पत्रकार महासँघको नयाँ सदस्यताका लागि सुनसरीमा परिक्षा : ‘अनपढ, बेरोजगार मात्र पत्रकार बन्ने हो भन्ने त हल्ला रहेछ’

सुनसरी । ‘नयाँ कुरा थाहा पाउनु छ भने पत्रकारलाई सोध्नु’–सुनसरीको ग्रामीणवस्ती भरौलका दुर्गाबहादुर बस्नेतले कतै यस्तै सुनेका थिए । भर्खर एसएलसी परिक्षा सकेर भविष्यको रोडम्याप कोरीरहेकै बेला यो सुनेर उनी यति हौसिए कि जसरी भएपनि पत्रकार बनेरै छाड्ने भए । पत्रिका र यससम्बद्ध ब्यक्तिहरुसँग संगत गर्न थाले । समाचार लेख्दै गए । स्थानिय पत्रिकामा उनका बाइलाइन समाचार छापिन थाले ।

गाउँमा सबैले पत्रकार भनेर चिन्न थाले । फेरी उनले सुने– ‘नपढेको, जागीर नपाएको, सीप नभएको मात्रै हो पत्रकार बन्ने त ।’ अघिल्लो कुराले जसरी हौसिएका थिए, अहिले उनी त्यत्तिकै विचलित भए । द्धिविधामा परे– ‘नपढेको मान्छेले कसरी नयाँ कुरा थाहा पाउनु ?’ दुईटा बुझाईकै चेपबाट उनले पत्रकारिता सिक्दै गर्दै गए । करिब ३ वर्षपछि पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासँघको साधारण सदस्यताका लागि आवेदन दिए । महासँघ सुनसरी शाखाले नयाँ सदस्यताका लागि यही मंसिर ४ गते लिएको परिक्षामा सामेल भए ।

परिक्षा दिइसकेपछि उनले भने– ‘नपढी, सीप नभई पत्रकार हुन नसकिने रहेछ । परिक्षाका लागि योग्य भएकोमा मलाई गर्व छ ।’ दुर्गाबहादुर बस्नेत त प्रतिनिधी पात्र मात्र हुन् । पत्रकार र पत्रकारिताबारे यो लगायत अनेक द्धिविधामा रहँदै पत्रकारितामा आउन चाहने उनीसहित ६० जनाले परिक्षामा योग्यता जाँच गरे । शाखा अध्यक्ष केशव घिमिरेका अनुसार जम्मा ८२ आवेदक मध्ये सबैलाई परिक्षाको अवसर दिइएकोमा परिक्षामा ६० जना सहभागी भए । सहभागी मध्येवाट तोकिएको कागजात पुरा गरी परिक्षा उत्तिर्ण गरेकालाई नयाँ सदस्यताका लागि केन्द्रीय समिति समक्ष सिफारिस गरिएको छ ।

patrakar-exam

यसका लागि बरिष्ठ पत्रकार हर्ष सुब्बाको संयोजकत्वमा ९ सदस्यिय छनौट सिफारिस समिति निर्माण गरिएको थियो । समितिले तयार गरेको मापदण्ड अनुसार परिक्षा प्रणाली अवलम्बन गरिएको थियो । २० पुर्णाङ्कको बस्तुगत र १० पुर्णाङ्कको विषयगत गरी ३० पुर्णाङ्कमा २० उत्तिर्णाङ्क तोकिएअनुसार महासँघको धरान १३ स्थित कार्यालयमा परिक्षा लिइएको थियो । छापा, विद्युतिय र अनलाईन पत्रकारिताका सैद्धान्तिक पक्ष, सामान्यज्ञान र ब्यवहारिक (सीप) पक्षलाई विशेष प्राथमिकतामा राखी प्रश्नपत्र तयार गरिएको थियो ।

महासँघको शुद्धिकरण अभियानलाई ब्याक अप

पत्रकारिताका बारे नवप्रवेशी मात्र होइन, आधारभूत समाज नै द्धिविधामा छ, भ्रममा छ । पत्रकारिताको आवश्यकता, भूमिका र योगदानबारे स्पष्ट नभएका कारण बुझाई दुईतिर बाँडिएको हो । यसमा अर्को गम्भिर कारण छ– पत्रकारको आफ्नै भूमिका वा गतिविधी गैरजिम्मेवार, अमर्यादित, अस्वस्थ हुनु अथवा पत्रकार आचारसंहित विपरित हुनु । नेपाल पत्रकार महासँघको समन्वयमा नेपाल प्रेस काउन्सिलले प्रत्येक वर्ष पत्रकार आचार संहिता जारी गर्दछ ।

आचारसंहिता ०७३ मा भनिएको छ –‘पत्रकार भन्नाले कुनै सञ्चारमाध्यममा समाचार सामाग्री संकलन, उत्पादन, सम्पादन र सम्प्रेषण जस्ता कार्यसँग आबद्ध प्रधानसम्पादक, सम्पादक, सम्पादक मण्डलको सदस्य, संवाददाता, स्तम्भलेखक, विश्लेषक, स्वतन्त्र पत्रकार, फोटोपत्रकार, प्रेस क्यामेरापर्सन, व्यंग्यचित्रकार, रेखाचित्रकार, कार्यक्रम प्रस्तोता, निर्देशक, प्रस्तुतकर्ता वा सञ्चालक, साजसज्जाकर्ता, दृश्यसम्पादक, भाषासम्पादक जस्ता पत्रकारितामुलक कार्यसँग सम्बन्धित सञ्चारकर्मी सम्झनुपर्दछ ।’

नेपाल पत्रकार महासँघको विधान ०६० (दोस्रो संशोधन ०६६) मा दिइएको पत्रकारको परिभाषा यससँग मिल्दाजुल्दो छ । तर विधानमा पत्रकारको योग्यताबारे थप व्यवस्था गरिएको छ । न्युनतम एसएलसी उत्तिर्ण गरेसँगै अन्य तोकिएको प्रावधान पुरा गरेको भए कुनैपनि व्यक्ति पत्रकारिता गर्न वा महासँघको साधारण सदस्य हुन योग्य हुने भनि किटान गरिएको छ । संहिता र विधानको व्यवस्था उत्कृष्ट छ तर हाम्रो पालना र कार्यान्वयन पक्ष भने भत्काएरै छाड्ने, निरन्तरता नदिने र कढाई नगर्ने प्रवृत्तिले गाँजेको छ । परिणामस्वरुप पत्रकारिता विकृत बन्दै गएको छ । यससन्दर्भमा महासँघ विगत केही समयदेखि शुद्धिकरण अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन अग्रसर भएको छ ।

०७३ भदौ ३० मा पाल्पामा सम्पन्न १० औँ पुर्ण बैठकको घोषणापत्रमा भनिएको छ– ‘स्वच्छ, मर्या्दित, उत्तरदायी र व्यावसायिक पत्रकारिताको विकासका लागि महासंघले लिएको शुद्धीकरण अभियानलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन सदस्यता वितरण, नविकरण, स्थानान्तरण लगायतका प्रक्रिया व्यवस्थित गर्न यो भेला प्रतिवद्धता व्यक्त गर्दछ । साथै विगतमा पत्रकार रहेका र हाल पेशाबाट अलग भएका व्यक्तिहरुलाई शुद्धिकरण अभियानलाई सहयोग पु¥याउँदै स्वेच्छिकरुपमा महासंघको सदस्यता त्याग गर्न आव्हान गर्दछ ।’

केन्द्रिय समितिको विधान र आचारसंहिताको यही मर्मलाई अक्षरशः पालना गर्दै शुद्धिकरण अभियानमा होस्टेमा हैँसे गर्न सुनसरीमा पहिलो पटक परिक्षा प्रणाली अवलम्बन गरिएको अध्यक्ष घिमिरे बताउँछन् । सुनसरीकै पत्रकारितामा पनि बेलाबेला परिचयपत्र, पेशा र पहुँचको दुरुपयोग लगायतका आचारसंहिता उलंघनका प्रश्न उठ्ने गरेको र आधारभूत समाजिक स्तरसमेत पत्रकारिताको बुझाईमा विभक्त भएको अवस्थालाई मध्यनजर गरी परिक्षा प्रणाली शुरु गरिएको उनले प्रष्ट्याए । अन्य शाखाहरुले पनि यही प्रणाली अवलम्बन गरेमा शुद्धिकरण अभियान सार्थक बन्ने उनको भनाई छ ।

‘अरु केही होइन, मान्छे तह लगाउने मेलो’

सुनसरीका पुराना पत्रकार मध्ये एक सुब्बा नयाँ सदस्यता वितरणमा संस्थागत मिहनेत र गम्भिरताको कमीकै कारण यसअघिका सदस्यता छनौट गलत भएको बताउँछन् । पत्रकारितासँग साइनो नै नभएको व्यक्तिलाई पनि चिनजान वा व्यक्तिगत समाजिक प्रभावका आधारमा चियागफकै सिलसिलामा समेत सदस्यता स्विकृत गरिएकोले सबै जिल्लामा गैरपत्रकारहरुको संख्या बढेको उनको भनाई छ । ‘सदस्यता नै गैर व्यक्तिलाई गएपछि आचारसंहिताको उलंघन त हुने नै भो नी ।’–उनको बुझाई छ ।

तर पछिल्लो समय सदस्यता वितरणमा ठुलै बहस र बैज्ञानिक प्रणालीको खोजी शुरु भएको छ । महासँघ केन्द्रिय समितिले शुरु गरेको शुद्धिकरण अभियानवाट यो अझ मुर्त बन्दै गएको छ । हाल सुनसरी बाहेक अन्य केही शाखामा अभ्यासकै क्रममा रहेको परिक्षा प्रणाली सबभन्दा बैज्ञानिक र समय सापेक्ष भएको सुब्बा बताउँछन् । यद्धपि परिक्षा संस्कृति स्थापित गर्न भने समय लाग्ने देखिएको छ । सदस्यता वितरणमा विगतको संस्कार र पत्रकारिताप्रति कायम रहेको सतही धारणालाई छिचोल्न अझै बाँकी छ ।

सुनसरीको पत्रकारिता पनि यो नजिरमा अभ्यस्त भईसकेको पक्कै होइन । छनौट सिफारिस समितिका सदस्य बिबिसीका पत्रकार सीता मादेम्बा समितिले सदस्यता छनौटका लागि परिक्षा लिने सुचना सार्वजनिक गरेपछि ‘पत्रकार हुन पनि परिक्षा दिनुपर्ने ?’ भन्दै सञ्चारकर्मी विचमा खैलाबैला नै मच्चिएको अनुभव सुनाउँछन् । त्यसो त कतिपयले ‘आफ्ना विरोधीलाई तह लगाउन खोजेको’ भन्दै महासँघ अध्यक्षमाथि नै रोष प्रकट गरे । कतिपयले ‘आफ्नो संगठनको मान्छेलाई मात्र सदस्यता दिने प्रपञ्च गरेको’ भनि समिति सदस्यहरुमाथि प्रश्न उठाए । कतिले ‘कही नभएको जात्रा……हाँडीगाउँमा….’भन्दै चिलाएको मुख कन्याए ।

परिक्षाको निरन्तरता : निर्विकल्प

यस सहित सरासर दुई कार्यकाल निर्वाचित भई विगत ६ वर्षदेखि निरन्तर महासँघ सुनसरीको नेतृत्व गरिरहेका अध्यक्ष घिमिरेसँग प्रत्येक वर्ष नयाँ सदस्यता छनौटको टाउको दुखाईबारे थुप्रै तीता अनुभव छन् । सिफारिस समिति गठन गर्ने प्रक्रिया शुरु भएदेखि नै अनेक प्रकारका दबाब, आरोप र अपजसहरु खेप्नु दिनचर्या नै बनिसकेको उनी सुनाउँछन् । समितिले सदस्यता सिफारिस गरिसकेपछि यसको मात्रा झन् बढ्ने गरेको छ । तर अब परिक्षाको निर्विकल्प शुत्र फेला परेकोमा भने उनलाई केही हाइसन्चो भएको छ । ‘परिक्षा प्रणाली एउटा नजीर बन्यो । यसैको आधारमा टेकेर आगामी वर्षको सदस्यता छनौट सिफारिस गर्न सजिलो भयो ।’– उनले भने ।

पत्रकारिता योग्यता, क्षमता, मिहनेत र निष्ठाले गरिने हो । पत्रकार भन्नुवित्तिकै परिक्षा दिनैनपर्ने वा जहाँ जतिबेला पनि प्राथमिकता र सहुलियत पाउनुपर्छ भन्नु पेशाको दुरुपयोग हो । समिति संयोजक सुब्बा पनि परिक्षाको विकल्प नभएकोमा सहमत छन् । सुनसरीमा पहिलो पटक भएकोले परिक्षा प्रणालीको तयारी, व्यवस्थापन र बैज्ञानिकिकरणमा केही कमजोरी भएको स्विकार्दै आगामी वर्ष यो अनुभववाट उत्कृष्ट अभ्यास गर्नुपर्ने उनले बताए । ‘निष्पक्ष र निर्विवाद ढंगले सही सदस्य छनौट गर्न परिक्षाको विकल्प छैन ।’ –उनले भने ।

प्रतिक्रिया

सम्बन्धित