दमकमा प्रेमीले नै सेजलको बलात्कारपछि हत्या गरेको दाबी

झापा । झापाको दमकमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको दाबी गरिएको छ । इलाम मंगलबारेकी सेजलको उनकै प्रेमीले बलात्कारपछि हत्या गरेको पीडित परिवारको दाबी छ ।

पीडित परिवारले मंगलबार इलाका प्रहरी कार्यालय दमकमा सेजलको बलात्कारपछि हत्या गरिएको दाबी गर्दै जाहेरी दिएको छ । “प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको देखाउछ” सेजलका बुबा सरोज कोइरालाले भने, “आज बलात्कारपछि हत्या गरेको दाबी गर्दै जाहेरी दिएको छौं, प्रहरीले थप प्रमाण जुटाएर दोषीलाई कानुनअनुसार कारबाही गर्नेपर्ने हाम्रो माग छ ।”

सेजल दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन । उनको गत बिहीबार मृत्यु भएको थियो । दमक प्रहरीले हत्यामा संलग्न रहेको आरोमा सेजलका प्रेमी स्थायी ठेगना भोजपुर घर भई हाल दमकमा बसोबास गर्ने अरुण राईलाई नियन्त्रणमा लिएको छ ।

“बिहीबार दिउँसो नै छोरीको हत्या भएको रहेछ” बुबा कोइरालाले भने, “हत्या पश्चात कोठामा चाबी लगाएर बाहिर निस्केको र फेरी कोठामा गएर आफैँले हस्पिटल लगेको प्रहरीको अनुसन्धानबाट देखिन्छ ।” सेजल दमक नगरपालिका–५ स्थित डेरामा बसेको घरको बाथरुममा बोहोस अवस्थामा फेला परेकी थिइन् । सेजललाई उपचारका लागि लाइफलाइन अस्पताल पु¥याएलगत्तै चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।

सेजलको मृत्युबारे प्रहरीले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन । घटना रहस्यमय भएकाले अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । हत्याको कारण भने अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । बलात्कार पछि हत्या गरेको आरोपमा मुलुकी अपराध संहिता २०७४मा व्यवस्था भए अनुरुप बलात्कारमा १० वर्ष र हत्यामा २५ वर्षसम्म जेल सजाय हुने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित