‘छन्दपराग’ बजारमा

काठमाडौँ, ३० मङ्सिर । विसं २०६२ मा पहिलो संस्करणका रुपमा प्रकाशन भएको देवी नेपालद्वारा लिखित छन्दपराग नामक छन्दको लक्षणग्रन्थको परिमार्जित दोस्रो संस्करण प्रकाशन भएको छ ।  पहिलो संस्करणभन्दा तेब्बर ठूलो सो कृतिमा धेरै नयाँ कुरा थपिएको छु । कृतिबाट धेरैले कविता, गीत र गजल लेख्न सिकेका थिए । छन्दपरागभित्र कविताको लघुतम रुपमा पर्ने र नेपालीमा लेखिएका हाइकु, ताङ्का, सेदोका, छोक, एलाक, मुक्तक, रूबाइयात, लोकपद्य, कवित्, कूटपद्य, सायरी, दोहा, सोरठा, चौपाई, आल्हा, पूरबी, केस्रा र खिचडी आदिको संरचनाविधान र तिनका प्रयोक्ताका बारेमा जानकारी दिइएको छ ।

ऐरावती प्रकाशनले प्रकाशन गरेको कृतिमा कविताको लघु रुपमा पर्ने फुटकर कविता, गीत, गजल र फाँचल, मध्यम रुपमा पर्ने खण्डकाव्य र लामो कविता, बृहत् रुपमा पर्ने ललित महाकाव्य र बृहत्तर रुपमा पर्ने आर्ष महाकाव्यको संरचनात्मक जानकारी दिइएको छ ।

नेपाली कविता, गीत र गजलमा आजसम्मप्रयोग गरिएका पाँचैप्रकारका छन्दको त्यही छन्दमा लक्षण र प्रयोग गर्ने तरिकासमेत सिकाई नेपाली कविहरुले त्यही छन्दमा लेखेका प्रशस्त उदाहरण समेटिएका छन् । वार्णिक छन्दका २६० , मात्रिक छन्दका नौ, लोक छन्दका २५, मुक्त छन्द (गद्यकविताको लयविधान) का २७, बहर (गजलको लयविधान) का ५४ र अङ्ग्रेजी कविताको लयविधानका पाँच गरी तीन सय ८० छन्दको लक्षण र उदाहरण सहित लेखन सीप पनि सिकाइएको छ ।

कृतिमा कविताका विविध रुपको प्रयोगमा र सबैखाले छन्दकविताको पाँच सयभन्दा बढी नेपाली कविका कविता उदाहरणमा समेटिएका छन् । राष्ट्रकवि माधव घिमिरेदेखि अहिलेको पुस्तासम्मका ४४ स्रष्टाका नेपाली कविता लेखनमा ‘छन्दपराग’ले पारेको प्रभावका विषयमा दिइएका प्रतिक्रिया पनि पछिल्लो खण्डमा समावेश गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित