संक्रमितको शव व्यवस्थापन गर्ने सेनाको टोली विराटनगरमा

विराटनगर / कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शवलाई सुरक्षितसाथ व्यवस्थापन गर्नका लागि परिचालन गरिँदै आएको नेपाली सेनाको ‘बडी व्यवस्थापन’ टोलीलाई विराटनगरमा ल्याएर राखिएको छ । यसअघि टोलीलाई गाडीबाट लगभग ४० मिनेटको दूरीमा रहेको मोरङको कटहरी गाउँपालिका–४ स्थित थलाहामा राखिँदै आएको थियो । विराटनगरका अस्पतालमा र होम आइसोलेसनमा पनि विराटनगरमै कोरोना संक्रमितको मृत्यु धेरै भइरहेको छ ।

सेनाले दैनिक १० वटासम्म शवको व्यवस्थापन गरिरहेको छ । संक्रमितको मृत्यु भएको जानकारी पाएपछि तयार भएर आउन नै समय लाग्ने र बेलैमा शवको व्यवस्थापन गर्न गाह्रो भएर अवस्था जटिल बन्न थालेपछि टोलीलाई विराटनगर ल्याएर राखिएको मोरङको थलाहास्थित नेपाली सेनाको भैरव गणका गणपति एवं प्रमुख सेनानी गणेश रावलले जानकारी दिए । उनका अनुसार संक्रमितको शव व्यवस्थापनमा चार÷चार जनाको दुईवटा टोली खटिँदै आएको छ ।

टोलीलाई छुट्टै आइसोलेसनसहित विराटनगरमा रहेको नेपाल रेडक्रस सोसाइटीको भवनमा राखिएको जानकारी रावलले दिए । यो टोली दुई साताका लागि मात्रै विराटनगर बस्ने छ । त्यसपछि अर्को टोलीले पालो दिएसँगै क्वारेन्टाइनमा बस्न जान्छ । संक्रमितको शव व्यवस्थापन गर्ने टोली प्रत्येक १५÷१५ दिनमा परिवर्तन गरिने प्रमुख सेनाले रावलको भनाइ छ । शव व्यवस्थापन चाँडै गर्न सकियोस् भनेर टोलीलाई विराटनगरमै ल्याएर अलग्गै राखिएको उनले बताए । टोली विराटनगरै आएर बसेपछि संक्रमितको शव व्यवस्थापनमा भएरहेको असहज परिस्थितिको अन्त्य र समयको बचत तथा व्यवस्थापन समयमै हुने अपेक्षा गरिएको छ । मृत्यु भएका संक्रमितको शव व्यवस्थापनमा सेनाले प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ ।

रेडक्रसको भवनमा सेनाको टोलीमात्रै राखिने र अरु बाहिरका कोहीसँग पनि सम्पर्क नहुने जानकारी रावलले दिए । उनले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नेपाली सेनाले नेपाल–भारत सीमा क्षेत्रमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु पनि गरिरहेको बताए ।

विराटनगरको रानीमा ‘होल्डिङ सेन्टर’ बनाइँदै

विराटनगरको रानीमा एक हजार क्षमताको ‘होल्डिङ सेन्टर’ बनाउने प्रक्रिया अघि बढाइएको छ । विराटनगर जुट मिल्सको खाली तथा अतिक्रमित जग्गालाई सदुपयोग गर्दै ‘होल्डिङ सेन्टर’ बनाउन लागिएको हो । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको विराटनगर महानगरपालिकाभित्र ‘होल्डिङ सेन्टर’ बनाउन नसकेको भनेर प्रदेश १ सरकारको आलोचना भइरहेको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार जिल्ला सुरक्षा समिति मोरङको बैठकबाट ‘होल्डिङ सेन्टर’ बनाउने निर्णय भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार जुट मिल्सको खाली तथा अतिक्रमित तीन बिघा जग्गामा सेन्टर बनाउन सिफारिस गरिसकिएको छ । माथिबाट अनुमति प्राप्त भएपछि बनाउने काम तत्काल सुरु गर्ने योजना रहेको उनको भनाइ छ ।
‘छिमेकी मुलुक भारतबाट आउनेहरुलाई ‘होल्ड’ गरेर राख्नका लागि ‘सेन्टर’को आवश्यकता थियो,’ प्रजिअ निरौलाले भने, ‘आफन्त, परिवारका सदस्य तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर उनीहरुलाई पछि जिम्मा लगाइने गरी त्यहाँ राखिने छ ।’ भारतबाट आउनेहरुको सुरुमा रानी नाकाको हेल्थ डेक्समा एन्टिजेन परीक्षण गरिने छ ।

रिपोर्ट पोजिटिभ आएमा उपचारका लागि लगिने र नेगेटिभ आएमा ‘सेन्टर’मा राख्दै जिम्मा लिन आउन परिवारका सदस्य तथा सम्बन्धित स्थानीय तहलाई खवर गरिने निरौलाको भनाइ छ । केही दिनदेखि रानी नाका हुँदै भारतबाट दैनिक २० जनाभन्दा बढी नेपाल प्रवेश गरिरहेका छन् । यसअघि दैनिक दुई सयभन्दा बढी आउने गरेका थिए ।

भारतबाट आएकालाई ‘सेन्टर’मा खानपिनसहित कम्तीमा १२ दिनसम्म राख्ने व्यवस्था मिलाइने मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ‘भारतबाट आएका तर बाहिरका जिल्ला घर भएकाहरु अलपत्र नपरुन् भनेर ‘होल्डिङ सेन्टर’ बनाउन लागिएको हो,’ उनले भने, ‘यसले कोरोनाको भयावह अवस्थामा भारतबाट फर्किएकाहरुलाई ठूलो राहत मिल्ने छ ।’ ‘होल्डिङ सेन्टर’ बनाउँदा बाहिरी जिल्लाका नागरिकलाई सहज हुने र संक्रमण फैलने जोखिम पनि कम हुने एसपी खड्काले बताए ।

प्रदेश १ सरकारको सहयोगमा अहिले विराटनगरमा ७५ जना क्षमताको मात्रै ‘होल्डिङ सेन्टर’ सञ्चालनमा छ । यसको सुरक्षामा नेपाली सेना खटाइएको छ । यसअघि ‘होल्डिङ सेन्टर’ नहुँदा भारतबाट आएकाहरु सिधै गाउँघर पुग्ने गरेका थिए । भारतबाट आएकाहरु कै कारण कोरोना संक्रमण तीव्र रुपमा फैलिएको पाइएपछि एक हजार क्षमताको ‘होल्डिङ सेन्टर’ बनाउन लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित