फेरि पनि छोरी ? डाक्टर साप भो सफा गरिदिनुस !

चण्डी प्रसाद नामूद महिला अधिकारकर्मी थिए । गाम ठाममा उनको नाम मात्रै सुन्दा पनि मान्छे सजग हुन्थे । एउटी मात्र छोरी छ बर्षकी पुगिसकेकी थिई । छोरा छोरी बराबरी भन्दै जिल्ला भित्र बाहिर हुने कार्यक्रममा गईरहन्थे उनी ।

श्रीमती गोमा पाँचौ पल्ट पनि गर्भवती भएको कुरा कसैलाई बताएनन् चण्डी प्रसादले । महिला र बालबालिका संबन्धि तालिमको काम बिशेषले डाक्टरकोमा जान नभ्याएकोले गर्भ सोह्र हप्ता पुगिसकेको थियो ।

छोराको आशमा तेत्तिस केटी देवता पुकार्दै साढे सोह्र हप्तामा शहरका एक डाक्टरकोमा सुटुक्क पुगे चण्डी प्रसाद दम्पती ।

“डाक्टर साप यसपाली त ठिक छ नि ?”

चण्डी प्रसादको प्रश्न पछि फेरि पनि डाक्टरले ओँठ लेप्र्याए । गोमाले चण्डी प्रसादको मुखमा हेरेर आँखा भरि आँशु झारिन् ।

चण्डी प्रसादले भने, “डाक्टर साहेब सफा गरिदिनुस ।”

पाँचौ पटकको गर्भमा पनि छोरी भएको थाहा पाएपछि शर्मा दम्पत्तिले जानाजान गर्भपतन गराए । गोमाको स्वास्थ्य बिग्रेर अति कमजोर भएको थियो । चण्डी प्रसादलाई सुटुक्क बोलाएर डाक्टर साहेबले अब उप्रान्त गोमाले गर्भ बोक्न नसक्ने कुरा सुनाए ।

मनिलो मुख लगाएर रित्तो कोख लिएर शर्मा दम्पत्ती घर फर्के । गर्भ पतन गराएको एक हप्ता पनि भएको थिएन, एकाबिहानै चण्डी प्रसाद बिछ्यौनाबाट चिच्याउँदै थिए : ए गोमा मेरो लुगाहरु धोईदेऊ ल ! भोलि छोरीको भ्रुण हत्या बिरुद्दको गोष्ठीमा जानु छ ।

गोमाले कुरा बुझिन् बुझिनन्: तर बारम्बारको गर्भपतन पछि अत्याधिक रक्तश्राव भएर ओछ्यानमा लडिरहेकी थिईन् । उनले बर्र आँशु झारिन् ।

चण्डी प्रसादले अनुहार बिगार्दै आफै लुगा धोए । भोलि पल्ट दिन भरि छोरा छोरी बराबरी भन्ने धेरै भाषणहरु चलिरहे, छोरी पेटमै हुने बेला देखि हिंसा हुने कुरा गरे उनले । लामो समय सम्म महिला अधिकारको क्षेत्रमा उनले गरेको योगदानको प्रशंसा भयो । खादा र मालाले सजिए चण्डी प्रसाद । गोष्ठीको भत्ता पनि राम्रै थियो ।

यस्ता तालिम गोष्ठी बेला बेलामा भईरहन्थे, मान्छेहरुका छोरी बुहारीका मुद्दा मिलाउन पनि भ्याई नभ्याई थियो उनलाई ।

तिनै चण्डी प्रसादले गत बर्ष श्रीमतीलाई फकाई फुलाई ४५ बर्षको उमेरमा दोश्रो बिहे गरे । संयोगले उनीहरुले दोश्रो बिहेपछि छोरा पाए र धुमधामले छैँठी न्वारान सम्पन्न गरे ।

मान्छेहरुले उनलाई ब्यंग गर्दै भन्दै थिए : हात्तीको देखाउने दाँत, हात्तीको चपाउने दाँत !

सरगम सरगम भट्टराईकाे फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित