विराटनगरमा राति १२ बजेसम्म होटल सञ्चालनको अनुमति

विराटनगर / विराटनगरमा राति १२ बजेसम्म होटल व्यावसाय सञ्चालन गर्न दिने निर्णय भएको छ । महानगरले समन्वय गरेको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । व्यवसायीले रात्रीकालीन व्यवसाय सञ्चालनका लागि पटक–पटक महानगरको ध्यानाकर्षण गराउँदै आएका थिए ।

व्यवसायीको गुनासो सम्बोधन गर्न महानगरले समन्वय गरेर प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्तासँग सम्बन्धित संस्थासहित सरोकारवालाको बैठक राखेको थियो । बैठकले १२ बजे रातिसम्म होटल सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

बैठकले रात्रीकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षा लगायतका मापदण्ड समेटेर कार्यविधि बनाउनेछ । मेयर कोइरालाका अनुसार व्यवसायीले सोही कार्यविधिभित्र रहेर रात्रीकालीन व्यवसाय सञ्चालन गर्नुपर्नेछ ।

व्यवसायीको पीडा बुझेर महानगरले सरोकारवालाको बैठक राखी रात्रीकालीन व्यवसाय सञ्चालनको निर्णय गरिएको मेयर कोइरालाको भनाइ छ । उपमेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा बसेको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले स्थानीय व्यापार व्यवसाय प्रवर्धनका लागि कुनै कसर बाँकी नराख्ने बताए । पछिल्लो समय १० बजेसम्म होटल सञ्चालन गर्न दिइदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित