सुवास ढुङ्गेलको ‘अक्षरका गोलीहरु’ लोकार्पण

ललितपुर । गीतकार सुवासचन्द्र ढुङ्गेलको पहिलो मुक्तक सङ्ग्रह ‘अक्षरका गोलीहरु’को लोकार्पण भएको छ । संस्कृतिकर्मी चेतन कार्कीलगायतका स्रष्टाले ढुङ्गेलको कृति लोकार्पण गर्नुभएको हो । ढुङ्गेलको सङ्ग्रहका हिसाबले यो दोस्रो साहित्यिक कृति हो । यसअघि उहाँको ‘भाँचिएको मन’ गीत–गजल सङ्ग्रह प्रकाशित भएको थियो । धेरै गीत सिर्जना गर्नुभएका उहाँ मुक्तक गीतभन्दा छोटो भए पनि पाठक र स्रोताको उत्तिकै मन छुने बताउनुहुन्छ ।

गीतले गायकलाई मात्रै चिनाउने भए पनि मुक्तकले सिर्जना गर्ने व्यक्तिलाई चिनाउने उहाँको धारणा छ । उहाँ भन्नुहुन्छ – “गीत र मुक्तक दुवैको आ–आफ्नो महत्व भने रहेको छ ।” नेपालमा मुक्तक प्रवद्र्धन गर्नेमध्येका चेतन कार्कीले ढुङ्गेलका सिर्जना सुन्दर भएको बताउनुभएको छ । लोकार्पण कार्यक्रमपछि ढुङ्गेलका एकल रचनाका गीत कलाकारहरुले प्रस्तुत गरेका थिए । रेडियो नेपालमा गायन प्रतियोगितामा यस वर्षकी विजयी मेनुका पौडेलले पनि ढुङ्गेलका गीत प्रस्तुत गर्नुभयो ।

साहित्यकार प्रकाश सायमीले ढुङ्गेलको मुक्तककारका रुपमा नयाँ परिचय भए पनि मुक्तक पढ्दा त्यो अनुभूति नहुने औँल्याउनुभयो । उहाँले भन्नुभयो – “नयाँ शैली र गति भने पाइन्छ ।” गीतकार भएकाले ढुङ्गेलका मुक्तकमा पनि लय पाइन्छ । मुक्तक सङ्ग्रह जीवनको उथलपुथल, मानवीय नियतिलगायतका विषयमा केन्द्रित भएको सायमीले बताउनुभयो ।

उहाँले अहिलेसम्म झन्डै ५०० गीत रचना गरिसक्नुभएको छ । तीमध्ये झन्डै ८० गीत रेकर्ड भएका छन् । ढुङ्गेलका गीतमा पुराना पुस्तादेखि नयाँ पुस्ताका चर्चित कलाकारले स्वर र सङ्गीत दिएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित