औषधि महँगोमा बेच्नेविरुद्ध मुद्दा, विभागकै संरक्षणमा कालोबजारी

विराटनगर / बिरामीलाई महँगो मूल्यमा औषधि बिक्री गर्ने विराटनगरको एउटा फार्मेसीका सञ्चालकविरुद्ध मुद्दा चलाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीले विराटनगर महानगरपालिका–३ स्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालनजिक सञ्चालनमा रहेको पश्चिमवासी फार्मेसीका सञ्चालक २२ वर्षीय रवीन्द्र महतोमाथि अनुसन्धान थालेको हो ।

उनी बिहीबार पक्राउ परेका थिए । रवीन्द्रविरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम कारबाही अघि बढाउन शुक्रबार म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
उनका अनुसार सिरहाको धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टी घर भएका रवीन्द्र विराटनगरमा फार्मेसी सञ्चालन गरेका बसेका छन् । सिरहाको बरियारपट्टी गाउँपालिका–३ का ४५ वर्षीय रामनारायण मुखियाले बुहारी सपना मुखियालाई प्रसूतिका लागि वैशाख २५ गते अस्पताल भर्ना गरेर ३० गतेसम्म राखेका थिए ।

बुहारीलाई आवश्यक पर्ने औषधि खरिद गरेका रामनारायणसँग फार्मेसी सञ्चालकले १७ हजार आठ सय ८९ रुपैयाँ बढी लिएको पाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । उनका अनुसार औषधिको मूल्य ३५ हजार चार सय ५६ रुपैयाँ लिनुपर्नेमा रामनारायणसँग ५३ हजार तीन सय ४५ रुपैयाँ लिएको खुलेको छ । ‘फार्मेसी सञ्चालकले औषधि खरिद गर्ने ग्राहाकका नाममा दुईवटा खाता बनाउने गरेको पाइयो,’ एसपी खड्काले भने, ‘एउटामा वास्तविक मूल्य लेख्ने र अर्कोमा बढी मूल्य उल्लेख गरेर ग्राहाकसँग पैसा लिने गरेको पत्ता लागेको छ ।’ फार्मेसी सञ्चालक रवीन्द्रका दुवै खाता प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगरबाट पक्राउ परेका फार्मेसी सञ्चालक रवीन्द्र महतो र उनको फार्मेसीबाट प्रहरीले नियन्त्रणमा लिएको खाता ।

प्रहरीले उनीबाट ठगीमा परेका सर्वासाधारणको विवरण निकाल्न दुवै खाताको अध्ययन थालेको छ । ४० रुपैयाँपर्ने औषधिलाई एक सय ४० रुपैयाँसम्ममा बिक्री गरेको फेला परेको एसपी खड्काले बताए । ‘कोरोना महामारीको चपेटामा परिरहेका सर्वसाधारणलाई महँगो मूल्य लिएर औषधिमा कालोबजारी गरिरहेको पाइयो,’ उनले भने, ‘बजार मूल्यभन्दा बढीमा औषधि बिक्री गरेको गुनासोका आधारमा अनुसन्धान थाल्दा औषधिमा भइरहेको कालोबजारीको नयाँ तथ्य फेला प¥यो ।’

गोलबजार फार्मेसीका सञ्चालक छुटे

औषधिमा बढी मूल्य लिएको सूचनाका आधारमा प्रहरीले गोलबजार फार्मेसीका सञ्चालक जितेन्द्र महतोलाई पनि पक्राउ गरेको थियो । गोलबजार पनि रवीन्द्रले चलाएको पश्चिमवासी फार्मेसी छेउमै छ । किटानी जाहेरी नपरेपछि कारबाही अघि बढाउन नसक्दा जितेन्द्र भने छुटेका छन् । प्रहरीका अनुसार २६ दिन अस्पताल बसेका बिरामीको उपचारमा चार लाख ५५ हजार रुपैयाँको औषधि प्रयोग भएको भन्दै आफन्तलाई बिल थमाएको आरोप जितेन्द्रमाथि थियो ।
प्रयोग भएको भन्दा औषधिको मूल्य धेरै आएपछि बिरामीका आफन्तले प्रहरीमा खबर गरेका थिए ।

उनले ठगी गरेको भनिएका बिरामीको निधन शुक्रबार बिहान भएको छ । त्यसपछि जाहेरी दिन आफन्त आएनन् । ‘जाहेरी नपरेपछि कारबाही अघि बढाउन आधार भएन,’ प्रहरी स्रोतले भन्यो, ‘थप अनुसन्धानभने जारी राखिएकाले नयाँ विषय केही खुलेमा पुनः पक्राउ गरेर कारबाही गरिने छ ।’ प्रहरीका अनुसार मोरङको पथरीशनिश्चरेका ८४ वर्षीय पूर्णबहादुर लिम्बूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

२६ दिनसम्म अस्पताल राख्दा परिवारका सदस्यले गोलबजार फार्मेसीबाट औषधि खरिद गरेका थिए । पूर्णबहादुरको शुक्रबार बिहान घरमै निधन भएको जानकारी प्रहरीलाई प्राप्त भएको छ । ‘औषधि बिक्री गरेको भनिएका बिरामीकै मृत्यु भइसकेकाले परिवारका सदस्य मृत्युपछिको संस्कारमा लागे,’ स्रोतले भन्यो, ‘जाहेरी दिन आउन नपाएपछि पक्राउ परेका फार्मेसी सञ्चालक त्यत्तिकै छुट्ने अवस्था बन्यो ।’

बद्मासी गर्नेलाई विभागकै संरक्षण

मुलुक संकटमा परिरहेका बेला औषधिको नियमन गर्ने निकाय औषधि व्यवस्था विभाग भने बद्मासी गर्ने फार्मेसीको संरक्षकको भूमिकामा देखिएको छ । कोरोना महामारीका बेला औषधिमा कालोबजारी बढेको जनगुनासो प्रहरी र विभागमा पुगिरहेको छ । प्रहरीले बढी मूल्य लिएर औषधि बिक्री गर्नेलाई पक्राउ गरिरहँदा विभाग भने मौन छ । विभागले बद्मासी गर्ने फार्मेसीलाई कारबाहीका लागि कुनै चासो नदिएको र उसकै संरक्षणमा कालोबजारी मौलाएको गुनासो पीडित पक्षको छ ।

‘विभागकै ‘सेटिङ’मा बिरामीलाई फार्मेसीले महँगो मूल्यमा औषधि बिक्री गर्ने गरेको पाइयो,’ एक बिरामीका आफन्तले भने, ‘सम्बन्धित निकायकै संरक्षण पाएपछि कालोबजारी मौलाउनु स्वभाविक हो ।’ उनले कोरोनाको महासंकटका बेला औषधि बिक्रीका नाममा बद्मासी गर्नेलाई कारबाहीको दायरामा ल्याउन नचाहनु विभागको ठूलो लापरबाही र गम्भीर विषय भएको बताए । भने, ‘निम्न आर्थिक अवस्था भएका बिरामीसँग औषधि बिक्रीका नाममा फार्मेसीले चर्को मूल्य लिइरहँदा विभागले मौन स्वीकृति दिएको देखिन्छ ।

राज्यकै संरक्षणमा औषधिमा कालोबजारी मौलाउँदा सर्वसाधारण जनता मारमा परिरहेका छन् ।’ विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले औषधिमा प्रभावकारी ढंगले निगरानी बढाइएको र बद्मासी गर्ने कसैलाई संरक्षण नगरिने बताए । ‘औषधि लगायत स्वास्थ्य सामाग्रीमा कालोबजारी बढेको गुनासो आएको छ,’ उनले भने, ‘सबै पक्षसँग समन्वय गर्दै अनुगमन गरेर बद्मासी गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित