भोक्राहा नरसिंहका अध्यक्षलाई पूर्पक्षको लागि थुनामा पठाउने अदालतको आदेश

इनरुवा /भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई पूर्पक्षको लागि थुनामा पठाइएको छ । जिल्ला अदालत सुनसरीले यादव उपरको मुद्दामा पूर्पक्षको लागि थुनामा राख्ने आदेश सुनाएको श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताउनु भयो । श्रेष्तेदार पोखरेलले जिल्ला न्यायाधीश टिकेन्द्र दाहालको इजलासले यादवलाई पूर्पक्षको लागि थुनामा पठाउने आदेश सुनाएको जानकारी दिनुभयो ।

आइतबार मुद्दा दर्ता भएपछि अदालतमा यादवको आज बयान लिइएको थियो । त्यसपछि सुरु थुनछेक बहस पश्चात अदालतले पूर्पक्षका लागि झुम्का कारागार पठाउने आदेश सुनाएको पोखरेलले बताउनु भयो ।

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष समेत रहेका यादव बैशाख ८ गते धरान–भेडेटार लाइनको डुकु होटल एण्ड लजबाट किशोरी करणीमा संलग्न अवस्थामा रंगेहात पक्राउ परेका थिए ।
पीडित पक्षको जोहेरीका आधारमा इप्रका धरानले यादव विरुद्ध जबरजस्ती करणीको मुद्दा चलाएको थियो । म्याद थप गर्दै प्रहरी हिरासतमा राखेको प्रहरीले अनुसन्धान सकेर मिसिल सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सोही मिसिलका आधारमा अभियोग पत्र तयार पारी जिल्ला सरकारी वकिलको कार्यालय इनरुवाले यादवलाई प्रतिवादी बनाई अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित