दर्जन बढी हिमाल देखिने ट्याम्के डाँडा

इटहरी / प्रदेश नम्बर १ पर्यटकीय हिसाबले उच्च सम्भावना भएको क्षेत्र हो । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदेश नं १ का विभिन्न स्थानलाई सय गन्तव्य भित्र समावेश गरेको छ । त्यस मध्यको एउटा स्थान ट्याम्के डाँडा पनि हो । भोजपुर र खोटाङको सङ्गम स्थानमा रहेको यो भूभाग प्राकृतिक, भौगोलिक, धार्मिक तथा सांस्कृतिक रूपमा विशिष्ट रहेको छ । समुद्री सतहबाट तिन हजार दश मिटर अग्लो स्थानमा रहेको यो भूभाग सुन्दर तथा शान्त छ ।

अग्लो पहाड, चिसो मौसम अनि त्यहाँ बाट देखिने टाढा-टाढा सम्मका मनमोहक दृश्यले जो कोही को मनलाई आनन्दित बनाउँछ । प्राकृतिक तथा भौगोलिक हिसाबले महत्त्व रहेको यस ठाउँको धार्मिक महत्त्व अझ धेरै रहेको छ । सिद्धेव्श्रर महादेव र महाकाली देवीको मन्दिर रहेकाछन् भने हिन्दु, किराँत र बौद्ध धर्मको आस्थाको केन्द्र पनि हो । यस स्थानमा आन्तरिक तथा वाह्य पर्यटक समेत आउने गर्दछन् । यस ठाउँमा बाला चतुर्दशी र शिवरात्रिमा विशेष मेला लाग्ने गर्दछ । मेला भर्न धरान, इटहरी,काठमाण्डाैं तथा देश बाहिरबाट समेत भक्तजनहरू आउने गरेका छन् ।

के के देख्न सकिन्छ

यहाँ बाट सर्वोच्च शिखर सगरमाथा, मकालु, कञ्चनजङ्घा, गौरींशकर लगायतका दर्जन भन्दा बढी हिमाल तथा हिमशृङखलाहरूको अवलोकन गर्न सकिन्छ । त्यसैसरि तेह्रथुम, धनकुटा, सङ्खुवासभा, उदयपुर, ताप्लेजुङ, ओखलढुङ्गा, सोलुखुम्बु लगायतका जिल्लाहरू प्रस्ट रूपमा देख्न सकिन्छ । सिक्किम, दार्जिलिङ,सिलगुडि, भुटान लगायतका सहरहरू पनि देख्न कसिने अनुभवीहरू बताउँछन् । उनीहरूका अनुसार मौसम खुलेका बेला यी सबै स्थान देख्न सकिन्छ ।

कसरी पुग्ने ट्याम्के डाँडा

भोजपुर सदरमुकाम देखि ट्याम्के डाँडा सम्म करिब ५५ किलोमिटर र खोटाङ सदरमुकाम दिक्तेलदेखि ट्याम्के डाँडा सम्म करिब ५० किलोमिटर कच्ची तथा केही स्थानमा ग्राभेल सडक निर्माण भएको छ । सडक मार्ग मार्फत पूर्वको केन्द्रको रूपमा रहेको इटहरीबाट धरान, धनकुटा,लेगुवाघाट, भोजपुर सम्म पुगिन्छ । सामान्य अवस्थामा इटहरीबाट एक दिनमा भोजपुर सदरमुकाम मात्र पुग्नसकीन्छ । त्यस पछि त्यहाँबाट दिल्पा, चखेवा हुँदै ट्याम्के पुग्न सकिन्छ । त्यस्तै उदयपुर, घुर्मी,हलेसी, दिक्तेल बजार, बाझे हुँदै पनि यो ठाउँसम्म पुगेर मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ । काठमाडांैबाट भोजपुर वा खोटाङका लामिडाँडा तथा खानिडाँडा विमानस्थलको प्रयोग गरी पनि यो ठाउँमा पुग्न सकिन्छ । त्यस्तै पैदल यात्रामा रमाउनेहरूले पैदल मार्गको समेत प्रयोग गर्न सक्नेछन् ।

यस क्षेत्रमा आजभोलि विदेशी पर्यटकहरू समेत फाट्टफुट्ट मात्रामा आउन थालेका छन् । प्रकृतिले भरपुर मात्रामा यी क्षेत्रलाई दिए पनि राज्यले अझै पनि पर्याप्त पुर्वधार निर्माण तथा प्रचार प्रसार गर्न सकेको छैन । यो क्षेत्रलाई नेपाल भ्रमण बर्ष २०२० काे गन्तव्यका रूपमा विकास गर्न सकिए, यस क्षेत्रका हजारौँ मानिसको जीवनस्तर माथि उठ्ने निश्चित छ । यस्ता प्राकृतिक ठाउँको विकास हुन सके भोजपुर तथा खाेटाङ वासीको जीवनस्तर सुधार गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित