सुन्दरहरैंचा नगरपालिकाद्वारा मन्त्री ओझालाई स्वागत

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकाले नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझालाई विशेष कार्यक्रमको आयोजना गरि स्वागत सम्मान गरेको छ । सुन्दरहरैंचा नपामा आयोजित कार्यक्रममा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि , विभिन्न राजनीति दल लगायतले खुसि प्रकट गर्दै स्वागत सम्मान गरेका थिए । स्वागत कार्यक्रममा मन्त्री ओझाले आफू सांसद मात्रै हुँदा पनि सिमित कामका लागि मात्रै ध्यान नदिएर आफ्नो क्षेत्रको पूर्वाधार विकास लगायत विविध पक्षमा आफूले पहल गरेको स्मरण गरे ।

उनले नगर भित्रका पर्यटकीय क्षेत्रहरुको स्तरोउन्नतिमा आफू लाग्ने उल्लेख गर्दै बाघझोडा देखि हसिना हुँदै विराटनगर सम्म जाने बाटो बनाउन पनि पहल भइरहेको जानकारी दिए । मन्त्री ओझाले आगामी आर्थिक वर्षमा पर्यटकीय क्षेत्रको विकासमा यथेष्ट बजेट विनियोजन गर्न पहल गर्दै वन क्षेत्रमा नदीजन्य पदार्थ ननिकाल्दा खोलाको सतह बढेर बस्तीमा बाढी पसेर हुने समस्या हल गर्न सो क्षेत्रको अनुगमन गरी आवश्यक पहल गरिने बताए । वनको व्यवस्थापनमा आफूले सक्दो पहल गर्ने समेत मन्त्री ओझाले प्रतिबद्धता व्याक्त गरे।

मन्त्री ओझाको स्वागतमा आयोजित कार्यक्रममा सुन्दरहरैंचा नपाका नगर प्रमुख शिवप्रसाद ढकालले पर्यटकीय क्षेत्रको विकासमा नगरले संरक्षण गरिरहे पनि त्यसको थप सुधारका लागि यथेष्ट बजेट हुन नसक्दा समस्या परेको हुनाले बजेट विनियोजन गर्न मन्त्री समक्ष ध्यानाकर्षण गराउँदै माग समेत गरे । उनले वन व्यवस्थापनको लागि थप पहल गर्नु पर्ने भएकोले स्थानीय तहले ऐनको कारणले गर्दा वन सम्बन्धि खासै केही गर्न नसक्ने भएकाले सङ्घ र प्रदेश सरकारले नै त्यसको विकास र पहल गर्नुपर्ने उल्लेख गरेका थिए ।

कार्यक्रममा सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष तथा राजनीतिकर्मी नवराज चापागाईले नगरका वन तथा पर्यटकीय क्षेत्रको विकास गर्न सके व्यापार व्यवसाय फस्टाउने हुनाले पर्यटकीय क्षेत्रको विकास र स्तर उन्नतिमा सक्दो पहल गर्नु पर्ने धारणा राखेका थिए । कार्यक्रममा वडा न ७ का वडाध्यक्ष चैतन्यप्रसाद सिटौंलाले विभिन्न राजनीतिक दल एक भएर नगरको विकासमा थप पहल गर्न जरुरी भएको बताए । उनले हालसम्म यस क्षेत्रको विकासमा सबै राजनीतिक दल एकै ठाउँमा रहने गरेकाले नगरको विकासमा अप्ठ्यारो परिस्थिति सिर्जना नभएकोले एकताको माध्यमबाट अझै अघि बढ्न आवश्यक भएको उल्लेख गरे ।

नेकपा एमालेका नगर अध्यक्ष मातृकाप्रसाद ढकालले नगरको विकासमा प्रदेश सरकार र संघीय सरकारले बजेट विनियोजन गरिरहेकोले अब थप बजेट विनियोजन हुने आशा पलाएको बताए । कार्यक्रममा नगरपालिकाकी उप प्रमुख धनमाया तामाङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित