बोनस शेयर, राइट शेयर र लगानीकर्ताको सम्पत्तिमा प्रभाव

धरान / नेपालको शेयर बजारमा बोनस शेयर र राइट (हकप्रद) शेयरले सबैको ध्यानाकर्षण गर्दछ । कुनै कम्पनीले बोनस र/वा राइट शेयर वितरण गर्ने सुचना मात्र प्राप्त भए पनि त्यस्ता कम्पनीको शेयर मुल्यमा उछाल आउने गर्दछ, अझ भनौ नया लगानीकर्ता त जुनसुकै मूल्य पनि तिर्न तयार हुन्छन भने पुराना र बजारका खेलाडी लगानीकर्ता त्यहि बोनस र राइट शेयरलाई देखाएर आफ्नो शेयरको मूल्य बढाएर नाफा सुरक्षित गर्न तिर लाग्छन ।

बोनस र राइट शेयर बाडने बित्तिकै कम्पनीको शेयर मुल्यमा पर्ने खरिद चापले साच्चिकै शेयर खरिदकर्तालाई नाफा दिन्छ त ? बोनस र राइट शेयर वितरण पश्चात लगानीकर्ताको सम्पत्तिमा कस्तो असर पर्छ भन्ने कुरालाई याँहा देखाउने कोशिस गरिएको छ ।

बोनस शेयर

कम्पनीले नाफा आर्जन गरेपछि शेयरधनीलाई शेयरको नाफा वापत लाभांश (Dividend) वितरण गर्दछ । उक्त लाभांशलाई नगद लाभांश (Cash dividend) र शेयर लाभांश वा थप शेयर (Stock dividend or Bonus share) दुई रुपमा वितरण गरिन्छ । नगद लाभांश नगदमै प्राप्त हुन्छ भने शेयर लाभांश वा बोनस शेयर शेयरधनीले कुनै लगानी थप नगरी लाभांशको रुपमा थप शेयर प्राप्त गर्दछ । बोनसको रुपमा थप शेयर त प्राप्त हुन्छ तर शेयर को बजार मुल्यमा समायोजन गरिन्छ जसले गर्दा लगानीकर्ताको सम्पत्तिमा कुनै परिवर्तन आउदैन । बोनस वा राइट शेयरको मुल्य समायोजन जहिले पनि कम्पनीले तोकेको बुकक्लोज मितिको अघिल्लो दिनको बजार मुल्यको आधारमा गरिन्छ । बुकक्लोज मितिभन्दा पछाडी शेयर खरिद गर्ने लगानीकर्ताले बोनस शेयर प्राप्त गर्न सक्दैन ।

रोशन ढकाल

मानौ तपाइँसंग नेपाल बैक लि को १०० कित्ता शेयर थियो र उक्त शेयरको मुल्य बुकक्लोज मिति अघि रु ५०० थियो भने तपाईको जम्मा सम्पत्ति रु ५०,००० को भयो । तपाइँको कम्पनीले त्यो बर्षको नाफाबाट २०% बोनस शेयर वितरण गर्ने हो भने अब तपाईको शेयर १०० * १.२ = १२० कित्ता हुन्छ तर शेयर मूल्य बुकक्लोज पछी समायोजन भयर ५००/१.२ = रु ४१६.६७ प्रति कित्ता कायम हुन्छ । अब तपाईको बुकक्लोज पछी पनि जम्मा सम्पत्ति १२० * रु ४१६.६७ = रु ५०,००० नै हुन्छ ।

राइट (हकप्रद) शेयर

कम्पनीलाई थप पुँजीको आवश्यकता हुदा उसले आफ्ना शेयरधनीहरुलाई अग्राधिकार रहने गरि निष्कासन गरेको शेयरलाई राइट शेयर भनिन्छ । राइट शेयर निष्कासन गर्दा बजार मुल्य भन्दा केहि कम मुल्य राखेर निष्कासन गर्ने गरिन्छ तर नेपालमा अंकित मुल्य (रु १००) मा नै राइट शेयर जारी गरेको पाइन्छ । राइट शेयरको बिक्रि पछी पनि शेयरधनीको सम्पत्तिमा कुनै फरक पर्दैन । मानौ तपाइँसंग नेपाल बैंक लि को १०० कित्ता शेयर छ र त्यसको बजार मुल्य रु ५०० प्रति कित्ता छ भने तपाईको जम्मा सम्पत्ति रु ५०,००० भयो ।

कम्पनीले २०% राइट शेयर रु १०० का दरले जारी गर्यो र तपाइले उक्त राइट शेयर रु २००० (२० * १००) तिरेर खरिद गर्नुभयो । अब तपाईको सम्पत्ति कति भयो ? राइट शेयर खरिद पछी तपाईसंग जम्मा १०० * १.२ =१२० कित्ता शेयर भयो भने शेयर मुल्य समायोजन भएर (५०० + १०० * ०.२) / १.२ = रु ४३३.३३ प्रति कित्ता हुन्छ । जसबाट तपाईको जम्मा सम्पत्ति १२० * रु ४३३.३३ = रु ५२००० हुन आउछ जुन तपाईको राइट शेयर भन्दा अगाडिको रु ५०,००० बराबरको सम्पत्तिको मुल्य र राइट शेयरमा थप गरेको रु २,००० गरि जम्मा हुने रु ५२,००० बराबर हुन्छ । याद राख्नुपर्ने कुरा चाही के हुन्छ भने आफुले पाउने राइट शेयर खरिद गर्दा नाफा नभए पनि खरिद गरिएन भने चाही बजार मुल्य समायोजन हुने भएकोले घाटा बेहोर्नु पर्ने हुन्छ ।

याे पनि

सहकारीमा पर्ल्स अनुगमन प्रणाली

प्रतिक्रिया

सम्बन्धित