बाल साहित्यको पुस्तक नेपाल भाषामा

काठमाडौँ । लेखिका मीना वज्राचार्यले बालबालिकाका लागि नेपाल भाषामा लेख्नुभएको ‘झी मस्त झीगु बाखं’ (हामी बालबालिका हाम्रो कथा) नामक पुस्तक बजारमा आएको छ । कथासङ्ग्रहमा सामान्य परिवारका समिरको जन्मदिनमा केक नकाटिँदाको बाल मनोविज्ञान, बार्बी डलमा सुवीर, सदीक्षा र कृष्णमायाको मित्रताको शिक्षा लगायत विषयका १० कथा समावेश गरिएको छ ।

नेपाल भाषामा बालबालिकालाई आकर्षण गरी सम्बन्धित भाषा तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सो पुस्तक तय्जु पब्लिकेसनले प्रकाशन गरेको हो । समाजसेवी विनोद तुलाधरले कृतिको विमोचन गर्दै सांस्कृतिक अतिक्रमणले नेपाल भाषाका साहित्य तथा संस्कृति हराउन थालेको अवस्थामा सिर्जना गरिएको सो कृति बालबालिकाका लागि मात्र नभएर नेपाल भाषाको साहित्यमा महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो । उहाँले नेपाल भाषाको उत्थानका लागि दरबारमार्ग आसपास क्षेत्रमा नेवा स्कुल सञ्चालन गरिएको जानकारी पनि दिनुभयो ।
पुस्तकका सम्पादक नरेशवीर शाक्यले नेवार बस्ती भएका स्थानमा नेपाल भाषामा अध्ययनअध्यापन गराउने गरी विद्यालय खोल्नुपर्नेमा जोड दिनुभयो । तय्जु पब्लिकेसनका अध्यक्ष शिला यमीले नेवारी सभ्यता तथा परम्पराको संरक्षणका लागि पुस्तक प्रकाशन गरिएको बताउनुभयो । लेखिका वज्राचार्यले बालबालिकाको मनोविज्ञानलाई सकारात्मक बाटातर्फ लैजान बालसाहित्यको खाँचो औँल्याउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित