrv0zrjqbiouyatunft.jpg)
स्ट्रबेरी खेतीमा आकर्षित हुँदै भोजपुरका किसान
![मह बेचेर भोजपुरको नागीवासीले कमाए एक करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/honeyBenefits_jF7Cd8X5cC_yjdek4qe2hrkihf8ngnois53xxtcchmzgv0fzsi7zbuc9fc6iumnne4vsoht_j39re5mwjm_defy94rwtpefh0vty2epjplmcjilbq9difgbjnwk5jgnitmw44rfak1wpai8.jpg)
मह बेचेर भोजपुरको नागीवासीले कमाए एक करोड
![पेट्रोलको मूल्य लिटरमै साँत रुपैयाँ घट्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-oil-corp_AdMig8E0QW_g7qva9p3youvvzeitq68pxxnrduvytgzrvkq7kuesutrsbnrs8t9i5iz32c5_PWWrPntJAb_60h8i6tlzvtqgjvtv0t82ioliallpf7vex4qdcbrtl4s5n4t0yxijbvswdlm_eiAPerip5w_f5d5qvivenv99dnr0cdpbzz6c3w46fugfkhnchdspepy9tmio7xvmj5aaing_U1Ycxl84et_hytx7pcdz5ajrvknn6zs5noabybncvclo0tfd7laywimlvy0i3lsf64wbyhc_QOqEqayoZK_32ijbxtr26fotwaovjxgt3bwk6iwe7p8vkt9gob9ykp5hhjtjvwbzpvm9uf6_YMCHcXzhtT_ffpywjwqiixbmbdrredc58bcsosrqphoi1txkn8mwvb3jm2hfkbg3nbcv4wg.jpg)
पेट्रोलको मूल्य लिटरमै साँत रुपैयाँ घट्यो
![धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र](https://snowberry.prixacdn.net/media/gallery_folder/nast-daran-e1715395279826_LgvjKNEWrW_chpladygywcetxquyazn2eidwwkpkhjhxfnt4ojbl4rkqro6knxyy4ceeeep_vtSwxXgRe8_vetlsvadfjwybacfond7zfae4mcdcn4hjnndl5r3cpvem3khs3ujrr43au9f.jpg)
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
![इटहरीमा काैसी खेती प्रवर्द्धन कार्यक्रम : ६० जनालाई वितरण गरियो कृषि सामग्री](https://snowberry.prixacdn.net/media/gallery_folder/6654d01f-340d-4eb7-83f9-7e2919b5f8bd_AVbrMumExZ_cssc7qocivaolor5k4gigeapqofz0u2f2erji1d7iqtl1jsrvat3d92svdco_Zsch5zWXrl_m69ejsyssgajwgb6ibtin9stojakougq1ubgkuuai5vxvazuxjqy08psww3f.jpg)
प्रतिक्रिया