निजी जग्गामा वृक्षारोपण : मेयर साम्पाङ सही कि गलत ? यस्तो छ जग्गा विवादको नालीबेली

धरान / २०७१ सालमा सट्टा भर्ना भइसकेको जग्गामा धरान उपमहानगरका मेयर हर्क साम्पाङले जबरजस्ती वृक्षारोपण गरेपछि चौतर्फी चर्चा र विवाद सुरु भएको छ । ब्यक्तीले भोग चलन गर्दै आएको नम्बरी जग्गामा जग्गाधनीलाई नै लछार पछार पार्दै वृक्षारोपण गरेपछि मेयर साम्पाङ विरुद्ध उनकै समर्थकहरू जाइलागेका छन् ।

गत शनिवार श्रमदान गर्ने भन्दै धरान ४ छोटी मोरङ सर्दु जलाधार क्षेत्रमा बृक्षा रोपण गर्न पुगेका मेयर साम्पाङ सहितको टोलीले पूर्व वडाध्यक्ष सहित रहेका प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारीको जग्गामा हस्तक्षेप गरेका थिए । उक्त घटनाको अहिले सामाजिक सञ्जालमा चौतर्फी आलोचना सुरु भएको छ । 

यस्तो छ जग्गा विवादको नालीबेली 

सयौँ समर्थकहरू सहित मेयर साम्पाङ टोली श्रमदानकालागि खटिएको धरान ४ को जग्गा सर्दु जलाधारको रहेको पाइएको छ । उक्त जग्गाबारे २०७१ साल चैत्र १७ गते नै सर्वोच्च अदालतमा मुद्दा दायर भएको बुझिएको छ । अदालतले उक्त जग्गाबारे ठोस फैसला अझै पनि नदिएको बताइएको छ ।सो क्षेत्रमा ४२ बिगाहा जग्गाको सट्टाभर्ना पाएको प्रमाणसहित जनसरोकार मञ्च नेपालले मुलुकी ऐन अदालती बन्दोबस्ती १० नम्बर बमोजिम पुनरावेदन अदालत विराटनगर हुँदै रिट निवेदन सर्वोच्चमा पुगेको देखिएको छ । 

सोही मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश आनन्द मोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले अघिल्लो फैसलासँग असहमति जनाउँदै पूर्ण इजलासमा पेस गर्न २०७९ माघ २४ गते आदेश दिएको पनि देखिएको छ ।  जनसरोकार मञ्च धरानको नेतृत्वमा इन्द्र बहादुर राई , ज्ञानबहादुर राई , गङ्गालक्ष्मी राई, शुभ राई, श्यामकुमार राईले धरान नगरपालिका कार्यालय, जिल्ला विकास समिति, जिल्लमा मालपोत कार्यालय सुनसरी विष्णु पादुका गाविस लगायतलाई विपक्षी बनाउँदै रिट  दायर भएको थियो । सर्दु जलाधार क्षेत्रको १३२ बिगाहा जमिन २०३४ सालमै  सट्टा भर्ना भइसकेको कागजात फेला परेपछि सर्वोच्च अदालतले सरोकार मञ्चको पक्षमा फैसला गरेको थियो । 

धरान ४ छोटी मोरङ डाँडा र आसपासमा पर्ने ४२ बिगाहा जग्गाको मुआब्जा दिएको प्रमाण पेस नभएको भन्दै व्यक्तिको हक भोग लाग्ने गरी सर्वोच्च अदालतले २ वटा मुद्दाको फैसला गरेको थियो । साथै, फैसलाको बारेमा पुनरावलोकन गर्न दिइएको निवेदनमा सर्वोच्चले नै निस्सा भने दिएको थिएन ।

फैसला गरेर पनि निस्सा नदिएपछि सर्वसाधारणहरूले त्यहाँको जग्गा किनबेच सुरु गरेका थिए । सोही क्रममा २०७२ सालामा रोशन अधिकारीले  ३ कट्ठा ५ धुर जग्गा जग्गा किनेका थिए । उक्त जग्गा उनले श्रीमती रोजिना अधिकारीको नाममा राखेर धनी पुर्जा समेत निकालेका छन् । त्यसै आसपास  उनका दाजु मथुरा अधिकारीको नाममा २ कट्ठा जग्गा रहेको छ । उनले हेम चन्दा घिमिरेसँग सो जग्गा किनेको बताएका छन् । तत्कालीन नापी कार्यालय र वन डिभिजनले सो जग्गाबारे २०३४ माघ ९ मा जलाधार क्षेत्रमा १८० घरपरिवारले ३ सय ४८ बिघा जमिन खनजोत गरिरहेको अध्ययन सहितको तथ्याङ्क सङ्कलन गरेको थियो । 

उनीहरूलाई २०३४ देखि २०३८ सालसम्ममा मोरङको बयरवन क्षेत्रमा सट्टाभर्ना दिएर स्थानान्तरण गरिएको थियो । सट्टा भर्ना दिइएको भए पनि लगत कट्टा नहुँदा भू माफिया र जग्गा धनीहरूले जलाधार क्षेत्रको जग्गा किनबेच गर्दै आएका थिए । उक्त विषयमा जानकार मेयर साम्पाङले गत शनिवार वृक्षारोपण गरेर जग्गा छोड्न जग्गाधनीलाई दबाब दिएका छन् । अदालतले नै जग्गा विवाद साम्य नभई रोक्का गरिरहेको अवस्थामा मेयर साम्पाङले बृक्षा रोपण गर्नु कानुनको धज्जी उडाएको प्रस्ट देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित