बैंकमा पैसा थुप्रिएको भए सर्वसाधारणलाई अप्ठ्यारो पर्दासमेत किन कर्जा नदिएको गभर्नरज्यू ?  अनुसा थापा

अनुसा थापा

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा कुनै समस्या नभएको ठोकुवा गर्दै आएका छन् । उनी भन्छन्,‘बैंकमा पैसा थुप्रियो । अर्थतन्त्र चलायमान भइसकेको छ । सहज गतिमा अघि बढिरहेको छ ।’ गभर्नर अधिकारी मुलुकको जिम्मेवार पदमा छन् । यद्यपि, उनलाई बजारमा के भइरहेको छ ? भन्ने जानकारी छैन । उनी हावादारीको भरमा बोल्छन् । सरकारी गाडी चढ्न र सेवा सुविधा लिनबाहेक अरू केही नजानेको व्यक्तिलाई जनताको अवस्था के थाहा ? 

बैंकमा त्यति नै पैसा थुप्रिएको भए अहिले पनि कर्जा किन ठप्प छ ? बैंकले त भटाभट कर्जा प्रवाह गर्नुपर्ने हो । हिजो घरजग्गा, गाडी र शेयरमा आँखा चिम्लेर लगानी गर्ने बैंक आज किन कर्जा बन्द गरेर बसेको छ त ? करोडौँको धितो राखेर लाख कर्जा लिन खोज्दा पनि बैंकले दिँदैन । पैसा छैन भनेर रित्तो हात फर्काइदिन्छ । बैंकले कर्जा दिएन भनेर सर्वसाधारणहरू व्यापक गुनासो गरिरहेका छन् । यता, बैंकले कर्जा उठाउनका लागि रातदिन ‘टर्चर’ दिइरहेको छ । 

कर्जा चुक्ता गरिदिन भनेर बैंकले बारम्बार फोन गरेर तनाव दिएका कुराहरू धमाधम बाहिर आइरहेका छन् । अनि राष्ट्र बैंकका गभर्नर अधिकारीले कुन मुखले बैंकमा पैसा थुप्रियो भनिरहेका छन् त ? कर्जा नपाएर यहाँ सर्वसाधारणलाई ‘मर्नु न बाँच्नु’ भएको छ । एउटा बैंकबाट लिएको कर्जा अर्कोमा सार्छु भन्दा पनि सर्वसाधारणले पाएका छैनन् । यदि बैंकमा त्यति नै पैसा थुप्रिएको भए भकाभक कर्जा दिन थाले हुन्छ । किन कि कोठामा थुपारेर पैसा बढ्ने होइन । 

त्यसका लागि त लगानी गर्नुपर्‍यो । असार मसान्त नजिकिँदै छ । जसका कारण ऋणीहरूको रातको निद्रा र दिनको भोक हराएको छ । बैंकले कर्जा चुक्ता गरिदिन भनेर ऋणीलाई च्यापेको च्यापै छ । चिठी काट्ने, फोन गर्ने, पत्रपत्रिकामा निकाल्नेलगायतका काम बैंकले गरिरहेको छ । ऋण चुक्ता गर्न सक्ने अवस्था अहिले कसैको पनि छैन । वास्तवमा भन्ने हो भने मान्छेसँग पैसा नै छैन । व्यापार व्यवसाय सबै सुकेको छ । बजारमा मन्दी छ । ऋण तिर्न साह्रो सास्ती भएको अवस्था छ । 

यति बेला ऋण पत्याउने पनि कोही छैनन् । व्यक्तिसँग ऋण लिएर चुक्ता गर्छु भनेर कल्पना नगर्दा पनि हुन्छ । सबै उही अवस्थाबाट गुज्रिरहेका छन् । एउटा बैंकको धितो अर्को बैंकमा सारेर ऋण चुक्ता गर्छु भन्दा पनि सम्भव छैन । अर्को बैंकले कर्जा नै दिँदैन । सबै बैंकले कर्जा उठाउन खोजेको छ । तर, कसैले पनि ऋण दिँदैन । धितो बेच्न किन्ने कोही छैनन् । कर्जा तिर्न गोजीमा सुको छैन । ऋणीहरू ‘पानी बिनाको माछा’ जस्तै भएका छन् । यद्यपि, गभर्नर अधिकारी यो कुरा बुझ्दैनन् । 

जति बेला पनि पैसा थुप्रियो भनेर भाषण मात्र ठोकिरहेका हुन्छन् । ऋणीहरू कुन अवस्थामा छन् ? यो कुरा गभर्नर अधिकारीले बुझ्दैनन् । बजारमा गम्भीर समस्या छ । सर्वत्र आर्थिक संकट छ । हरेकलाई अहिलेको अवस्थाबारे राम्रो जानकारी छ । तर, गभर्नर अधिकारीलाई चाहिँ यसबारे थाहा छैन्जस्तो छ । कि त आफ्नो पद जोगाउन उनले त्यसो भनेको हुनुपर्छ । नभए बैंक तथा वित्तीय संस्था र सर्वसाधारणको तत्कालको अवस्था छर्लङ्ग छ । घरजग्गाको किनबेच ठप्प छ । 

सबैभन्दा धेरै भीड हुने मालपोत कार्यालय अहिले सुनसान छ । सरकारले सबैभन्दा धेरै राजश्व घरजग्गाबाटै उठाउँदै आएको थियो । तर, घरजग्गाको कारोबारमा मन्दी आएसंगै राज्यको ढुकुटीमा पनि सुख्खाराम लागेको छ ।  यता, गाडी खरिदबिक्रीमा पनि कमी आएको छ । पहिलेजस्तो गाडीको किनबेच अहिले छैन् । यातायात कार्यालयहरु पनि सामसुम छन् । बजारमा घरजग्गा, गाडी र शेयर बेच्ने यत्तिकै छन्, किन्नेको संख्या शुन्य छ । पसलहरु पनि सुनसान देखिन्छ । 

दैनिक लाखौँको व्यापार गर्दै आएको पसलमा अहिले बनी हुन पनि मुस्किल छ । अर्थमन्त्री डा प्रकाशशरण महतले गभर्नर अधिकारीमाथि अर्थतन्त्र थप तहसनहस बनाएको आरोप लगाएका छन् । केही दिनअघि उनले एउटा सार्वजनिक कार्यक्रममा भनेका थिए,‘  गभर्नरको कारणले अर्थतन्त्र सुधार भएन, झन् डामाडोल बन्यो ।’ सरकारले लामो सोच राखेनन् । हतारोको निर्णयको प्रतिफल त अहिले सबैले भोगिरहेका छन् । छिटो नाफा कमाउनका लागि बैंक तथा वित्तीय संस्थाले घरजग्गा, शेयरमा लगानी गरे । 

यता, जनताले पनि आफूसँग भएको पैसा त्यही लगानी गरे । बैंक तथा वित्तीय संस्थालाई नियमन गर्न मुलुकमा यत्रो सरकारी निकाय छ । तर, कुनैले चासो नै देखाएनन् । अर्थ मन्त्रालय, राष्ट्र बैंक, सहकारी मन्त्रालय, सहकारी विभागले पहिल्यै बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी कहाँ गर्ने ? भनेर नियम बनाइदिनुपर्थ्यो । घरजग्गामा नभई औद्योगिक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुपर्थ्यो । बैंक तथा वित्तीय संस्थामाथि नियमित नियमन गरिराख्नुपर्थ्यो । 

विडम्बना, सरकारले छाडा छोडिदियो । आज त्यसको असर सबैले भोग्नुपरेको छ । बैंक तथा वित्तीय संस्थामा जम्मा भएका बचत सबै कर्जाका रूपमा घरजग्गामा गएर ‘फ्रिज’ भएको छ । उद्योग खोल्नुको साटो सबै जग्गा किनेर घर बनाउनतिर लागे । खेती याेग्य जमिन सबै मासिँदा देश परनिर्भर बनेको छ । दैनिक उपभोग्य वस्तुसमेत आयात गर्नुपरेको छ । व्यापार घाटा दिनहुँ बढिरहेको छ । उद्योग खोलिदिएको भए, नेपालकै रोजगारीको अवसर सिर्जना हुन्थ्यो । 

