५८० जनाको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रजातन्त्र दिवसको अवसरमा ५ सय ८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा ५८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको हो ।

सरकारले मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार १७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४०१ कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेको हो ।

उक्त तीनवटै प्रावधानअनुसार कैद कट्टा र माफी मिनाहा हुनेहरुको संख्या ५९५ जना रहेको छ । सजाय मिनाहा पाएकामध्येका १ सय ७९ जना कैदी व्यक्ति हत्यालगायत कसुरमा जन्मकैद सजाय पाएर कारागारमा सजाय भुक्तानरत कैदी रहेका छन् ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले अपराधमा दोषी ठहर भई कानूनी कारबाहीको दायरामा नआई फरार रहेका र केही कैदमै भएका १५ जनालाई आममाफी दिने पनि निर्णय गरेको हो ।

उक्त आममाफीका लागि गृह मन्त्रालयबाट ४० जनाको सिफारिस गएकोमध्ये २५ जनाको सूची फिर्ता गरिएको बताइएको छ । आममाफीको सिफारिसमा परेका व्यक्तिबारे राष्ट्रपतिबाट निर्णय नभई बोल्न नमिल्ने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित