लक्ष्यभन्दा बढी मुद्दा फैसलामा केन्द्रित बन्दै विराटनगर उच्च अदालत

विराटनगर / उच्च अदालत विराटनगर दर्ता भएका मुद्दाको फैसला लक्ष्यभन्दा बढी गर्नेतर्फ केन्द्रीत भइरहेको पाइएको छ । अदालतले चालु आर्थिक वर्षमा ६८ प्रतिशत मुद्दा फर्छौटको लक्ष्य लिएको थियो । नौ महिनाको अवधिमा ५१ प्रतिशत फर्छौट भइसकेको अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले बताए । उनका अनुसार लक्ष्य पूरा गर्न अबको तीन महिनामा १७ प्रतिशत मुद्दाको फैसला हुनुपर्छ ।

तर कोरोना संकटले काम कारबाही प्रभावित बन्दा पनि ५१ प्रतिशत मुद्दा फैसला गर्न सफल भएको उच्च अदालत अब लक्ष्यभन्दा बढी मुद्दा फर्छौट गर्नेतर्फ अघि बढेको हो । थपलियाले कोरोना महामारीमा सबै क्षेत्र ठप्प हुँदा पनि ५१ प्रतिशत मुद्दा फैसला हुनुलाई अदालतले उल्लेख्य प्रगति हाँसिल गरेका रुपमा लिनुपर्ने बताए । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा एक हजार सात सय ६३ मुद्दाको फैसला भइसकेको छ ।

उच्च अदालत विराटनगरमा चैत मसान्तसम्ममा तीन हजार चार सय ६९ मुद्दा दर्ता भएका थिए । जसमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका एक हजार छ सय ७० र चालुमा दर्ता भएका एक हजार सात सय ९९ मुद्दा छन् । जिम्मेवारी सरेर आएका र चालु आर्थिक वर्षमा दर्ता भएकासहित अब एक हजार सात सय छ वटा मुद्दा फर्छौट हुन बाँकी रहेको जानकारी रजिष्ट्रार थपलियाले दिए । उनका अनुसार जिम्मेवारी सरेर आएका सबै र नयाँ दर्ता भएका समेत गरेर ६८ प्रतिशत मुद्दा फैसला गर्ने लक्ष्य अदालतको छ ।

‘छिटोछरितो र गुणस्तरीय न्याय दिने उदेश्य लिएर अदालत अघि बढिरहेको छ,’ थपलियाले भने, ‘त्यही भएकाले लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्नेतर्फ अदालत केन्द्रित छ ।’ चालु आर्थिक वर्षको केही महिना कोरोनाका कारण सबै क्षेत्र ठप्प भएर न्यायालयको काम कारबाही प्रभावित हुँदा समेत मुद्दाको फर्छौटमा भने निक्कै प्रगति हाँसिल गर्न सकिएको जानकारी उनले दिए ।

कोरोनाकै कारण साउन, भदौ, असोज, कात्तिक र मंसिरमा मुद्दा फर्छौटको अवस्था कमजोर थियो । तर अवस्था सामान्य बन्दै गएर नियमित बेन्च बस्न थालेपछि पुसदेखि फैसलाले गति लिएको उनले बताए । थपलियाले दुई वर्ष नाघेका ९८ वटा मुद्दामध्ये अब फर्छौट हुन ३२ वटा मात्रै बाँकी रहेको बताए ।
उनका अनुसार जतिसक्दो चाँडो मुद्दाको फैसला गरेर न्याय सम्पादनलाई चुस्त एवं प्रभावकारी बनाउने नीति अदालतको छ । त्यसका लागि मेलमिलापलाई समेत प्राथमिकता दिँदै आन्तरिक व्यवस्थापकीय कामलाई पनि चुस्त बनाएर लगिएको जानकारी थपलियाले दिए ।

प्रतिक्रिया

सम्बन्धित