सुन्दरहरैचाका विष्णु ऋषिदेवको निद्रामै बिभत्स हत्या

सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–३ लोचनीका ४० वर्षीय विष्णु ऋषिदेव विहान उठेर ज्याला मजदुरीका लागि जान्थे । शुक्रबार विहान उनी उठेनन् ।छिमेकीले गएर हेर्दा ओछ्यानमै बीभत्स अवस्थामा शव भेटियो । शव भेटिएपछि अनसन्धान सुरु गरेको प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ ।विष्णु बिहीबार बेलुका भाइ अकालुको घरमा खाना खाएर आफ्नै घरमा आएर सुतेका थिए । टिनको छानो भएको र टाटीको बेरा लगाएर बनाइएको झुप्रो घरभित्र सुतेका उनी ब्यूँझिनै पाएनन् । उनको निद्रामै हत्या भयो ।
धारिलो हतियार बाम्फोक (दाउ)ले घाँटीको अगाडिको भागमा काटेर क्षतविक्षत बनाउँदै हत्या गरिएको अवस्थामा विष्णुको शव घरभित्र खाटको ओछ्यानमा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।डिएसपी राईका अनुसार गछिया खोला छेउको ऐलानी जग्गामा रहेको घरमा उनी एक्लै बस्थे । हत्याको जानकारी पाएर बिहान ७ बजेतिर प्रहरी पुग्दा घटनास्थल रगताम्य थियो ।
उनको हत्यामा संलग्न २३ वर्षीय पुजन राई पक्राउ परेका छन् । पहिल्यैदेखि रिस उठेकाले बाम्फोकले हानेर हत्या गरेको उनले बयान दिएका छन् । तर पुरानो रिसईबी के थियो भन्ने नखुलाएको प्रहरीले नजाएको छ । हत्यामा प्रयोग गरिएको हतियारसहित पक्राउ परेका राईविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउनका लागि म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइने जानकारी प्रहरीले दिएको छ । मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङ नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित