‘छक्कापन्जा’ मिसिएको नेपाली राजनीति

लेखक प्रदिप नेपाल लेख्छन् –‘निर्वाचन आयोगले पार्टी नै खारेज गरेको अध्यक्षलाई पनि मन्त्री बनाउन मिल्दो रहेछ ।’ ४३ सदस्यीय मन्त्रीमण्डल पु¥याएर आफूलाई हुकुम भएको आदेश तामेल गर्न साथै नुनको साझो चिताउन अनि सत्ता खेललाई बढाउने झेल गरेकोमा नेपालको आक्रोश हो –यो । संविधान संशोधन प्रस्तावलाई कल, बल र छल गणीतीय हिसाबले आफ्ना पोल्टामा पार्न यतिखेर प्रचण्ड देश टुक्र्याउन पनि पछि पर्दैनन् भन्ने आसय त्यसमा लुकेको छ । मधेशीहरू जतासुकै पुगुन उनलाई आगेपिछे वाल मतलब । यो दसक पनि नेपाली राजनीति यसैगरी भुङ्ग्रालिने हो भने नेपाली लोकतन्त्र सिनित्तै भएर सिद्धिन बेर लाग्दैन भन्नेहरूको संख्या बढ्दै जान थालेको छ । न्यायाधीश नियुक्तिमा गरिएको नाटकले बारलाई पनि थप चिढ्याएको छ ।

गाइडेड मेन्टालिटीबाट यतिखेर काँग्रेस पनि हिँडेकाले आफ्नो इतिहासको शाख बचाउनर पर्ने दायित्वको राप र तापलाई भुलेर चुक्दै छ । अनि त्यसको लोकप्रिय गैह्रजिम्मेवारपूर्ण दायित्व समादरणीय काँग्रेसका सभापति शेरबहादुर देउवा र सत्ता दङ्गलका मसिहा भनेर चिनिने विमलेन्द्र निधिको काँधमा छ । भलै त्यो पछि गएर प्रत्युत्पादक नहोला भन्न सकिन्नँ । काँग्रेसी कार्यकर्ता असिम चिन्ताग्निमा झिल्सिएका छन् । माने पनि नमाने पनि यद्यपि यो ‘कडवा’ सच भने हो ।

‘स्थानीय निर्वाचनको मिति घोषणा नगरेकोमा काँग्रेस नेताकै आक्रोश’ हवाला दिएर कान्तिपुरले वरिष्ठ नेता रामचन्द्र पौैडेलको कोट गरी समाचार छापेको छ । उनी भन्छन् –‘मधेशका साथीहरूलाई भन्न चाहन्छु । केही विवाद छन् भने मिलाउँदै आउँला चुनाव आवश्यक छ ।’ यतिसानो ललीपप मै मधेशी मान्ने भए कि बालहठझैँ गर्दथे ? रामचन्द्रजीको झिनो रोइलोले पनि एमालेको मुहारमा हाँसो ल्याउन सक्दैन । भलै उनी राजनीतिक रणभूमिमा हतियार खोसिएका महारथीको भूमिकामा छन् । त्यो उनलाई हेक्का छ कि छैन ? दैव जानुन् । पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवालीलाई यतिखेर झिक्नै हुन्नथ्यो भन्ने आवाज पनि आएको छ । आफूले देखेको र बुझेको सत्य नै अन्तिम सत्य हो भन्ने रोग यतिखेर नेपालका काँग्रेस, एमाले, माओवादी केन्द्र र मधेशीहरूमा व्याप्त छ । समस्याको चुरो यहीँ देखिन्छ ।

‘थपिएका मन्त्रीहरूलाई हाँसो मजाक नबनाऊँ है ! साथी हो, ट्रम्प सँगसँगै सपथ लिएका छन्’ भन्दै त्रिचन्द्र क्याम्पसका उपप्राध्यापक रुद्रप्रसाद भट्टराई लेख्छन् ।
‘लोकलज्जा हिन लोकतन्त्रको गन्तव्य अझै कति निर्लज्ज हुने होला ? अकल्पनीय निर्लज्जता ।’ यस्तै आसयको स्टाटस एकाबिहानै फेसबुकमा छाएको छ ।
लेखक तथा फेसबुक विश्लेषक आनन्दराम पौडेल लेख्छन् –‘भारतीय एयर मार्सलको बास प्रबन्धको नाममा भारतीय सेना नेपाली भूमिमा भित्र्याउन पाइँदैन भन्न म छ त नि के गर्नु एमाले र’छ यो त भनिहाल्छन् ।’ दबिएको आक्रोशलाई सामाजाकि सञ्जालमा ल्याउने जमर्को हो यो ।

दिपाश्री निरौला निर्देशित नेपाली सिनेमा ‘छक्कापन्जा’ ले अघिल्लो हप्ता नै १६ करोड कमायो भनेर लेखिएको पढ्न पाइयो । वैदेशिक रोजगारीको विषयवस्तु र हास्य टेली सिरियलमा स्थापित कलाकारहरूलाई लिएर बनाइएको यो सिनेमाले गम्भीर र उच्च मानसिकता भएका दर्शकको मन उति नजिते पनि १६ देखि २५ वर्षका युवायुवतीको भने मन जितेको छ । महिला हिंसा हुने शब्द, डाइलग र सिन प्रशस्तै देखाइए पनि नेपाली समाजको वर्तमान अवस्थाको कटु यथार्थ हो छक्कापन्जाको प्रस्तुति ।

जीवनका कतिपय सत्यलाई भन्न नसके पनि ती यथार्थ हुन्छन् । नेपाली समाजको जुइनो बिस्तारैबिस्तारै फुस्कँदै गएको छ । करिब आधा करोड नेपाली विदेश बस्छन् । छक्का पन्जाले विदेश जानेहरूका पत्नीले धर्म छाड्न थाले भनेको मात्र छैन कि पत्नी विदेश जानेहरूका पतिले पनि यहाँ धर्म निर्वाह गरिरहेका छैनन् भन्ने प्रश्न उठाएको छ । नेपाली सिनेमामा अहिले हलसम्म दर्शक तान्न नै सकस भएको बेला छ । कालोपोथी जस्ता सिनेमा नेपाली अग्र्यानिक उत्पादन भए पनि भान्सामा तयार भएको तरकारी चिउरालाई छाडेर जसरी केटाकेटीहरू चाउचाउप्रति आशक्ति देखाउँछन् । सिनेमाका हकमा भएको त्यस्तै हो ।

सिनेमा र राजनीति समाज सापेक्ष हुन्छ । यो निरपेक्ष हुन सक्दैन । जस्ता दर्शक छन् त्यस्तै सिनेमा बनाउने हुन् निर्माता र निर्देशकहरूले । हुन पनि नेपालमा धेरै निर्माता र निर्देशक सिनेमा बनाएर डुबेका छन् । घाटाको व्यापार गर्नेहरू त बेबकुफ हुन् । यो वैश्य युग हो । जे बिक्छ त्यो बेच्ने हो । जे भित्र सबै पर्छ भन्ने नेपाली मानसिकता छ । भलै त्यसमा विभिन्न कोण र प्रतिकोणहरूबाट बहस हुन सक्छ ।

नेपाली सिनेमा जगत्मा इतिहास बनाएका धेरै सिनेमाहरू छन् । आमा र हरिश्चन्द्रदेखि आरम्भ भएको यो क्रमलाई उभार ल्याउन वासुदेव, कुसुमे रुमाल, दुई थोपा आँसु, लोभीपापी, सम्झना, चिनो, दक्षिणा, लाहुरे, सन्तान, दर्पण छायाँ, करोडपति, वसन्तीजस्ता नेपाली सिनेमाको जगमा नुमाफुङ, खाङ्गारी, बाटो मुनिको फूल, इकुइकु, चपली हाइट, लुट, बिर्खेलाई चिन्छस्, झोला, पशुपतिप्रसाद हुँदै छक्कापन्जा सम्मको यात्रातय गर्दा धेरै कुइनेटाहरू नेपाली फिल्मले काटसकेका छन् ।

अझ अघि बढेरभन्दा नेपाली सिनेमामा प्रकाश थापाको युग, चेतन कार्कीको युग, यादव खरेलको युग, नीर शाहको युग, तुलसी घिमिरेको युग, भूवन केसीको युग, शिव श्रेष्ठको युग, राजेश हमालको युग, श्रीकृष्ण श्रेष्ठको युग र अहिले दीपादीपकको युग आएको भने पक्कै हो । दीपा र दीपकले नेपाली समाजमा भएको स्याडोनेसलाई हास्य टेली सिरियलबाट चौतर्फी रूपमा राम्रै क्यास गरेका पनि हुन् तर उनीहरूले के बुझेनन् भने सिनेमाको विशाल सन्देश र कलाकारिताको वृत्तमा सिरियल सानो आकारमा मात्र समेटिन्छ ।

भनिन्छ नि –‘प्रेम भयो भन्दैमा मुसा र हात्तीका बीच सम्भोग हुन सक्दैन । कि त हात्तीहात्तीमा हुन सक्छ कि त मुसा मुसामा हुन सक्छ ।’ यसरी नै अर्को भनाइ नै छ –‘मुसा मोटाएर हात्ती हुँदैन अनि हात्ती दुब्लाएर मुसा हुँदैन ।’ अहिले नेपाली सिनेमाको बजार क्यासमा मात्र मापन गरिएको हो त्यसको वेभ लेन्थमा गएर असरमा हेरिएको होइन । पैसा अनिवार्य चिज हो तर सबै थोक होइन । १६ करोडको हवाला दिने नेपाली सिनेमा विश्लेषकहरूले हिन्दी सिनेमाका पिके र दङ्ंगलको रकर्डलाई पनि एकफेर हेरिदिनु प¥यो ।

नेपाली जनजीवनलाई अथ्र्याउन अहिले राजधानीको सवारी कुव्यवस्थान नै काफी छ । कुनै अज्ञात फेसबुके मित्रले मार्मिक शैलीमा लेखेका छन् –‘उपत्यकाका सार्वजनिक यातायाताका यात्रुलाई सोध्नुहोस् जीवन के हो भनेर ?’ समय व्यवस्थापन गर्न नसकिने धूलो र धूँवाको संगमले धानेको राजधानीको जीवन अत्यन्तै कष्टकर छ । पत्रकार तथा विद्यार्थी नेता दिनेश गौतम लेख्छन् –‘स्ववियुमा जसरी पनि अनेरास्ववियुलाई जिताऔं, ‘अंकल युग’ को समाप्ति गरौं ।’ विद्यार्थी राजनीतिमा २८ वर्षको उमेर हद एक प्रकारले राम्रा बेरियर हो । शिक्षा लिने पनि एउटा उमेरको हद हुन्छ । मानिस २५ वर्षसम्म अध्ययनमा लाग्ने, ५० वर्षसम्म व्यवहारमा व्यस्त रहने, ७५ वर्षसम्म वानप्रस्थी हुने र १०० वर्षसम्मको उमेर पर्खेर चाहिँ सन्न्यासी हुने पूर्वीय शास्त्रले नै लेखेको छ ।

कूल मिलाएर भन्दा नेपाली समाज यतिखेर संक्रमणको युगमा रुमल्लिएको छ । हामी न हाँसको तालमा छौं न कुखुराको चालमा । हिजोको पनि गुमाइसक्यौं आजको नयाँ पाउने व्यवस्थित प्रयास पनि गरेनौं । राजनीति बद्नामहरूको रखेल बनेको छ । सदाचारी हौं भन्नेहरू नै तिनै बद्नामीहरूका तलुवा चाट्न मस्त र व्यस्त छन् । सिकाउने नै गल्ती गरिरहेको छ । समाजका सबै अवयवहरू झुरीएका छन् ।

यो संक्रमणका फाइदा समयलाई चिन्ने र दर्शकको मानसिकता बुझ्ने यस्तैयस्तै निर्माता र निर्देशकले उठाउने हुन् । जसरी आम नेपालीको मानसिकतामा यतिखेर राजनीतिका ठेकेदारहरू नेपाली जनतालाई घुमाइरहेका छन् । अजब नेपालको गजब चाला छ । स्थानीय निकाय छन् तिनको चुनाव हुँदैन । संविधान छ कार्यान्वयनमा झन्झन् बखेडा झिकिएको छ । प्रदेशहरू छन् जिल्ला र अञ्चलको बोली अझै हटेको छैन । धेरै थोक छैन । लोकतन्त्र छ तर लोकतन्त्रका नम्र्सहरू क्रमशः मुर्झाउँदै र मर्दै गैरहेका छन् । पत्तो छैन यसको यात्रा कहाँ र कसरी टुङ्गिने हो ?

प्रतिक्रिया

सम्बन्धित