पलेँटीमा गुञ्जिनेछन् कृष्णराजा

इटहरी ।  नझरेका फूलहरूको आयोजनामा बैशाख २ गते हुने पलेँटी साँझको ४२औँ संस्करणमा गायक कृष्णराजा श्रेष्ठ गुञ्जिने भएका छन् ।

नझरेका फूलहरूको दसौँ वार्षिकोत्सव, स्रष्टा सम्मान, नयाँ वर्षको शुभकामना आदानप्रदान एवम् चियापान समारोह सहित आयोजना हुने पलेँटी साँझ मोरङको सुन्दरहरैँचा स्थित विराटचोकको रोजाइ मन्टेश्वरीमा बेलुका ७:३० बजेदेखि सुरु हुने परिकल्पनाकार तथा संस्थापक केपी घिमिरेले जानकारी दिए।

घिमिरेको एक्लो प्रयास र सक्रियतामा सञ्चालन हुँदै आएको पलेँटीमा अहिलेसम्म २०० जना भन्दा बढी स्रष्टाहरू सम्मानित भइसकेका छन्। कलाकार राष्ट्रका गरिमा,निधि र पहिचान हुन् भन्ने उद्देश्यका साथ सुरु गरिएको पलेँटी साँझले कला,साहित्य,सङ्गीत र संस्कृतिको संरक्षण र संवर्द्धनमा गतिलो टेवा पुर्‍याउन सफल भएको छ।

पलेँटीमा यसभन्दा अघि दीप श्रेष्ठ, रामकृष्ण ढकाल, कर्ण दास, हेमन्त शर्मा, गणेश रसिक, राज सिग्देल, कुबेर नेपाली, मीरा राणा, शम्भु राई, ज्ञानु राणा, रेखा शाह, लाक्पा शेर्पा, यम बराल, सीताराम ताजपुरिया, राजु सिंह, मुरलीधर, लेखु विवस, कविता आले, नवराज लम्साल, रामा मण्डल, तृष्णा गुरुङ, तुलसी पराजुली, शिशिर योगी, यशोदा पराजुली लगायतका ख्यातिप्राप्त स्रष्टाले सहभागिता जनाइसकेका छन्।

राष्ट्रिय स्तरमै कला क्षेत्रमा नझरेका फूलहरूले विशिष्ट योगदान पुर्‍याइरहेको साहित्यकार मनु मञ्जिलले समेत बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित