बेलबारी बाख्रा काण्ड,केही भ्रम र यथार्थ

मोरङ । मोरङ जिल्लाको पूर्वोत्तर भेगमा रहेको बेलबारी नगरपालिका यतिबेला राष्ट्रिय स्तरमा चर्चाको शिखरमा छ । राम्रो कुराको चर्चा हुँदा गौरव महशुस हुनु स्वभाविक र सकरात्मक पक्ष हो । तरपनि पछिल्लो समय बेलबारीको चर्चा जुन तरिकाले भईरहेको छ,त्यसले सिंगो नगरबासीहरुलाई नै बेईज्जत महशुस गराएको छ । शिर निहुराउने अबस्था सिर्जना गराएको छ । बेलबारी नगरपालिकाले केही साताअघि किसानहरुलाई अष्ट्रेलियन फुल ब्लड बोयर जातको बाख्रा भन्दै बाँडेका बाख्राहरु बोयर जातको नभएको र बितरण समेत सही ढंगले नभएको भन्दै किसानहरुले नै आवाज उठाएपछि अहिले यो बिषय राष्ट्रिय स्तरमा समेत चर्चाको बिषय बनेको छ । स्थानीय स्तरदेखि राष्ट्रिय स्तरका मिडियाहरुले समेत यो बिषयलाई प्राथमिकतामा राखेका छन ।

दोस्रो चरणको कोरोना महामारीमा आम समुदाय रोग,शोक र भोक सँग लडिरहेका बेला बेलबारी नगरपालिका भने यतिबेला १ करोड २४ लाखको बोयर बाख्रा काण्डमा मुछिएको छ । १ करोड बढी रकमको चलखेल देखिएको बाख्रा काण्डका कारण बेलबारी फेरि एकपटक बदनाम भएको छ । बेलबारी नगरपालिकाले आर्थिक बर्ष २०७७ । ०७८ को नगर बिकास योजना अन्र्तगत पशुधन तथा वागवानी बिकास बोयर बाख्रा बिकास सहयोग कार्यक्रम अन्र्तगत २०७७ । ११ । २६ गतेको ६२ औँ बैठकबाट सार्बजनिक खरिद ऐन २०६३ सार्बजनिक खरिद नियमावली २०६४ अन्र्तगत रहि बिद्य’तिय खरिद प्रक्रियाबाट ठेक्का आब्हान गरी ग्रो अग्र्यानिक कृषि प्रा.लि संखुवासभा सँग सम्झौता गरी अष्ट्रेलियन फुल ब्लड बोयर बाख्रा ल्याउन कार्यदेश दिएको थियो ।

कोरोनाका कारण लकडाउन चलिरहेको समयमा बेलबारी नगरपालिकाले ट्रक मार्फत बाख्रा बेलबारी ल्यायो र बेलबारीका किसानलाई बितरण गर्यो । बितरण गरेकै दिन बितरणपछि (बेलबारीका मेयर सुवेदीको सचिवालय) नामको फेसबुक पेजबाट अष्ट्रेलियाबाट चार्टर गरि बेलबारी ल्याएर फुल ब्लड बोयर जातका ५२ ओटा पाठा र ३८ ओटा पाठी बितरण गरियो भनेर सार्बजनिक भयो । त्यसपछि बाख्रा पाएका र नपाएका केही किसानहरुले सामाजिक सञ्जालमा बाख्रा बोयर जातको नभन्दै प्रतिक्रिया दिन थाले । केही किसान र सचेत युवाहरुले फोन र म्यासेज गर्दै नगरपालिकाले गलत काम गरेको भन्दै सत्यतथ्य बुझि समाचार संप्रेषण गर्न आग्रह गर्नुभयो ।

१. बाख्रा बितरण भएको भोलिपल्ट जेठ १६ गते बिहान बेतना दैनिकमा पहिलोपटक (बेलबारी नगरपालिकाको बाख्रा काण्ड,नगरको चौतर्फी आलोचना ) शिर्षकमा समाचार प्रकाशित भयो । समाचार प्रकाशित भएको केही मिनेटमै बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले टेलिफोन गरी बाख्रा बितरणको बारेमा आफुलाई थाह नभएको र तत्काल अनुगमन गर्ने र भुक्तानी रोक्ने बताईन । सोही समाचार पनि बेतना दैनिकको अनलाईन संस्करणमै छापियो । त्यसपछि बोका काण्डले नयाँ तरंग उत्पन्न भयो । चौतर्फी बाख्रा काण्डको खोजी शुरु भयो । उपमेयर पराजुलीले बाख्रा बितरण भएकै दिन बेलुका बाख्रा बितरण गरेको तस्विर भने सामाजिक सञ्जाल फेसबुकमा राखेकी थिईन ।

त्यसपछि यस्तो महामारीका कसरी बाख्रा अष्ट्रेलियाबाट चार्टर गरेर ल्याईयो भन्ने बिषयमा खोजी शुरु भयो । सोही क्रममा बिगत २ बर्षदेखि अष्ट्रेलियाबाट कुनै पशुपँक्षि र जनावरहरु नेपाल नआएको पाईयो । अध्यागमन बिभाग देखि कृषि तथा पशुपक्षि शाखा हेर्ने मन्त्रालय हुँदै सम्बन्धित ब्यत्ति सम्म पुग्दा पनि बाख्रा नेपाल आएको रेकर्ड भेटिएन । सोही बमोजिम समाचारहरु प्रकाशन र प्रसारण हुन थाले । त्यतिबेलासम्म नगरपालिका चुप बस्यो । त्यसपछि बाख्रा कहाँबाट कसरी ल्याईयो भन्ने बिषय खोजियो । त्यसपछि केही ट्रक ब्यबसायी महासंघका साथीहरुको बिशेष सहयोगमा बेलबारीमा बाख्रा ल्याउने ट्रक,ट्रकका मालिक,चालक सम्म पुगियो । त्यसपछि उनले बाख्रा उठाएको नबलपरासीको डण्डा बजार सम्म पुगेपछि त्यहिको केशर एग्रो कृषि फार्मबाट बाख्रा उठाएको पत्ता लाग्यो ।

त्यसपछि बेतना दैनिकमा (नवलपरासीबाट बाख्रा ल्याउने चालकले खोले बाख्रा काण्डको नालीबेली ) शिर्षकमा समाचार प्रकाशित भयो । त्यसपछि बल्ल बेलबारी नगरपालिकाले बिज्ञप्ती प्रकाशित गरेर ग्रो अग्र्यानिक संखुवासभा र ठेकेदारले फँटाई गरेको र उनीहरुलाई कारबाही गर्ने,ठेक्का रद्ध गर्ने लगायतका बिषयहरु समेटी बिज्ञप्ती जारी गर्यो । त्यसपछि बसेको कार्यपालिका बैठकले बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीको संयोजकत्वमा बेलबारीका राजनीतिक दलका प्रतिनिधिहरु सदस्य रहनेगरी छानबिन समिति गठन गर्दै ७ दिनमा प्रतिबेदन पेश गर्न अनुमति दियो ।

समिति गठन भएपछि बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले प्रतिनिधि पठाउन माग गर्दै बेलबारीमा ठुला दलका रुपमा रहेका नेपाली काँग्रेस,नेकपा एमाले,एकिकृत माओबादी र जनता समाजवादी पार्टीलाई पत्र लेखे । अन्य दलले प्रतिनिधि पठाएपनि नेपाली काँग्रेसले प्रतिनिधि पठाउन अस्वीकार गर्यो । लगत्तै उपमेयर पराजुलीले आफु संयोजक नबन्ने भन्दै राजीनामा लेखिन । त्यसपछि बेलबारीका दलहरु एकपछि अर्को बिज्ञप्ती जारी गर्दै एकअर्कालाई नै दोषारोपण गर्न थाले । पहिलो छानबिन समिति कोल्याप्स भयो ।

त्यस बेलासम्म बेलबारीका सचेत युवाहरु सुजित बस्नेत,खेम गौतम,रिक्त गुरुंग,कमल सुब्बा,ऐश्वर्यप्रसाद आचार्य (बिपिन) लगायतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलय ईटहरीमा उजुरी दिईसकेका थिए । सचेत युवाहरु र सचेत नगरबासीहरुको खबरदारी निरन्तर जारी रहयो । यसबिचमा युवाहरुले बेलबारी नगरपालिकाको गेटअगाडी बोका सहित बिरोध प्रर्दशन,बेलबारीका मेयर,उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको पुत्ला दहन गर्नुका साथै बाख्रा काण्डको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै आईरहेका छन ।

बेलबारी नगरपालिकाले फेरि बेलबारी वडा नम्बर १ की सदस्य बिन्दुकला गुरुंगको संयोजकत्वमा छानबिन समिति गठन गर्यो । जसलाई पनि ७ दिनको म्याद दिईएको थियो । ७ दिनको म्याद लगभग पुगिसक्दा पनि प्रतिबेदन आउने छाँटकाँट देखिएको छैन । सोही समितिमा नेकपा एमाले सहभागी भएन । अख्तियारमा पुगेको मुद्धामा छानबिन आबश्यक नहुने भन्दै एमाले सहभागी छैन । काँग्रेस,माओबादी र जसपाले संयुक्त बिज्ञप्ती जारी गर्दै एमालेले आफनै नेतृत्वमा रहेको सरकारलाई सघाउन र बाख्रा काण्ड लुकाउन खोजेको भन्दै बिज्ञप्ती समेत प्रकाशित गरेका छन । बेलबारीमा राजनीतिक दलहरको जुहारीसमेत यो काण्डमा हेर्न लायक छ ।

बेलबारी बाख्रा काण्डमा नगरपालिका र ठेकेदार कम्पनीबिच जुहारी शुरु भएको छ । ठेकेदार कम्पनी बाख्रा फिर्ता पाउनुपर्ने बताईरहेको छ भने नगरपालिका बाख्रा फिर्ता नगर्ने सोचमा छ । खरिद ऐनमा भने बिक्रेताले बेचेको सामान क्रेतालाई चित्त नबुझेमा फिर्ता लैजान सक्ने कुरा उललेख छ । यो अर्थमा ठेकेदार कम्पनीले उपलब्ध गारएको बाख्रा कानुनी रुपमा लैजान पाउने ब्यबस्था रहेको छ । तरपनि नगरपालिका बाख्रा फिर्ता गर्ने पक्षमा छैन । ठेकेदार कम्पनी बाख्रा खरिदमा आफनो २३ लाख खर्च भएको र बाख्रा फिर्ता नदिए मुद्धा हाल्ने तयारीमा रहेको छ भने नगरपालिका कुनै हालतमा बाख्रा फिर्ता नदिने पक्षमा छ । यो बिषयले समेत नगरपालिका र ठेकेदार कम्पनी बिचको दुरी बढाएको छ ।

नगरबासी र सचेत युवाहरु बाख्रा काण्डको निष्पक्ष छानबिन नभए र दोषीलाई कारबाही नभए थप कानुनी बाटो अपनाउने पक्षमा रहेको छ । नगरपालिका समेत यस्तो गम्भिर बिषयमा सचेत र सजग बन्नुपर्छ । छानबिन समितिले छानबिन गरिरहेको र अख्तियारले समेत यो मुद्धा हेरिरहेका कारण पक्कै पनि दुधको दुध र पानीको पानी छुटिटएर आउने अपेक्षा गरौँ । यसबिचमा नगरपालिकाको समेत केही त्रुटिहरु चैँ अबश्य नै छन । यसतर्फ चाँहि नगरले पनि जवाफ दिनु आबश्यक देखिन्छ ।

१.नगरबासीहरुको आँखामा छारो हाल्ने र सस्तो लोकप्रियता कमाउने ध्याउन्न सामान्य बिधि र प्रक्रिया समेत नबुझी सचिवालयबाट गलत सुचना प्रकाशन र प्रसारण गर्नु ।

२.नगरपालिकामा कृषि तथा पशुपंक्षि शाखा हुँदाहुँदै बिना चेकजाँच बाख्रा ल्याउनु र बितरण गर्नु ।

३.कति बाख्रा कहाँकहाँ कुन किसानलाई बाँडिए,रेकर्ड नदिनु ।

४. वास्तविकता थाह भएर पनि नगरबासीहरुको आँखामा निरन्तर छारो हाल्न खोजिनु ।

५.वास्तविक कृषि फर्म र किसानलाई प्रभावकारी ढंगले बाख्रा बितरण नगर्नु ।

यि बिषयहरुमा नगरपालिकाले कमजोरी गरेको देखिन्छ । जानीजानि यस्ता बिषय लुकाउन खोज्दा बिभिन्न आशंकाहरु जन्मिनु स्वभाविक देखिन्छ । आशा छ,आगामी दिनमा यस्ता कमजोरी हुनै छैनन र सत्यतथ्य सार्बजनिक हुने नै छ ।

प्रतिक्रिया

सम्बन्धित