त्यो पनि गर्न सकिएन । बैंक तथा वित्तीय संस्थाका कारण आज धेरै जनताको उठीबास लागेको छ । एउटा क्षेत्रले लय छोड्दा मुलुक कतिसम्म तहसनहस बन्दो रहेछ भन्ने कुरा अहिले हाम्रोसामु स्पष्ट छ । बैङ्कको ९९ प्रतिशत कर्जा लगानी घरजग्गा, शेयर र गाडीमा छ । उद्योगमा त बैंक तथा वित्तीय संस्थाले लगानी नै गर्न चाहेनन् । रातारात धनी बन्न खोज्दा पूरा सहकारी क्षेत्रमाथि नै सङ्कट आइलागेको छ । सहकारीहरू भागेर बचतकर्ताहरू सडकमा ओइरिएका छन् । 

ऋणीहरूले ऋण तिर्न सक्दैनौँ भनेर हात उठाइसकेका छन् । ऋणीहरूले धितो लिलाम गर्नु भनिसकेका छन् । बैङ्कहरूले धितो बेच्न खोजिरहेको छ तर किन्ने कोही छैनन् । आफ्नै घर छ भनेर नाक ठुलो बनाएर हिँड्नेहरू अहिले डेरामा झरेका छन् । उनीहरूले घर बैंकलाई जिम्मा लगाइदिएका छन् । निजी गाडीमा चढ्नेहरू सार्वजनिक यातायात चढ्न थाले । ‘ऋण भनेको घिन हो’ भन्ने कुरा जनताले भर्खर थाहा पाइराखेका छन् । बरु पानी तताएर खानु तर बैंक तथा वित्तीय संस्थाबाट कहिले ऋण नलिनु । 

बैंक तथा वित्तीय संस्थाले च्याप्न थाल्यो भने मान्छे आत्महत्याको बाटोसम्म पुग्छ । घर बनाएर सर्ने बित्तिकै त्यो ‘सेकेन्ड ह्याण्ड’ हुन्छ । गाडी किनेर यातायात कार्यालयमा दर्ता गर्ने बित्तिकै त्यो पुरानो हुन्छ । बैङ्कहरूले नाफा कमायो भने त शेयरमा बोनस दिने हो । यी क्षेत्रको मूल्य नै छैन । सरकारले बैंक तथा वित्तीय संस्थालाई धमाधम लाइसेन्स बाँड्यो । कर आउँछ भनेर सरकार बुझ्दै नबुझी वित्तीय संस्था खोल्न इजाजत दियो । तर, उनीहरू गलत बाटो हिडिदिँदा आज जनता डुब्ने अवस्थामा पुगे । 

सहकारीले त लाखौँलाई डुबाइहाल्यो अब बैङ्कले कतिलाई डुबाउने हो ? बैङ्कले हल्ला फिँजाइरहेको छ भन्ने कुरा सर्वसाधारणलाई राम्ररी थाहा छ । बैंक आफू बच्नका लागि पैसा थुप्रिएको रणनीति गरेको सर्वसाधारणको ठहर छ । पैसा थुप्रिएको भनेपछि बचतकर्ताहरू निक्षेप निकाल्न आउँदैनन् र बचत गर्छन् भनेर बैङ्कले यस्तो खुरापाती दिमाग लगाएको हो । सहकारीले पहिले त्यही गर्थ्र्यो । हाम्रो आफ्नै भवन छ, हामी भाग्दैनौँ भनेर सहकारीले प्रेस विज्ञप्ति निकाल्थ्र्यो । सहकारीहरू त भागिहाल्यो, अब बैङ्कले जनतामा भ्रम नछरे पनि हुन्छ । 

 (याे लेखककाे निजी बिचार हाे )

अनुसा थापा, भक्तपुर 

प्रतिक्रिया

सम्बन्धित