साँघु साप्ताहिकले आज देखी टेलिभिजन सञ्चालन गर्ने

काठमाडौं । सञ्चार क्षेत्रमा लामो इतिहास बोकेको साँघु राष्ट्रिय साप्ताहिकले आधुनिक प्रविधिसँग एकाकार हुँदै साँघु टेलिभिजन सुरु गरेको छ ।

साँघु टेलिभिजन आज २०८० असार २९ गते भानु जयन्तीको दिनबाट परीक्षण प्रशारणमार्फत दर्शकमाझ प्रस्तुत हुँदैछ । पञ्चायतकालदेखि अभिव्यक्ति स्वतन्त्रता र सुशासनको पक्षमा खरो उभिँदै आएको साँघु साप्ताहिकले अनलाइन संस्करणसँगै आजबाट टेलिभिजनमा फड्को मारेको हो । 

समाजका विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध तिखो कलम चलाउँदै आएको साँघु साप्ताहिक झैं टेलिभिजन पनि सुशासनको पक्षमा खरो रुपमा उत्रिने सम्पादकीय टीमले बताएको छ । स्याटलाइट टेलिभिजनबाट दर्शकमाझ पुग्ने साँघु टेलिभिजनले आफूलाई परक रुपमा प्रस्तुत गर्ने प्रयास गर्ने सम्पादकीय टीमको भनाइ छ ।

टेलिभिजनको भीडमा जनजीवनसँग सरोकार रहने विषय बस्तु, नेपाली माटो, हावापानी, मौलिकता, संस्कार, संस्कृति सुशासनको पक्षमा खरो उत्रिएर नै फरक पहिचान बनाउने सम्पादकीय टीमले दाबी गरेको छ । 

झन्डै ४५ वर्ष लामो पत्रकारितामा लागेका वरिष्ठ पत्रकार गोपाल बुढाथोकी सञ्चालक रहेका छन् । उनी साँघु साप्ताहिकका संस्थापकसमेत हुन् । बुढाथोकीलाई सरकारले २०६९ मा राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान पनि गरेको थियो । नेपाल पत्रकार महासंघको जिल्लाको नेतृत्व देखि केन्द्रीय उपसभापतिका साथै प्रेस काउन्सिल नेपालको बोर्ड दुईपटक काम गरेका बुढाथोकीले कार्यबाहक अध्यक्षको रुपमा पनि लामो समय काम गरेको अनुभव छ । 

सञ्चार क्षेत्रमा भएको आधुनिक प्रविधिको विकास र विस्तारलाई आत्मसात गरेर डिजिटल दुनियाँमा प्रवेश गरेको बुढाथोकीले बताएका छन् । पत्रकारकै लगानि र नेतृत्वमा टेलिभिजन सञ्चालनमा आएको पनि पहिलो अनुभव हो ।

प्रतिक्रिया

सम्बन्धित