जनकपुर साहित्य–कला उत्सव सुरु

जनकपुरधाम, २६ मङ्सिर । जनकपुर साहित्य–कला उत्सव २०७३ आजदेखि जनकपुरधाममा सुरू भएको छ । मैथिली विकास कोषद्वारा आयोजित सो उत्सवमा भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका बारेमा बहस र लोककला, पुस्तक र नाटक प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।

नेपाल र भारतका विद्वान, विदुषी, सामाजिक अभियन्ता तथा राजनीतिकर्मीको सहभागिता रहेको सो उत्सवमा सङ्घीयता, भाषा नीति, साहित्यका विभिन्न विधा तथा समाजको वर्तमान अवस्थाप्रति उत्सवमा विचार मन्थन हुनेछ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले उत्सवको उद्घाटन गर्दै मिथिलाको भाषा, संस्कृतिलाई राष्ट्रिय मुलधारमा जोड्नका लागि निरन्तरता र क्रियाशीलताको खाँचो छ भन्नुभयो ।

मिथिला संस्कृतिको विशिष्टिता र मैथिली विविधताको मूलस्थल जनकपुरधाम राजर्षि जनकको पालादेखि नै ज्ञानको भण्डार र विमर्शका स्थलका रूपमा विश्वभरि स्थापित भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले पूर्वजद्वारा स्थापित मान्यता र वौद्धिक विमर्शको परम्परालाई निरन्तरता दिन आवश्यक भएको धारणा राख्नुभयो ।

उपप्रधानमन्त्री निधिले सरकारले भाषा, नागरिकता, राष्ट्रियसभा गठन र प्रदेशका विषयमा संसद्मा दर्ता गरेको संशोधन प्रस्तावलाई छलफल हुन नदिनु दुःखद् भएको बताउँदै भन्नुभयो ‘‘नेकपा (एमाले)ले सडक र संसद् अवरूद्ध गर्ने काम छाड्नुपर्दछ । प्रदेश सीमाङ्कनको प्रसङ्गलाई अखण्डतासँग तुलना गर्न हुँदैन ।’’ नेकपा(एमाले)का सचिव प्रदीप ज्ञवालीले नेपाली भाषापछि मैथिली भाषासँग नै सरकारी कामकाजको हैसियत राख्ने क्षमता रहेकाले यसलाई कमजोर हुुन नदिनेतर्फ सजग रहन आग्रह गर्नुभयो ।

पूर्वमन्त्री रामचन्द्र झाले समृद्ध भाषा, साहित्य, कला, संस्कृति भएको मिथिलालाई राज्यद्वारा विभेद गरिएका कारण मिथिला क्षेत्रको अवस्था चिन्ताजनक रकेको बताउनुभयो । सङ्घीय समाजवादी फोरमका वरिष्ठ उपाध्यक्ष अशोक राईले मिथिला सभ्यतालाई साझा सभ्यताका रूपमा बचाउनु जरूरी भएको धारणा राख्नुभयो ।

माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले मैथिली भाषाको विकासमा सबैको योगदान हुनुपर्ने बताउनुभयो । कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षता भएको सो समारोहमा पूर्वमन्त्री प्रभु साह, सांसदहरू डा विजय सिंह, शत्रुघन महतो, शीतल झा, रामकृष्ण यादव, महेन्द्र यादव, मीनाक्षी झा, प्राज्ञ रमेश रञ्जनलगायतले जनकपुुर क्षेत्रले मानव सभ्यताको विकासमा आदिकालदेखि नै नेतृत्व गर्दै आएको चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित