वी.पी. प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको जटिल शल्यक्रिया

इटहरी / वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित पुरुषको जटिल किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । कल्याणपुर, सिराहाका ४० वर्षिय पुरुषको आज विहान आकस्मिक शल्यक्रिया गरिएको हो ।

उक्त विरामीलाई पेट फुलेर ज्यादै दुख्नुका साथै जोरो, खोकी, वान्ता, श्वासप्रश्वासको समस्या देखापरी कर्जाना, सिराहाको फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारको निम्ति जाँदा त्यहाँ PCR Positive देखिएपछि थप उपचारका लागि वैशाख २६ गते प्रतिष्ठानको कोभिड अस्पतालमा रेफर गरिएको अस्पतालले जनाएको छ ।

कोभिड अस्पतालमा थप जाँचहरु गर्दा सानो आन्द्रामा छिद्र देखा परेको र पेटमा संक्रमण फैलिएको हुँदा जनरल सर्जरी विभागका डा. निर्मल प्रसाद शाहको नेतृत्वमा आकस्मिक शल्यक्रिया गरिएको थियो । त्यसमा सर्जरी विभागका डा. विजय श्रेष्ठ, डा. सन्दीप खनाल, डा. सुनिल जैसवाल, डा. राजन सुवेदी तथा एनेस्थेसियाका डा. विशाल देव, डा. राजेश प्रजापतिका साथै नर्स सुरभी राई, मनिला मगर, हेल्पर सरोज कार्कीको टिमले उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका थिए ।

कोरोनाको दोस्रो लहर शुरु भएयता पूर्णरुपमा बेहोस पारी अस्पतालमा अवस्थित शल्यक्रिया कक्षमा शल्यक्रिया भएको यो नै पहिलो हो ।

प्रतिक्रिया

सम्बन्धित