राजस्व छलीको अनुसन्धान नै शंकाको घेरामा

विराटनगर / विराटनगर भन्सार कार्यालयका कर्मचारी, एजेन्ट र एजेन्टका प्रतिनिधिको ‘सेटिङ’मा हुने गरेको राजस्व छली सम्बन्धी अनुसन्धान नै शंकाको घेरामा परेको छ । विराटनगरबाट प्रहरीले राजस्व छलीमा प्रयोग गरिएका दुईवटा ट्याक्टर र चालकलाई सामानसहित पक्राउ गरेर कारबाहीका लागि राजस्व कार्यालय इटहरीमा बुझाएको थियो । तर राजस्व कार्यालयका कर्मचारी नै त्यसमा संलग्नलाई बचाउने चलखेलमा लागेपछि अनुसन्धान शंकास्पद बनेर गएको हो ।

भारत तथा तेस्रो मुलुकबाट सामान आयात गर्दा प्रष्टसँग राजस्व छली गरेको प्रमाण फेला परे पनि भन्सार कार्यालयका कर्मचारी र एजेन्टलाई कारबाहीका लागि छानबिन एवं अनुसन्धानको दायरामा ल्याइएको छैन । हिरासतमा राखेर अनुसन्धान गर्नुपर्नेमा पक्राउ गरिएका ट्याक्टरका चालकलाई पनि छाडिसकिएको पाइएको छ । स्रोतका अनुसार तस्करीको सामानसहित पक्राउ परेकालाई छाडिनुले प्रमाण नष्ट गर्ने मौका मिलेको प्रष्ट हुन्छ । कागजी प्रक्रिया पूरा गरेजस्तो देखाएर निर्वाध रुपमा भन्सारबाटै हुने तस्करी एवं राजस्व चुहावटमा संलग्नलाई जोगाउन राजस्व कार्यालय इटहरीका प्रमुख दीपक खड्काले सक्रिय भूमिका खेलिरहेको स्रोतको दाबी छ । प्रमाण नष्ट गर्न बाटो खुला बनाइदिनु, यसमा संलग्न अरुलाई नियन्त्रणमा नलिनु र कारबाहीका लागि छानबिन एवं अनुसन्धान प्रभावकारी ढंगबाट नगरिनुले यसको पुष्टि हुन्छ ।

तस्करी एवं राजस्व छलीका सामान रहेको आशंकामा प्रहरीले वैशाख ११ गते साँझ विराटनगर महानगरपालिका–१२ रोडशेष चोकबाट ‘फुड सप्लिमेन्ट’का सामाग्री लोड गरिएको बीआर ३८ सी २८९१ नम्बरको ट्याक्टरलाई चालक विनोद यादवसहित नियन्त्रणमा लिएको थियो । त्यसको केही बेरमै विराटनगर–१६ रानीबाट अर्को बीआर ३८ जे ८४५४ नम्बरको ट्याक्टरलाई चालक पप्पु यादवसहित प्रहरीले पक्राउ ग¥यो । उक्त ट्याक्टरमा भने हवनमा प्रयोग हुने भनेर उल्लेख गरिएका सातवटा व्यवसायिक फार्मका सामाग्री थिए ।

प्रज्ञापन–पत्रमा उल्लेख भएभन्दा बढी सामान हालेर ल्याइएको ‘फुड सप्लिमेन्ट’ लोड गरिएको ट्याक्टर ।

विराटनगर भन्सार कार्यालयबाट जाँचपासको प्रक्रिया पूरा गरेर गन्तव्यतर्फ लागेका ट्याक्टरलाई प्रज्ञापन–पत्रमा तोकिएको भन्दा बढी परिणामको सामान रहेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि बुझाएको थियो । ट्याक्टरलाई भन्सारले गेट पाससहित गन्तव्यमा पुग्ने अनुमति दिएको पाइएको छ । राजस्वले अनुसन्धान गर्ने क्रममा प्रज्ञापन–पत्रमा उल्लेख भएको भन्दा बढी परिणामको सामान र अरु नै सामग्री राखेर ल्याइएको खुलेको छ । एउटै बिलविजकमा दोहोरो मालवस्तु भित्रयाउने र सामानको न्यून मूल्यांकन गर्ने गरिएको पनि फेला परेको स्रोतले बतायो ।

राजस्व प्रमुख खड्काले हवनको सामान रहेको भनिएको र एजेन्ट चेतनाथ पौडेलले जाँचपास गराएको ट्याक्टरमा सिलाई मेसिन, बिजुलीको स्वीच, ट्याक्टरका पार्टसहरु, गमलगायत फेला परेको बताए । उनका अनुसार शारीरिक क्षमता बढाउने ‘फुड सप्लिमेन्ट’का सामाग्री रहेको र एजेन्टका प्रतिनिधि अरविन्द ठाकुरले जाँचपास गराएको अर्को ट्याक्टरमा भने प्रज्ञापन–पत्रमा उल्लेख भएभन्दा अरु सामान पनि फेला प¥यो । मारुती ट्रेड कन्सर्न विराटनगरको १० वटा ‘आइटम’को मात्रै प्रज्ञापन–पत्र रहेको ट्याक्टरमा १४ प्रकारका सामान भेटिएको खड्काले बताए । प्रज्ञापन–पत्रमा उल्लेख नै नभएका योग प्रो प्रोटिन पावर, करोटेन प्लस प्रोटिन पावर, केबीक्यू ट्याब्लेट फुड सप्लिमेन्ट र कडिवोन ट्याब्लेट फुड सप्लिमेन्टसमेतका सामान पनि ट्याक्टरमा भेटिएपछि भन्सार कार्यालयकै मिलेमतोमा भइरहेको राजस्व छली बाहिर आएको हो । स्रोतका अनुसार बढी सामान फेला परेपछि आफ्ना कमजोरी ढाकछोप गर्न र कारबाहीबाट जोगिन भन्सारका कर्मचारी तथा भन्सार एजेन्ट सक्रिय भएर लागेका छन् । उनीहरुलाई कारबाहीबाट बच्ने गरी कागजपत्र मिलाउने विषयमा राजस्वका कर्मचारीले सहयोग गरिरहेको बताइएको छ ।

तर दुई पटक लग्दा पनि अदालतले म्याद दिन मिलेन भनेर फर्काइदिएपछि हिरासतमा राखेर अनुसन्धान गर्न नपाउँदा चालकलाई छाड्नुपर्ने अवस्था आएको खड्काले बताए । कानुन अनुसार नै चालकलाई तारेखमा छाडेर आधार तथा प्रमाणका आधारमा कारबाही गर्न प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।
भन्सारबाट सबै विवरण मगाएर खरिदबिक्री र अन्य अवस्थाको पनि विश्लेषण गर्दै अनुसन्धान अघि बढाइएको दाबी खड्काले गरे । राजस्व छलीको उदेश्यले ल्याइएका सामाग्री जफत गरेर भन्सारमा लाग्ने सबै करहरु जोडेर यकिन गर्दै मुद्दामा त्यो बराबरको विगो मागदावी गरिने खड्काको भनाइ छ । उन्मुक्तिका लागि कुनै चलखेल नभएको जिकिर गर्दै उनले छानबिन र अनुसन्धान नियम अनुसार नै भइरहेको बताए ।

अनुसन्धानका सबै प्रक्रिया सकेपछि संलग्नता पुष्टि भएमा भन्सारका कर्मचारी तथा एजेन्टविरुद्ध विभागीय कारबाही र विगो अनुसार मुद्दा दायर हुने खड्काले बताए । संलग्नता पुष्टि हुँदा भन्सार एजेन्टको लाइसेन्स पनि रद्ध हुने उनको भनाइ छ ।तर ढिलो गरेर अदालत उपस्थित गराइएका कारण म्याद थप नभएपछि त्यसको बहानामा चालकलाई छाड्दै उल्टै प्रमाण नष्ट गर्न सहयोग पुग्ने र अनुसन्धान नै प्रभावित हुने गरी चलखेल गर्न थालिएको स्रोतले बतायो । यसमा मुछिएका सबैसँग वयान लिँदै कारबाही अघि बढाउनुपर्नेमा त्यसो नगरिएपछि राजस्व छलीको अनुसन्धान प्रारम्भिक चरणदेखि नै शंकास्पद बनेर गएको छ ।

कानुनी छिद्रको प्रयोग गरेर प्रक्रियागत रूपमा तस्करी गर्नेलाई सहज बनाइदिनेतर्फ राजस्वका कर्मचारी केन्द्रित बनेका हुन् । जोगाउने र कारबाहीबाट उन्मुक्ति दिलाउने भूमिकाका कारण भन्सारकै मिलेमतोमा हुने तस्करी तथा राजस्व छली नियन्त्रणमा आउने सम्भावना कमजोर बनेर गएको छ ।
दुवै ट्याक्टरको प्रज्ञापन–पत्रमा विराटनगर भन्सार कार्यालयका प्रवक्ता एवं भन्सार अधिकृत सन्तोष यादवले हस्ताक्षर गरेको बताइएको छ । तर उनले आफ्नो हस्ताक्षर नभएको दाबी गरे । हस्ताक्षर गर्ने कर्मचारीका बारेमा पनि उनले खुलाउन मानेनन् । उल्टै यादवले राजस्व छलीमा भन्सारका कर्मचारीको संलग्नता र एजेन्टसँगको मिलेमतो सम्भव नरहेको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित