मोरङमा बिहे भईरहेको घरमा आक्रमण गर्ने समूहका नाइके पक्राउ

बिराटनगर / मोरङको केराबारी गाउँपालिका–७ नर्कटेस्थित बिहे घरमा ज्यानै लिने गरी आक्रमण गरिएको घटनामा संलग्न समूहका मुख्य नाइकेसहित दुई जना शनिबार पक्राउ परेका छन् ।

चार जनामाथि साङ्घातिक हमला गर्ने समूहको नेतृत्वकर्ता केराबारी–७ का २९ वर्षीय मुस्कान लिम्बू र घटनामा संलग्न ३० वर्षीय विश्वास चेम्जोङ लिम्बू पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल नेतृत्वको टोलीले मुस्कानलाई सुन्दरहरैँचा नगरपालिका–१२ र विश्वासलाई केराबारीबाटै पक्राउ गरेको हो ।

आक्रमणकारीमध्ये केराबारी–७ का २२ वर्षीय विशाल लिम्बू घटना लगत्तै गत फागुन १५ गते पक्राउ परेका थिए । घटनामा संलग्नविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग र चोरी एवं डाँका मुद्दा चलाएको थियो । धरौटीवापतको दुई लाख रुपैयाँ बुझाउन नसकेपछि विशाललाई भने पूर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिइसकेको छ । उनी अहिले थुनामै छन् ।

शनिबार पक्राउ परेका दुई जनालाई अनुसन्धान प्रतिवेदनसहित प्रहरीले आइतबार अदालतमा बुझाउने भएको छ । मादक पदार्थ सेवन गरेको समूहले बिहेको कार्यक्रम सकिएर बेहुला–बेहुलीसहित सबै जना सुतिसकेपछि भागीमान लिम्बूको घरमा गत फागुन १५ गते बिहान ३ बजेतिर आक्रमण गरेर चार जनालाई घाइते बनाएको थियो ।

भगीमानकी छोरी २३ वर्षीया सम्झना लिम्बू र नुवाकोट घर भएका सुदीप राईबीचको बिहेको कार्यक्रम समापन भइसकेपछि ढुंगामुडा गर्दै पुगेको समूहले घरेलु हतियार खुकुरी, भाला, रड, दाउरा लगायतले आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणमा बेहुलीका बुवा ५९ वर्षीय भागीमान, दिदी ३० वर्षीया सविना लिम्बू (राई), कान्छा मामा केराबारी–९ का ४५ वर्षीय भगत याक्खा र बिहेमा बेहुलातर्फबाट जन्ती आएका भोजपुरको भोजपुर नगरपालिका–७ का ३३ वर्षीय रमेश राई घाइते भएका थिए ।

घाइतेहरुको टाउको, खुट्टा, हात, करङ, फोक्सो, अनुहार लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । विराटनगरको न्युरो अस्पतालमा उपचार गराएकामध्ये स्वास्थ्यमा सुधार हुन बाँकी रहेका भगीमानको उपचार ठीक हुन समय लाग्ने जानकारी चिकित्सकले दिएको प्रहरीले जनाएको छ । अरु पनि उपचारकै क्रममा छन् ।

प्रनि ढकालका अनुसार आक्रमण हुन थालेपछि बेहुली, बेहुला लगायत बिहे घरमा रहेका अरुले भने भागेर ज्यान बचाएका थिए । मादक पदार्थ सेवन गरेर पुगेको समूहले बिहेमा ‘साउण्ड सिस्टम’ बजाएर नाचगान गर्न पाउनुपर्ने माग राख्न थालेपछि बढेको विवाद आक्रमणको घटनामा परिणत भएको उनको भनाइ छ । विवाद बढेपछि मुस्कानले अरु युवाहरु भेला पारेर बिहे घरमा आक्रमण गर्न उक्साएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

आक्रमणसँगै उक्त समूहले खुकुरीले काटेर घरका झ्याल तथा ढोका र फर्निचरका सामानहरुमा पनि क्षति पु¥याइदिएको थियो । आक्रमणपछि बिहेमा बेहुलीको नाममा जम्मा भएको दुई लाख ३५ हजार पाँच सय ४० रुपैयाँ नगद र बेहुलीले लगाएका सुनचाँदीका गरगहना लुटपाट गरेर त्यो समूह भागेको थियो । बेहुलीको पाँच तोलाजति सुन र चाँदीका विभिन्न गहना तथा एक ठाउँमा जम्मा गरेर राखेको नगद लुटेर आक्रमणकारी फरार बनेका हुन् ।

प्रहरीले घटनामा लुटिएको नगद र गरगहनासहित गरेर आठ लाख ४६ हजार पाँच सय ४० रुपैयाँ बराबरको विगो मागदावी पनि गरेको छ । घटनामा संलग्नमध्ये केराबारी–७ का २४ वर्षीय निशान लिम्बू, २७ वर्षीय चिनो लिम्बू, केराबारी–१० का २९ वर्षीय भाइराजा सुब्बा र सुनसरीको धरान उपमहानगरपालिका–१३ का २२ वर्षीय नगेन बुढाथोकी फरार छन् ।

उनीहरुको खोजी तीव्र रुपमा भाइरहेको प्रनि ढकालले बताए । घटनामा संलग्नमध्ये मुस्कान र निशान एउटै परिवारका दाजु–भाइ हुन् । आक्रमणकारी गाउँघरमा दादागिरी र गुण्डागर्दीमार्फत सर्वसाधारणमा आतंक खडा गर्ने समूह रहेको पाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित